कुन अवस्थामा बढ्छ ग्यास्ट्रिक? दसैंमा ग्यास्ट्राइटिसका बिरामीले के खाने के नखाने?

बिजमाण्डू
२०८० कात्तिक ६ गते ११:२२ | Oct 23, 2023
कुन अवस्थामा बढ्छ ग्यास्ट्रिक? दसैंमा ग्यास्ट्राइटिसका बिरामीले के खाने के नखाने?
Photo : houstonmethodist


काठमाडौं। अहिले देशभर दसैंको माहोल छ। घरपरिवार र साथीभाइसँग रमाइलो गरेर यो चाड मनाउने गरिन्छ। त्यसक्रममा चिल्लो, मरमसला, माछामासु र मदिराको सेवन पनि अत्यधिक मात्रामा हुन्छ।

Tata
GBIME

दसैंमा खानपानको तालमेल नमिल्दा रोगी व्यक्तिलाई त गाह्रो बनाउँछ नै। निरोगी व्यक्तिहरुले समेत विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ। जसमध्ये एक हो: ग्यास्ट्रिक। मानव शरीरमा धेरै हुने समस्यामध्ये ग्यास्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्र्याई गरेमा यो रोग लाग्दछ।

दसैंको सेरोफेरोमा नर्भिक अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरले ग्यास्ट्रिकका बिरामीलाई दिएको टिप्स :

किन र कसरी हुन्छ ग्यास्ट्रिक? 

आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ। ग्यास्ट्रिक हुँदा पेट पोल्ने वा दुख्ने गर्छ। ग्यास्ट्रिक हुनुका विभिन्न कारणहरु हुन्छन्। ग्यास्ट्रिक हुने अर्को कारण हो : एचपाइलोरी ब्याक्टेरिया। त्यसको संक्रमणले गर्दा आमाशय सुन्निने र घाउ समेत बनाउँछ।

नेपालसहित भारत, पाकिस्तान र भुटान लगायतका विकासोन्मुख देशहरुमा एचपाइलोरी ब्याक्टेरिया ग्यास्ट्रिक बनाउने प्रमुख कारण पनि हो। एचपाइलोरी आफैंमा क्यान्सर गराउन सक्ने किटाणु पनि हो। जसलाई डब्लूएचओले समेत परिभाषित गरिसकेको छ। 

कहिलेकाहिँ ग्यास्ट्रिकको समस्या देखिएको छ भने अस्पतालमा जाँच गर्नुपर्छ। फुकेर हेर्ने जाँचमा ग्यास्ट्रिक हुने एचपाइलोरी किटाणु छ/छैन एकिन गर्न सकिन्छ। एचपाइलोरी ब्याक्टोरिया देखिएमा दुई हप्ता एन्टिबायोटिक औषधी खाएपछि निको हुन्छ। जसले ९० प्रतिशत ग्यास्ट्रिकको समस्या निर्मूल पार्नुका साथै खाना पनि पचाउँछ। 

ग्यास्ट्रिकको मुख्य कारण एचपाइलोरी हुँदा ४५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई जोखिम बढी हुन्छ। ४५ वर्षमाथिका व्यक्तिहरुमा रगतको कमी भएमा, तौल कम हुँदै गएमा, खान मन नलागेमा र कालो दिसा आएमा इन्डोस्कोपी गराउनुपर्छ। 

चिल्लो, अमिलो, मसालेदार खानाहरु खाँदा ग्यास्ट्रिक बढ्छ। त्यस्तै, खाली पेट बस्दा र समयमा खाना नखाने व्यक्तिहरुमा पनि ग्यास्ट्रिकको समस्या देखापर्छ। साथै, अत्यधिक मात्रामा धुम्रपान र मदिरा सेवन गर्ने मानिसलाई पनि ग्यास्ट्रिकले सताउँछ। जथाभावी औषधी सेवन पनि ग्यास्ट्रिक हुनुको कारण हो। 

‘रिफ्लक्स डिजिज’ ले पनि पेटको एसिड माथि फर्किएर आउँछ। जसले अमिलो डकार आउने, वाकवाकी लाग्ने, छाती पोल्ने र खाना खाएपछि असहज हुन्छ।

दसैंमा ग्यास्ट्रिक हुनेले कसरी ध्यान दिने?

दीर्घकालीनरुपमा ग्यास्ट्रिकको समस्याबाट ग्रस्त भएका व्यक्तिहरुले दसैंको बेला खानपिनमा निकै ध्यान दिनुपर्छ। हाम्रोमा धेरैले जमरा नकाटुन्जेल खाना खाँदैनन्। पछि खाली पेटमा एकैपटक चिल्लो सेलरोटीदेखि मासु खाँदा ग्यास्ट्रिक बढाउँछ। त्यसैले, ग्यास्टिकको समस्या हुनेले खाली पेट बस्नै हुँदैन। बिहान पानी, कालो चिया र फलफूल खानुपर्छ। 

दसैंमा खसीबोका काट्ने गरिन्छ। सामान्यबेला भन्दा दसैंमा पोलेको र डिप फ्राई गरिएको मासु बढी खाइन्छ। तर, ग्यास्ट्रिक हुनेले बफ र मटन (रेड मिट)का यस्ता परिकार खानुभएन। बरु सामान्य तरिकाले पकाएको चिकेनको मासु चाँहि खाँदा हुन्छ। 

दसैंको बेला टिका लगाउन धेरै ठाउँ जानुपर्छ। यस्तोमा आफन्तहरुको घरमा केही खानुपर्छ भनेर कर गरिन्छ। तर, ग्यास्ट्रिकको समस्या हुनेले जथाभावी खानेकुरा खानुहुन्न। खाना र समयको मात्रा मिलाएर खाँदा पनि ग्यास्ट्रिकबाट बच्न सकिन्छ। चाडपर्वमा रातिसम्म खाने भएता पनि ग्यास्ट्रिक हुनेले साँझको खाना ७ बजेसम्म खाइसक्नुपर्छ।  

चिउरा, दूध, घिउ, अमिलो र पिरो अचार खाँदा पनि ग्यास्ट्रिक/रिफ्लक्स डिजिज बढ्न थाल्छ। त्यसैले सकेसम्म यी खानेकुरा नखाँदा नै राम्रो हुन्छ। हरियो सागपात, तरकारी, फलफूल, दही र बोसोरहित मासु जस्ता खानेकुरा खानुपर्छ।

ग्यास्ट्रिकको समस्या नभएकाले पनि चाडपर्वमा खानेकुरामा ख्याल गर्नुपर्छ। दसैंमा खानपिन नमिल्दा स्वस्थ मानिसलाई पनि ग्यास्ट्रिकसहित अपच, झाडापखाला र फुड पोइजनिङ हुन सक्छ। धेरैदिनसम्म फ्रिजमा राखेको मासु खानुहुन्न। साथै बासी सेलरोटी र मिठाईले पनि पेटमा समस्या गर्छ। 

ग्यास्ट्रिकको समस्या हुनेले धुम्रपान र मद्यपान नगरेकै राम्रो। चुरोट र रक्सी खाँदा समस्या बढेर जान्छ। जसले ग्यास्ट्रिक बिग्रिएर अल्सर हुने, भित्री रक्तस्राव भएर ज्यानैसमेत जानसक्छ। 

दसैंमा परिवारसँग बसेर रक्सी खानैपरे पनि दुई गिलासभन्दा बढी बियर नखाने। ह्‍‍वीस्की ६० एमएलको दुई प्याकभन्दा बढी नखाने। वाइन भने ९० एमएलसम्म मात्र खाने। 

दसैंको बेला ग्यास्ट्रिकलको समस्या हुँदा एन्टासिड औषधी लिनुपर्छ। यो औषधी तीन चम्चा पानीमा राखेर खाँदा सुधार हुन्छ। जीवनजल खाँदा पनि ग्यास्ट्रिकसहित झाडापखाला लगायतका समस्याहरु कम हुन्छन्। यति गर्दा पनि ठिक भएन भने अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्छ। 

किन हुन्छ ग्याष्ट्रिक?

  • धेरै चिया तथा कफीको सेवन
  • शीतल पेय पदार्थको बढी सेवन
  • बढी तेल तथा मसालेदार खाना
  • बिस्कुट, पाउरोटी, बर्गर आदिको नियमित सेवन
  • चना, राजमा तथा मासको दालको प्रयोग
  • नशाजन्य वस्तुहरुको प्रयोग
  • ढिलो सुत्ने तथा ढिलो उठ्ने बानी
  • एकैपटक बढी खाना खानु
  • खाना खाँदा पानी पिउनु

ग्याष्ट्रिकका बिरामीले के नखाने?

  • कोल्ड ड्रिंक्स् (कार्बोनेटेड), चिया, कफी
  • बढी चिल्लो बोसो भएको खाना
  • मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, मम, चाउमिन, सेतो ब्रेड, कुकिज केक आदि
  • धुम्रपान, मध्यपान, पोलेका मासुहरु।