
काठमाडौं। नेपालले बुधबार मंगोलियालाई हराउँदा विश्व कीर्तिमानको लामै सूची बन्यो। चीनको हाङजाउमा जारी एसिया कपमा नेपालले टी २० अन्तर्राष्ट्रियमा बनाएको कीर्तिमानले विश्वको ध्यान तानेको छ।
खासगरी टी २० मा सबैभन्दा चाँडो बनेको शतक, चाँडो बनेको अर्धशतक, सर्वाधिक रनको आँकडा र फराकिलो जित नेपालका लागि गौरवको विषय थियो।
नेपालको प्रदर्शनपछि भारतीय/पाकिस्तानी सञ्चार माध्यमहले तारिफमात्र गरेका छैनन् आलोचनासम्म गर्न भ्याएका छन्। भारतीय सञ्चारमाध्यम आजतकले त ‘क्रिकेटको चीरहरण’ भन्ने अर्थमा व्यङ्थ्य पनि लेखेको छ। उसो त धेरै भारतीय/पाकिस्तानी क्रिकेट समर्थकले आइसीसीको एसियन गेम्सको खेललाई टी २० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णयमाथि पनि प्रश्न उठाएका छन्।
सन् २०१८ मा आइसीसीले टी २० फर्म्याटलाई ग्लोबलाइज्ड गर्ने भन्दै एसोसिएट राष्ट्रबीचको टी २० खेललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णयसमेत गरेको थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि बुझ्नपर्ने मुख्य बुँदा हो – रेकर्ड्स आर रेकर्ड्स।
क्रिकेटको अफ्ठ्यारो बाटो
नेपालले सन् २०१४ मा विश्वकप खेले पनि शीर्ष वरीयताका वा टेस्ट मान्यताप्राप्त टोलीसँग विरलै खेल्ने अवसर पायो। नेपालले हालसम्म टी २० आईमा खेल्ने अवसर पाएका टोली भनेको बंगलादेश, अफगानिस्तान र आयरल्याण्ड हुन्। टेस्ट मान्यता पाएका राष्ट्र एकापसमा सिरिज खेलिरहँदा त्यसपछिका नेपालजस्ता राष्ट्रले आफूभन्दा माथिल्लो वरीयताको टोलीसँग ‘एक्सपोजर’को अवसर बिरलै पाउँछन्। विश्वकप जस्ता प्रतियोगितामा सीमित टोलीलाई मात्र आइसीसीले खेलाउँदा त्यसपछिका टोली धेरै प्रभावित बन्ने गरेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रियकै प्रसंगमा पनि सन् २०१८ मा ओडीआई मान्यता पाएको नेपालले यही वर्षमात्र टेस्ट मान्यता प्राप्त टोलीसँग खेल्ने अवसर पायो। जिम्बावे, वेस्टइण्डिज, आयरल्याण्ड, भारत, पाकिस्तानजस्ता टोलीसँग खेलेको नेपालले राम्रो एक्सपोजर पनि पायो। यो अवसर विश्वकप छनोट र एसिया कपले जुराएको थियो।
अर्कोतर्फ विश्वकप पुग्न पनि टेस्ट राष्ट्रलाई जस्तो सहज छैन नेपाललाई। विश्वकपमा सोझै स्थान बनाउने सुविधा शीर्ष टेस्ट राष्ट्रहरुलाई हुँदा पछिल्लो समय प्रदर्शन सुधारे पनि नेपालले छनोट खेल्नुपर्ने नै बाध्यता हुनेछ। यसका लागि नेपालले आफूभन्दा तल्लो वरीयताकै मलेसिया, सिंगापुरलगायतका टोलीसँग फेरि यही महिना काठमाडौंमा खेल्नुपर्ने छ।
भारतमा यही १८ गतेबाट एकदिवसीय विश्वकप हुँदैछ। उक्त विश्वकपमा सहभागी टोलीको संख्या हो १०। यो विश्वकपको ग्लोबल छनोटसम्म पुगेको नेपालले आफ्नो यात्रा जिम्बावेमै टुङ्ग्याएको थियो। उक्त छनोटमा नेपाललगायत वेस्टइण्डिज, जिम्बावे, आयरल्याण्डजस्ता क्रिकेटका बलिया राष्ट्रसमेत बाहिरिए।
अन्य खेलमा विश्वकप या अन्य प्रतियोगितामा टिमको संख्या बढाएर लोकप्रियता बढाइरहँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) क्रिकेटमा भने कमजोर देखिन्छ। यस्तोमा क्रिकेटलाई ग्लोबलाइज्ड गर्न आईसीसीले एसोसिएटको पनि दुई राष्ट्रको सिनियर टोलीबीच हुने टी २० लाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो। टी २० विश्वकपमा टोलीको संख्या बढाए पनि बाँकी सबै कुरामा टेस्ट राष्ट्रकै दबदबा छ।
एसियन गेम्समा नेपालले छेडेको बहस
एसियन गेम्समै पनि विश्वकप खेलेको र भर्खरै एसिया कप खेलेर फर्किएको नेपाललाई टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेको मंगोलियासँग खेल पर्यो। र, बिहीबार माल्दिभ्सको एकैदिन दुई देशमा दुई खेल पर्नेगरी तालिका जुधाउनु गम्भीर त्रुटि नै थियो।

एसिया कपमा अन्य टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशलाई अर्को चरणमा राखेर प्रारम्भिक चरणमा नेपाललाई मंगोलिया र माल्दिभ्ससँग राखिएको छ। नेपालले आफूभन्दा माथिल्लो वरीयताका टिमसँग हतपत खेल्न नपाउने तर तल्लो वरीयताको टोलीसँग खेल्ने अवस्था छ। अघिल्लो वर्ष नेपालले टी २० अन्तर्राष्ट्रियमा तल्लो वरीयताको केन्यासँग खेलेको थियो।
एकदिवसीय अन्तर्राष्ट्रियमा छनोट चरण पार गरेर एसिया कप खेलेको नेपालको प्रतिस्पर्धी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै गरेको मंगोलियासँग या माल्दिभ्ससँग राख्दा एकतर्फी नतिजा आउनु अस्वाभाविक छैन।
एसियन गेम्समा नेपालको क्रिकेटको के?
एसियन गेम्समा नेपालले अर्को खेलमा माल्दिभ्ससँग खेल्दैछ। तर, टी २० वरीयताको ८० औँ स्थानमा रहेको माल्दिभ्स पनि नेपालसँग फुल स्ट्रेन्थले भने खेल्ने छैन। बिहीबार मंगोलियासँग चीनमा खेलेको माल्दिभ्सले बिहीबार नै साउदी अरबसँग कतारमा खेल्यो। कतारमा आईसीसी टी २० विश्वकप सबरिजनल एसिया क्वालिफायर्स चलिरहेको छ। अर्थात् माल्दिभ्सको टोली पनि दुई टोलीमा बाँडिएर एउटा एसियन गेम्स खेल्न चीनमा छ भने अर्को विश्वकप सबरिजनल क्वालिफायर्स खेल्न कतारमा छ।
नेपालले सिनियर टोली पठाइरहँदा माल्दिभ्समात्र होइन टेस्ट राष्ट्रहरुले पनि दोस्रो रोजाइको टिम नै पठाएका छन्। ती देशका पहिलो रोजाइका टोली विश्वकप खेल्न भारत पुगेका छन् या पुग्ने क्रममा छन्।

नेपालले अर्को खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ। यो चुनौती नेपालका लागि ठूलो भने हुनेछैन। त्यसपछि भने नेपाली क्रिकेट टोलीको चुनौती र अवसर दुवै हुनेछ।
अर्को चरणमा नेपालले भारत, पाकिस्तान, बंगलादेश वा श्रीलंकासँग खेल्नुपर्ने छ। यी देशका पहिलो रोजाइका टोली विश्वकपमा व्यस्त रहँदा दोस्रो रोजाइका टोली पनि कमजोर भने हुने छैनन्। भारतले रुतुराज गाइक्वडको कप्तानीमा आइपीएलमा सानदार प्रदर्शन गरेका तिलक वर्मा, यशस्वी जसवाल, अश्रदीप सिंह, रवि विश्नोइजस्ता युवा खेलाडी एसियन गेम्समा पठाएको छ। त्यस्तै पाकिस्तानले अमीर जमल, आशिफ अली, उस्मान कादिरजस्ता खेलाडी समेटेर पठाएको छ। बंगलादेशले पनि तनभिर इस्लाम, मोसाद्दक हुसैन, रिसाद हुसैनलगायतका खेलाडी समेटेर टोली पठाउँदा श्रीलंकाले सहान ससिन्थाको कप्तानीमा युवा टोली पठाएको छ।
एसियन गेम्समा नेपाललाई पदकको खडेरी परिरहँदा राम्रो सम्भावना क्रिकेट टोलीसँग छ। तर, वरीयताको अवमूल्यन गर्दै असमान प्रतिस्पर्धाले तथ्यांक सुध्रिएला, खेलस्तरमा भने तात्विक फरक पार्दैन।