
काठमाडौं। ६१ किलो सुन तस्करीमा प्रयोग भएको रेडी ट्रेडर्स तस्कर समूहले अन्य व्यक्तिको कागजपत्र प्रयोग गरेर खोलेको पाइएको छ। साउन २ गते बरामद भएको सुन आयात रेडी ट्रेडर्सले गरेको थियो।
कम्पनीका सञ्चालक दोलखाका दिलीप भुजेल रहेका छन्। तर तस्कर समूहले भुजेललाई सामान्य रकम दिएर कागजपत्र प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कम्पनी खोल्न कागजपत्र दिएबापत दिलीपले एक लाख ५० हजार रुपैयाँ पाएका थिए।
मामा रामकुमार भुजेलमार्फत दिलीपले गत फागुनमा चाबहिलमा भेटेर कागजपत्र दिएको बताएका छन्। त्यसपछि हर्कराज राईले तयार पारेको कागजपत्र लिएर कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर कम्पनी दर्ता गरेको प्रहरीको बयानमा उनले बताएका छन्।
पारिवारिक तथा व्यक्तिगत दुबै आर्थिक हैसियतले पनि दिलीप कम्पनी सञ्चालन गर्ने अवस्थाका देखिँदैनन्। उनी अहिले पनि ज्याला मजदुरी गर्दै आएका छन्।
कम्पनी दर्तापछि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ४ मा रत्नकुमारी भण्डारीको घरमा मासिक ६० हजार रुपैयाँ तिरेर कार्यालय खोलिएको थियो।
कम्पनीको सम्पर्क नम्बर भने दिलीपकै नाममा थियो।
कम्पनीको प्रबन्धपत्र र नियमावली अधिवक्ता गंगादेवी श्रेष्ठले तयार पारेकी थिइन्। साक्षी उदयपुरका भीमबहादुर मगर देखिएका छन्।
भन्सारको एक्जिम कोड लिन पनि दिलीपले अरू नै व्यक्तिलाई अख्तियारी दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
तस्कर समूहले सुन ल्याउन नेपालमा यसरी नै अरूको कागजपत्र प्रयोग गरेर सात वटा कम्पनी खोलेका थिए। जसमध्ये रेडी ट्रेडर्सबाट सबैभन्दा धेरै सुन आएको देखिएको छ।
ट्रेडर्सले सन् २०२३ अप्रिलदेखि पटक-पटक हङकङबाट ब्रेक शुमा राखेर सुन ल्याएको देखिन्छ। साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले १६० थान ब्रेक शुभित्र ६१ किलो सुन बरामद गरेको थियो। त्यसबिचमा ५ सय डलरभन्दा कम मूल्यका एक हजार १८० सेट ब्रेक शु आएको देखिएको छ।