
हेटौंडा। वाग्मती प्रदेश सरकारले चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
यस्तै, बैठकले हस्तकला ग्राम स्थापना तथा संचालन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्न सहमति प्रदान गरेको छ। यसअघि अध्यादेशबाट जारी भएको उक्त विधेयक पुनः संसदमा पठाउने सरकारको तयारी गरिएको उनले बताए।
यसैगरी, बैठकले प्रदेश सरकार स्थापना पश्चात निर्माण भएका विभिन्न २१ वटा निकायहरुको अस्थायी दरबन्दीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। उक्त बैठकले प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य संचालनार्थ आदेश २०७७ संशोधन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए