एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर फर्किए अर्थमन्त्री डा. महत

बिजमाण्डू
२०८० असोज ११ गते १८:१९ | Sep 28, 2023
एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर फर्किए अर्थमन्त्री डा. महत


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्।

Tata
GBIME

इजिप्टको शार्म अल शेखमा सोमबार र मंगलबार बसेको बैठकमा भाग लिएर महत बिहिबार स्वदेश फर्किएका हुन्। उनको स्वागतका लागि अर्थसचिव कृष्णहरि पुष्कर लगायत मन्त्रालयका अधिकारी विमानस्थल पुगेका थिए।

बैठकमा ८६ राष्‍ट्रका प्रतिनिधि सहभागी थिए। बैठकमा महतले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण वित्तिय सहायताका लागि विशेष संयन्त्रको व्यवस्था गर्न प्रस्ताव गरेका थिए।

उनले निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकासका लागि वित्तीय स्रोतमा पहुँच मुख्य चुनौती रहेको भन्दै यसका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायत बहुपक्षीय विकास बैंकले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

बैठकमा जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा महत प्यानेलिष्‍ट वक्ता थिए।