कोशीमा एमालेका कार्की २ महिनामै पदमा फर्किए, गठबन्धन दललाई फकाउन नसके फेरि पदमुक्त हुने

बिजमाण्डू
२०८० भदौ २२ गते २०:१२ | Sep 8, 2023
कोशीमा एमालेका कार्की २ महिनामै पदमा फर्किए, गठबन्धन दललाई फकाउन नसके फेरि पदमुक्त हुने


विराटनगर। एमालेका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की दुई महिनामै फेरि मुख्यमन्त्री नियुक्त भएका हुन्।

Tata
GBIME

२०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन नसकेपछि असार १५ गते पदमुक्त भएका थिए। सर्वोच्च अदालतले नेपाली कांग्रेसतर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्रीको पद पाएका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका छन्। सर्वोच्च अदालतले बिहीबार थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन प्रदेश प्रमुख खापुङका नाममा परमादेश दिएको थियो।

९३ सदस्यीय प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो। एमालेसँग ४० सांसद छन्। कार्की सर्वोच्चको परमादेश अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।

कार्कीको सिफारिसमा प्रदेश प्रमुखले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषद्‍मा कार्कीका अलावा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएका छन्। 

तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्।

कोशीमा ८ महिनाको अवधिमा चौथोपटक सरकार परिवर्तन भएको हो। मुख्यमन्त्री कार्कीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। अहिले केन्द्रको सत्ता गठबन्धनमा रहेका दलको साथ लिन नसके उनले विश्वासको मत नपाएर फेरि पनि पद गुमाउनुपर्नेछ।