नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई दाहालको आग्रह, ‘कर कम लाग्छ, कानुन लगानीमैत्री छ’



बिजमाण्डू
२०८० असोज ७ गते १७:४४ | Sep 24, 2023
नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई दाहालको आग्रह, ‘कर कम लाग्छ, कानुन लगानीमैत्री छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै। तस्वीर: रासस


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

Vigo
GBIME
Tata

दाहालले आइतबार चीनको बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेकाले यसको लाभ लिन आग्रह गरेका हुन्।

‘हामीले सम्बन्धित नीति तथा कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाएका छौं’, उनले चिनियाँ लगानीकर्तासामु भने, ‘नेपालमा लगानीको वातावरण राम्रो बनेकाले त्यसबाट फाइदा लिन तपाईंहरुसमक्ष आग्रह गर्छु।’ उनले श्रम कानुन पनि लचिलो र लगानैमैत्री रहेको बताए।

लगानीकर्ताका लागि नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको दाबी दाहालले गरे। उनले पर्यटन, पूर्वाधार, उर्जा, कृषि र औषधिजन्य उत्पादनको क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताए। ‘लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ’, उनले भने।

दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गर्दै दुई देशबीच १३औँ शताब्दीदेखि नै व्यापार सुरु भएको बताएका थिए। समिट नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले आयोजना गरेका हुन्।