
काठमाडौं । दसैंको उमंगले सबैलाई छोइसकेको छ। सर्वसाधारणदेखि सेलिब्रेटीले दसैंका योजना बुनिसकेका छन्। दसैंको छेकोमा नेपालसहित विदेशमा साँगीतिक कार्यक्रम हुने गर्छन्। जसकारण यो बेला कलाकारहरुलाई भ्याईनभ्याई हुन्छ।
यसवर्ष केही कलाकार विदेशका कार्यक्रमले व्यस्त हुँदा दसैं मनाउन पाइरहेका छैनन्। केही कलाकारले भने फुर्सद निकालेर परिवारसँग दसैं मनाउने जमर्को गरिरहेका छन्।
कलाकारहरुले आफ्नो दसैंको योजना बिजमाण्डूसँग यसरी साटेका छन्।
गायिका मेलिना राई
प्राय हरेक वर्ष दसैंमा कार्यक्रममा व्यस्त भइन्छ। यो वर्ष पनि न्यूजिल्यान्डमा दसैं विशेष कार्यक्रममा जाने तय भएको छ। कात्तिक ३ गतेदेखि ६ गतेसम्म त्यतैको कार्यक्रममा व्यस्त हुनेछु। फेरि दसैंको भोलिपल्ट दार्जिलिङ र आसामको कार्यक्रममा पनि प्रस्तुति छ।
गत वर्ष पनि कार्यक्रमले नै गर्दा नेपालमा दसैं तिहार मनाउन पाएइएन। यो वर्ष पनि यस्तै भयो। दसैं नभए पनि तिहार घरमै मनाउने योजना छ।
गायक शिव परिवार
म धेरैजसो स्टेज कार्यक्रममै व्यस्त भइरहेको हुन्छु। यसपटक दसैंमा स्वदेशमा हुने कार्यक्रममा नै व्यस्त हुनेछु। नवमीसम्म सर्लाहीदेखि बन्दीपुरसम्मका प्रोगाम फिक्स्ड भइसकेका छन्।
दक्षिण अफ्रिकाबाट दसैं विशेष कार्यक्रमबाट निम्तो आएको थियो। तर, मैले घरमै दसैं मनाउने भनेर त्यो प्रोगाम क्यान्सिल गरेँ। म नहुँदा परिवारको दसैं नै खल्लो हुन्छ भनेर म विदेशको कार्यक्रममा गइनँ। सबै परिवार यतै काठमाडौंमै हुनुहुन्छ। यसपटकको दसैं पनि यतै मनाउने योजना छ।
अभिनेता विपीन कार्की
म सामान्य तरिकाले नै दसैं मनाउने गर्छु। दसैंमा ठूलाबडाको हातबाट टिका लगाउने र पारिवारिक जमघट गरिन्छ। यसपटक पनि विराटनगरमै दसैं मनाउने योजना छ। बुवाआमा विराटनगरमा भएकाले दसैं त्यतै रमाइलो लाग्छ। उमेर बढेसँगै पहिलेजस्तो नयाँ लुगा लगाउने भन्ने हुँदैन। दसैं मनाउनु भनेको आफ्नो पुरानो संस्कृतिलाई जोगाउनु हो।
पहिले चाहिँ म समयमै घर जान्थे। तर, यो पटक फूलपातीको दिनबाट मेरो फिल्म ‘भष्मे डन’ पनि रिलिज हुँदैछ। त्यसको प्रचारप्रचारमा हिँड्नु मेरो जिम्मेवारी पनि हो। त्यसैले रिलिजको भोलिपल्टसम्म चाँहि म यतै हुन्छु।
दर्शक प्रतिक्रियासम्म बस्नुमा समय दिनुपर्यो। फिल्म र दसैं जुधेकाले अष्टमी/नवमीको दिन मात्रै घर जाने तयारी छ। दसैं लगत्तै महाजात्राको सुटिङ पनि सुरु हुन्छ। त्यसकारण यो दसैंमा मेरो ‘रस’ हुने वाला छ।
गायक महेश काफ्ले
कलाकारहरुलाई चाडपर्वमा परिवारसँग बस्ने मन हुँदाहुँदै पनि कार्यक्रमले गर्दा गाह्रो भइरहेको हुन्छ। म पनि अष्टमीसम्म स्वदेशमा हुने विभिन्न दसैंको कार्यक्रममै व्यस्त छु। मोरङ, पोखरा र चितवनमा प्रोगाम फिक्स्ड भइरहेको छ।
दसैंमा मेरो दुबईको कार्यक्रम तय भएको थियो। तर, प्राविधिक कारणले क्यान्सिल भयो। जसकारण यो वर्ष जन्मथलो सिन्धुलीमा परिवारसँग दसैं मनाउने योजना बनाएको छु।
परिवारका सदस्य चाँडै सिन्धुली जानुहुन्छ। म भने कार्यक्रम सकिएपछि मात्रै नवमीको दिन घर पुग्छु। दसैंमा सबै परिवार जमघट हुँदा निकै रमाइलो लाग्छ।
कलाकार दीपाश्री निरौला
अरु वर्ष दसैंको बेलामा जहिले पनि फिल्म रिलिज गरिन्थ्यो। तर, यसपाली फिल्मको साटो हल खोलिएको छ। आफ्नो हलमा दसैंको बेलामा राम्रा फिल्म रिलिज हुँदा खुसी लागिरहेको छ।
झण्डै २० वर्षअघि एकपटक दसैंमा घर गएको थिइन। त्यतिखेर भर्खर स्ट्रगल गरिरहेकी थिएँ, पैसा नहुँदा घर जानै मन लागेन। तर, दसैंको दिन घरको मायाले निकै रोएकी थिए। त्यो बेलादेखि हरेक वर्ष विराटनगरमै दसैं मनाउने गरेकी छु। मेरो परिवार सबै उतै बस्नुहुन्छ। अष्टमीको दिन विराटनगर जान्छु। विराटनगरमा दसैं निकै रमाइलो लाग्छ। बाल्यकालदेखिका साथीहरुसँग लास्टै रमाइलो गर्छौं। योपटक साथीहरुसँग नेपाली फिल्म हेर्ने सोच छ।
पहिल्यैदेखि दसैं भनेपछि नयाँ लुगा लगाउनुपर्छ भन्ने लाग्छ। त्यसैले अहिले पनि आफूसहित परिवारलाई नयाँ लुगाहरु किन्न मन पर्छ। कपडासहित दक्षिणामा मेरो १ लाख जति खर्च आउँछ।
गायिका राधिका हमाल
यो वर्षको दसैं जन्मघर रोल्पामा मनाउने योजना छ। दसैंमा कहिले विदेश त कहिले काठमाडौंबाहिर कार्यक्रमको व्यस्त हुँदा रोल्पामा दसैं नमनाएको २१ वर्ष भइसकेको थियो। योपटक भने विदेशका कार्यक्रम नै स्थगित गरेर दसैं मान्न घर जाँदैछु।
स्वदेशका चाहिँ भ्याउनेजति कार्यक्रम प्रस्तुति दिने तय भइसकेको छ। दिदीबहिनी चाहिँ चाँडै गए पनि म ४ गतेमात्रै रोल्पा जान्छु। यो दसैंमा घरमै खसी काटेर खाने दिदीबहिनी रमाइलो गर्ने हो।
अभिनेत्री प्रियंका कार्की
सानो छँदा दसैं भन्दा नयाँ लुगा किन्ने भन्ने हुन्थ्यो। तर, अहिले पहिलेजस्तो दसैंको बेला नयाँ लुगा नै लगाउनुपर्छ भन्ने हुँदैन। त्यसैले दसैंकै लागि भनेर त्यस्तो खासै सपिङ गरेकी छैन।
फूलपातीसम्म केही आफ्नै काममा व्यस्त छु। जुन अहिले रिभिल गर्न मिल्दैन। योवर्ष परिवारसँगै ललितपुरमै दसैं मनाउने योजना छ।
अभिनेता दीपकराज गिरी
दसैंको त्यस्तो खासै प्लान छैन। म प्रायजस्तो दसैंको बेला सुटिङ र कार्यक्रममा जान्न। किनभने वर्षभरि कहाँ कहाँ पुगिन्छ, चाडपर्वको बेला घरमा बसेर परिवारसँग रमाइलो गरौं भन्ने हुन्छ।
माछामासु खान छोडेको १४/१५ वर्ष भइसक्यो। त्यसैले सानो छँदाको जस्तो मासु खाने भन्ने हुँदैन। शाकाहारी भोजन नै खान्छु। परिवारका अरु सदस्यले भने मासु खानुहुन्छ। त्यसकारण मेरो दसैं सामान्य तरिकाले बित्छ। बच्चा छँदा लुगा किन्ने भन्ने हुन्थ्यो। तर, आजभोलि दसैंमा सपिङ गर्न मन हुँदैन।
छोराछोरीहरु बाहिर नै भएकाले त्यस्तो घुमघामको योजना छैन। हुनत यो अहिले सबै नेपालीहरुको पीडा पनि हो। परिवार र आफन्तहरु हाम्रो घरमा टिका लगाउन आउनुहुन्छ। उहाँहरुलाई स्वागत गर्न दिनभरि घरमै बस्छु।
अभिनेत्री ऋचा शर्मा
अरुवर्षजस्तै काठमाडौंमै परिवारसँगै दसैं मनाउने हो। दसैंमा सबैसँग भेटघाट हुँदा छुट्टै रमाइलो हुन्छ। अहिलेलाई दसैंको लागि भनेर पूजाको सामान किनिसकेकी छु। बाबुको लागि पनि सपिङ भइसकेको छ।
दसैंमा धेरै खर्च गर्दिन। त्यही आफूभन्दा सानोलाई अलि अलि दक्षिणा दिने हो। सपिङ र दक्षिणा गरेर मेरो दसैंमा ५०/५५ हजार जति खर्च हुन्छ।
अभिनेत्री स्वस्तिमा खड्का
फूलपातीबाट मेरो अभिनय रहेको फिल्म ‘भष्मे डन’ रिलिज हुँदैछ। अहिले यसकै प्रचारप्रचारमा व्यस्त छु। यसपटक आफन्त बितेकाले मेरो दसैं मनाउन मिल्दैन। त्यसैले पनि मैले खासै योजना बनाएको छैन। दसैंको बेला पनि दर्शक प्रतिक्रियाको लागि हल जानुपर्छ।