काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६१ किलो सुन प्रकरणमा प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदैछ।
प्रतिवेदन बुझाउनु अघि सीआइबीले पत्रकार सम्मेलन गरेर सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ।
चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
अनुसन्धानका क्रममा ६ वटा कम्पनी मार्फत सुन ल्याएको देखिएको उनले बताइन्। हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका उनले बताइन्।
सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरुले दुईवटा समुह बनाएको देखिएको छ। हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पुऱ्याउने गरेका अनुसन्धानका क्रममा खुलेको छ। युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ।
सीआइबीले यो प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ। ५० जना प्रतिवादीहरु मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआइबीले जनाएको छ। फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका छन्।