काठमाडौं। सुन तस्करीमा प्रत्येक वर्ष देशभरबाट औसत ७५ जनाभन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन्। यसरी समातिनेमा नेपालीसँगै विदेशी नागरिक पनि छन्।
त्यसो त गएको साउन महिनामा मात्र प्रहरीले ४६ जनालाई पक्राउ गरिसकेको छ। जसमा ६१ किलो सुनको एउटै प्रकरणमा जोडिएका ३२ जना पनि छन्। ९ जना विदेशी समेत समातिएका छन्।
पाँच आर्थिक वर्षमा सुन तस्करीमा संलग्नताका आरोपित ३ सय ९३ जनालाई पक्राउ परेका छन् । गत आर्थिक वर्षमा मात्र प्रहरीले ९१ जनालाई पक्राउ गरेको थियो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यो संख्या ८८ छ।
कोभिडका कारण आर्थिक वर्ष २०७७/७८ मा भने समातिने मानिसको संख्या कमी भएको देखिन्छ। चालु आर्थिक वर्षका दुई महिनामा मात्रै ५५ जना समातिएका छन्। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३० जनालाई प्रहरी नियन्त्रणमा लिएको थियो।
प्रहरीले पक्राउ गर्नेहरूमा अधिकांश भरिया छन्। सुन तस्करीका मुख्य लगानीकर्ता भने प्रहरीको पहुँच भन्दाबाहिर नै छन्। गत साउन २ गते बरामद भएको ६१ किलो सुन प्रकरणमा समातिएका ३२ जनामध्ये भरिया र दोस्रो तहका मानिस मात्र रहेको देखिएको छ। हङकङबाट सुन पठाउने र नेपाललाई ट्रान्जिट बनाएर भारतमा सुन लग्ने गरेको देखिएको छ। यसरी सुन तस्करी गर्न नेपालीलाई प्रयोग गरेको देखिन्छ।
नेपालमा दुबई, कतार, चीन, हङकङ लगायतका मुलुकबाट सुन तस्करी हुने गरेको छ। नेपालको कानुन, विमानस्थल सुरक्षा, खुल्ला सिमानालाई हेरेर तस्करले नेपाललाई तस्करीको ट्रान्जिट बनाउने गरेको प्रहरीको दाबी छ।
नरोकिएको सुन तस्करी
प्रहरीले बरामद गरेको सुनको परिमाण हेर्दा पनि नेपालमा सुन तस्करी निरन्तर भइरहेको देखाउँछ। गएको पाँच वर्षमा १ सय ८४ किलो सुन प्रहरीले बरामद गरिसकेको छ। त्यस्तै राजस्व अनुसन्धान विभाग, भन्सार कार्यालयले बरामद गर्ने तस्करीको सुनको परिमाण छुटै छ।
गत सोमबार मात्र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरेको थियो।
दुबईबाट हिमालयन एयरलाइन्समा आएका काभ्रे खानीखोला गाउँपालिकाका २८ वर्षीय बाबुलाल दोङको साथबाट ९६० ग्रास सुन बरामद भएको थियो। उनलाई तस्कर समूहले पटक पटक दुबईबाट सुन बोकाएर ल्याउने गरेको देखिएको छ। प्रहरीका अनुसार उनले मलद्वारभित्र सुन राखेर ल्याएका थिए। अनुसन्धानको क्रममा जगतसँगै काभ्रे महाभारत गाउँपालिकाका ३६ वर्षीय मिङमा दोर्जे स्याङतान समातिएका हुन्।
गत साउन महिनामा मात्र ६१ किलोसहित थप एक किलो सुन प्रहरीले बरामद गरेको थियो। त्यस्तै गएको आर्थिक वर्षमा २० किलो ७ सय ग्राम सुनसहित मानिस पक्राउ गर्न प्रहरी सफल भएको देखिन्छ। जसबापत १७ करोड २० लाख २२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको देखिएको छ।
आर्थिक वर्ष २०७८\७९ मा ३१ किलो ३ सय ८३ ग्राम सुन सहित प्रहरीले ८८ जनालाई पक्राउ गर्न सफल भएको थियो। जसरी प्रहरीले बरामद गरेको सुन जफत गरेर राज्य कोषमा ९७ करोड ४७ लाख ३९ लाख रुपैयाँ जम्मा भएको देखिन्छ।
आर्थिक वर्ष २०७७/७८ मा ५५ जना मानिस समातिँदा उनीहरूको साथबाट ३८ किलो सुन फेला परेको थियो। जसबापत २७ करोड १५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ। आर्थिक वर्ष २०७६\७७ मा ३४ किलो ३ सय ग्राम तस्करीको सुन फेला परेको थियो।
फेरिएको तस्करी शैली
सरकारले सुन तस्करी बढेपछि सरकारले कहीँ सुरक्षा तैनाथ भने देखाउँछ। तर तस्करहरूले सरकारको सुरक्षा घेरा तोड्दै विभिन्न शैलीमा सुन भित्र्याउने गरेका छन्। तस्करले विदेशबाट ल्याएको सुन भित्र्याउन विमानस्थलमा भन्सार कर्मचारी, प्रहरीदेखि राजतीनिज्ञलाई समेत हातमा लिने गरेको देखिन्छ। त्यसैले पटक पटकको सुन अनुसन्धानमा प्रहरी, भन्सार कर्मचारी, व्यापारीहरू समातिने गरेका छन्।
साउन २ गते बरामद गरेकोको सुन प्रकरणमा भने चिनियाँ तस्कर भन्सार कर्मचारीलाई प्रयोग गरेका थिए। त्यस्तै उनीहरूले विदेशबाट ल्याइने सामानभित्र सुन राखेर ल्याउने गरेको देखिएको छ। समूहले यस पटक भन्सारको कार्गो प्रयोग गरेर सुन बाहिर ल्याएका हुन्। यसअघि विमानस्थलबाट सिधै ल्याउने गरेका थिए।
त्यस्तै सुनलाई झोल बनाएर, शरीरका विभिन्न भागमा लुकाएर सुनको तस्करी हुने गरेको छ। त्यसो त वैदेशिक रोजगारमा गएका युवाहरूलाई प्रयोग गरेर पनि सुन तस्करी हुने गरेको देखिएको छ।
यसरी विदेशबाट तस्करी गरेर आएको अधिकांश सुन भारत जाने गरेको देखिन्छ।