एकै फिल्ममा नाफा ७ सय प्रतिशतसम्म ! शिथिल बलिउड अबको कमाइले तंग्रिँदै

बिजमाण्डू
२०८० असोज २० गते १४:४८ | Oct 7, 2023
एकै फिल्ममा नाफा ७ सय प्रतिशतसम्म ! शिथिल बलिउड अबको कमाइले तंग्रिँदै


कोभिड-१९ पछिको आर्थिक मन्दीको शिथिलतालाई चिर्दै २०२३ मा बलिउड फिल्म उद्योगले कलेक्सनका आधारमा एक से एक रेकर्ड बनाएको छ।

Tata
GBIME
NLIC

ठूला लगानीदेखि मध्यमस्तरसम्मका फिल्मले बक्स अफिसबाट अप्रत्यासित आम्दानी गर्न सकेका छन्। ठूलो लगानीको शाहरुख खानको फिल्म ‘जवान’देखि सानो लगानीको ‘दी केरला स्टोरी’सम्मले अत्याधिक कमाइ गरे, यस वर्ष।

२०२३ को अक्टोबरसम्म आम्दानीका आधारमा शाहरुख खानले सबैभन्दा बढी लिड गरेका छन्। उनको फिल्म ‘पठान’ शीर्ष स्थानमा छ। बक्स अफिसमा आम्दानीका हिसाबले उनले तुफान नै ल्याएको कोइमोइले जनाएको छ।

बालिउडमा बाउन्स ब्याक भएका खानका फिल्महरुले कमाइका रेकर्डहरु एकएक गरी ढालेका छन्। २ सय ५० करोडको लागतमा बनेको फिल्म हो पठान जसले भारतीय बक्स अफिसमा ५ सय ४३ करोडको कलेक्सन गर्‍यो।

फिल्मको रेट अफ रिटर्न (आरओआई) ११७.२८ रह्यो भारतमा मात्र। फिल्मबाट लगानीकर्ताले २ सय ९३ करोड कमाए।

Image: Imdb

आरओआरलाई नै आधार मान्‍ने हो भने ‘दी केरला स्टोरी’ अझ गजब देखिएको छ। ३० करोडमा बनेको यस फिल्मले २ सय ३८ करोड कलेक्सन गर्‍यो। खुद नाफा २ सय ८ करोड गरेको फिल्मको आरोआर रह्यो ६ सय ९४ प्रतिशत।

त्यसैगरी, ७५ करोडमा बनेको ‘गदर टू’ले ५ सय २४ करोडको कलेक्सन गर्‍यो। ४ सय ४९.७ करोड कमाएको फिल्मको आरओआर रह्यो झन्डै ६ सय प्रतिशत।

त्यसैगरी ६५ करोडमा बनेको फिल्म ‘ओएमजी टू’ले १ सय ५० करोड कलेक्सन गर्‍यो। यसको आरओआर रह्यो १ सय ३०.७ प्रतिशत।

शाहरुख खानकै फिल्म जवान अहिले पनि चलिरहेकै छ। ३ सय करोडमा बनेको फिल्मले अहिलेसम्म ६ सय २० करोड कमाइ गरिसक्यो।

आरओआर यसको १०६ प्रतिशतभन्दा माथि गइसकेको छ। थप आम्दनीले यसलाई अझै माथि लैजाने देखिन्छ।

यी तथ्यांकहरुले कोभिड-१९ पछि बलिउडको अर्थतन्त्र तङ्ग्रिन थालेको हो भन्‍ने चाहिँ स्थापित गरिसकेको छ।