काठमाडौं । बिहीबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको पनि जनाइएको छ।
यस्तै, आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।