काठमाडौं। आर्थिक गतिविधिमा आएको कमीसँगै घट्दो आयातले विदेशी मुद्राको सञ्चितिमा भने बल पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार चालु वर्षको पहिलो महिना (साउन) को विवरण सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति (एकै महिनामा) ३३ अर्ब ७६ करोडले बढेको जनाएको छ।
अहिले मुलुकमा कुल १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति छ। यो भनेको अहिलेसम्मकै उच्च सञ्चिति हो।
आयात घट्ने र रेमिटेन्स बढ्ने हुँदा सञ्चितिमा उच्च सुधार भएको हो। महिना दिनमै अहिलेसम्मकै उच्च एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
आयात ६ महिनायताकै कम छ। साउनमा एक खर्ब २९ अर्ब २४ करोडको वस्तु आयात भएको छ। खुम्चिँदो आयातले आर्थिक गतिविधि पनि घटेको संकेत गर्छ।
अहिलेको सञ्चितिले १२.५ महिनाको वस्तु र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। यता आयात घटेर सरकारको राजस्वमा समेत प्रभाव परेको छ।