गाजा क्षेत्रमा जारी द्वन्द्वमा ७ नेपाली विद्यार्थी घाइते, १७ नेपालीलाई हमासले बन्धक बनायो

हेम रोकाहा
२०८० असोज २० गते १९:४२ | Oct 7, 2023
गाजा क्षेत्रमा जारी द्वन्द्वमा ७ नेपाली विद्यार्थी घाइते, १७ नेपालीलाई हमासले बन्धक बनायो
Image: Al Jazeera

इजरायल र प्यालेस्टाइनको सिमाना रहेको गाजापट्टी लगायत विभिन्‍न क्षेत्रमा जारी युद्धमा ७ जना नेपाली घाइते भएका छन्। इजरायलको विश्वविद्यालयमा अध्ययनरत कम्तीमा ७ जना नेपाली विद्यार्थी घाइते भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन्

Tata
GBIME
Nepal Life

इजरायल सरकारको ‘सिक र कमाउ’ कार्यक्रमअन्तर्गत हर्जलियामा पुगेका सात नेपाली विद्यार्थी घाइते भएका हुन्। प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएकोमा नेपालीसमेत रहेको बताइएको छ।

‘उनीहरूलाई हमास सेनाले दक्षिणी इजरायलको अलुमिममा रहेको कृषि फार्ममा थप १० जना नेपाली विद्यार्थीहरूसँग बन्दी बनाएको छ,’ रिजालले एएनआईलाई बताइन्।

इजरायलको विदेश मन्त्रालय र उद्धार टोलीलाई उक्त अवस्थाबारे जानकारी गराइएको उनले बताएकी छिन्। उनले भनिन्, ‘उनीहरु होस्टेलमा बसेर आफ्नो सुरक्षा गरिरहेका छन्। तीव्र लडाइँका कारण उक्त क्षेत्र पहुँचयोग्य छैन।’

हमासले शनिबार इजरायलमा ‘सरप्राइज आक्रमण’ गरेपछि द्वन्द्व चर्किएको हो।

इजरायलको आशकेलोनमा गाजा स्ट्रिपबाट हमासले गरेको आक्रमण। Image: Ilan Rosenberg/Reuters

इजरायल नेपाली कामदारहरुको लागि पनि प्रख्यात गन्तव्य हो। इजरायलमा धेरै नेपाली कामदारहरु रोजगारीको लागि पुगेका छन्।

गाजापट्टी लगायत विभिन्‍न क्षेत्रमा द्वन्द्व चलिरहँदा तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ। अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्‍न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरश: पालना गर्न दूतावासले नेपालीहरुलाई अनुरोध गरेको हो।

दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको पनि जनाएको छ।

‘अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित र प्यानिक नगराउनुहोला,’ दूतावासले सामाजिक सञ्‍जालमा लेखेको छ।

अप्ठ्यारो परेको अवस्थामा प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र संजय कुमार साहलाई ०५४-५५८२०७७ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरुको सुरक्षाका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेका छन्। उनले मध्य पूर्वमा शान्तिको कामना गर्न समेत आह्वान गरेका छन्।

‘इजरायलमाथि आक्रमणका समाचारहरु आएका छन्। त्यहाँ सयौं नेपालीहरु बसोबास गर्छन्। नेपाल सरकारले नेपालीहरुको सुरक्षाका लागि तत्काल पहल गरोस्। मध्यपूर्वमा शान्तिको कामना गरौं,’ ओलीले सामाजिक सञ्‍जालमा लेखेका छन्।

प्यालेस्टाइनको हमास समूहले गाजापट्टीबाट शनिबार इजरायलमा करिब २ हजार रकेट आक्रमण गरेको थियो। सो आक्रमणमा परी हालसम्म ४० जनाको मृत्यु भएको इजरायली सरकारलाई उदृत गर्दै अल जजिराले उल्लेख गरेको छ।

यसअघि आपतकालीन सेवाहरूले गरेको रिपोर्ट अनुसार मृत्यु हुनेहरुको अघिल्लो संख्या २२ रहेको थियो। त्यस्तै हालसम्म ७५० जना इजरायलीहरुको मृत्यु भएको र सो संख्या अझै बढ्ने बताइएको छ।

रकेट आक्रमणपछि हमासका बन्दुकधारीहरु इजरायली सहरहरुमा पसेर समेत आक्रमण गरेका थिए। इजरायलले शनिबार प्यालेस्टाइनको हमासविरुद्ध युद्धको घोषणा गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूले आक्रमणको बदला लिने वाचा समेत गरेका छन्। हाल इजरायलले पनि गाजा क्षेत्रमा रकेट आक्रमणलाई तीव्र पारेको छ।

इजरायली सेनाले आफ्नो नियन्त्रण गुमाएको घोषणा गरेलगत्तै प्यालेस्टाइनीहरू उत्तरी गाजा पट्टीको इरेज तथा बेइट हानौनमा प्रवेश गरेका थिए।

गाजामा इजरायलले गरेको आक्रमण। Image: Mohammed Salem/Reuters

‘हामी युद्धमा छौं र हामीले जित्‍नेछौँ,’ इजरायली प्रधानमन्त्री नेतान्याहूले देशलाई गरेको भिडियो सम्बोधनमा भनेका छन्।

गाजाका मेडिकल स्रोतहरूका अनुसार इजरायलको आक्रमणबाट कम्तीमा १ सय ६० प्यालेस्टाइनी मारिएको अल जजिराले उल्लेख गरेको छ। घाइतेको संख्या १ हजार नाघेको छ।

तेल अविवमा सडक र समुद्र तटहरू पूर्ण रूपमा खाली गरिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रण गुमाएको घोषणा गरेलगत्तै प्यालेस्टाइनीहरू उत्तरी गाजा पट्टीको इरेज तथा बेइट हानौनमा प्रवेश गरेका थिए।

हमासले अल-अक्सा मस्जिदको अपवित्रता र बसोबास गर्नेहरूको बढ्दो आक्रमणको प्रतिक्रिया स्वरुप ठूलो मात्रामा सैन्य कारबाही गरेको जनाएको छ। हालैका दिनहरूमा हजारौं मानिसहरू सुक्कोटको समयमा पूर्वी जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा जबरजस्ती पसेपछि यो घटनाक्रमको विकास भएको हो।

प्यालेस्टाइनीहरूविरुद्ध इजरायलीहरुले उल्लेखनीय रुपमा हिंसा बढाएपछि पनि यो अवस्था सिर्जना भएको बताइएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको पहिलो आठ महिनामा प्रतिदिन हिंसा बढिरहेको बताएको थियो।

Image: Abedelhakim Abu Riash/Al Jazeera

यस क्रममा मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र संयोजक टम वेन्सल्याण्डले द्वन्द्वको स्केल अघिल्लो पटकको भन्दा धेरै ठूलो रहेको बताउँदै आगामी दिनहरु कठिन हुने संकेत गरेका छन्। संयुक्त राष्ट्रसंघले द्वन्द्व रोक्न सम्बन्धित सबै पक्षसँग कुरा गर्न थालिसकेको समेत उनले बताए।

त्यस्तै, बेलायत, जर्मनी र इटालीले इजरायलमा भएको आक्रमणको भर्त्सना गरेका छन्।

यस्तै, कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनीसँगको जारी हिंसामा इजरायल एक्लै जिम्मेवार रहेको बताएको छ। उसले दुवै पक्षलाई अत्यन्त संयमता अपनाउन आह्वान गर्दै यी घटनाहरूलाई देखाउँदै गाजामा प्यालेस्टाइनी नागरिकहरूविरुद्ध असमान युद्ध सुरु गर्नबाट जरायललाई रोक्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल समेत गरेको छ।

यता, इजरायलसँग सम्बन्ध सामान्य बनाउन वार्ता गरिरहेको साउदी अरेबियाको विदेश मन्त्रालयले ‘इजरायली र प्यालेस्टाइनीहरूबीचको हिंसा तत्काल बन्द गर्न’ आह्वान गरेको छ।

Image: Ibraheem Abu Mustafa/Reuters

इजिप्टले तनाव बढेपछि ‘गम्भीर नतिजा’को चेतावनी दिएको विदेश मन्त्रालयको विज्ञप्तिलाई उदृत गर्दै सरकारी समाचार एजेन्सीले उल्लेख गरेको छ। उसले ‘अधिकतम संयम अपनाउन र आम नागरिकहरूलाई थप खतरामा पर्नबाट जोगाउन’ आह्वान गरेको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि सबै पक्षहरूलाई ‘संयमताका साथ काम गर्न र तनाव बढाउने आवेगपूर्ण कदमहरूबाट टाढा रहन’ आग्रह गरेका छन्। अंकारामा आफ्नो सत्तारुढ दलको कंग्रेसलाई सम्बोधन गर्दै एर्दोगानले कब्जा गरिएको पूर्वी जेरुसेलमको अल-अक्सा मस्जिदको ‘ऐतिहासिक र धार्मिक स्थिति’लाई हानि पुर्‍याउने ‘कुनै पनि प्रकारको प्रयास’बाट टाढा रहनआग्रह गरेका छन्।

आजका घटनाक्रमले त्यहाँको क्षेत्रीय राजनीतिमा उलटपुलट ल्याउने विशेषज्ञहरुले बताएका छन्। कतार युनिभर्सिटीका प्रोफेसर महजुब ज्वेरीले पछिल्ला केही घण्टाका घटनाहरूले उक्त ‘क्षेत्रको राजनीतिको लागि खेल परिवर्तन’ गर्ने बताए।