
काठमाडौं । शुक्रबार बिहान कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
राति मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।