सेयर मूल्य र नेटवर्थका आधारमा सबैभन्दा महँगो बैंक एनआईसी एसिया, कुन बैंक कुन स्थानमा?

बिजमाण्डू
२०८० असोज ४ गते १६:२० | Sep 21, 2023
सेयर मूल्य र नेटवर्थका आधारमा सबैभन्दा महँगो बैंक एनआईसी एसिया, कुन बैंक कुन स्थानमा?


काठमाडौं। सेयर बजारमा सबैभन्दा महँगो बैंक एनआईसी एसिया बनेको छ। सेयर मूल्य मात्रै नभएर नेटवर्थका आधारमा पनि एनआईसी एसिया सबैभन्दा महँगो बैंक बनेको हो।

Tata
GBIME

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ छ। अन्य बैंकको तुलनामा यो धेरै हो। कम्पनीले गत वर्ष नाफा उल्लेख्य रुपमा बढाएको थियो। कम्पनीको इक्विटी प्रोफाइल नेटवर्थ पनि अन्यको तुलनामा बढी छ।

बिहिबार यस बैंकको सेयर प्रतिकित्ता ८०० रुपैयाँ छ। बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने घोषणा यसअघि नै गरिसकेको छ। लाभांश घोषणापछि बैंकको सेयरमा क्रेताको चाप बढेको छ।

वास्तविक मूल्यका आधारमा एनआईसी एसिया पछिको महँगो नेपाल बैंक हो। सरकारी स्वामित्वको नेपाल बैंकको नेटवर्थ प्रतिकित्ता २४८.९४ रुपैयाँ छ। दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयर मूल्य २५३ रुपैयाँ छ।

यस्तै एभरेष्ट बैंकको प्रतिसेयर नेटवर्थ अर्थात वास्तविक मूल्य प्रतिकित्ता २३८.३३ रुपैयाँ छ। नेटवर्थमा आधारमा एभरेष्ट तेस्रो स्थानमा छ। बैंकको सेयर मूल्य दोस्रो बजारमा हाल प्रतिकित्ता ५८९ रुपैयाँ छ।

कुनै बेला सेयर बजारमा ब्लूचिप मानिने नबिल बैंक चौथो स्थानमा छ। गत वर्षको वित्तीय विवरण अनुसार नबिलको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपेयाँ छ। दोस्रो बजारमा बिहिबार नबिलको सेयर प्रतिकित्ता करिब ५९१ देखि ६०३ रुपैयाँको बीचमा कारोबार भएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेटवर्थका आधारमा पाँचौं स्थानमा छ। प्रतिकित्ता नेटवर्थ २१३ रुपैयाँ रहेको यो बैंकको सेयर दोस्रो बजारमा बिहिबार प्रतिकित्ता ५५५ रुपैयाँ छ।

यस्तै, कृषि विकास बैंक २११ रुपैयाँ नेटवर्थसहित छैटौं, नेपाल एसबीआई बैंक १८३.१२ रुपैयाँसहित सातौं, सिद्धार्थ बैंक १८०.७३ रुपैयाँसहित आठौं, लक्ष्मी सनराइज बैंक १७३.५५ रुपैयाँसहित नवौं र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १७० रुपैयाँसहित दशौं स्थानमा छन्।

वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक नेटवर्थका आधारमा सबैभन्दा कमजोर देखिएको छ। कुमारीको नेटवर्थ प्रतिकित्ता १४०‍.४७ रुपैयाँ छ।

कुन बैंकको नेटवर्थ र बजार मूल्य कति?