कांग्रेसभित्रको असन्तुष्टि फेरि सतहमा‚ अभियान लिएर काेही पूर्व काेही पश्चिम

नेत्र तामाङ
२०८० भदौ २० गते १०:०४ | Sep 6, 2023
कांग्रेसभित्रको असन्तुष्टि फेरि सतहमा‚ अभियान लिएर काेही पूर्व काेही पश्चिम


काठमाडौं। साउन १० मा सम्पन्‍न केन्द्रीय समिति बैठकपछि सामसुम देखिएको कांग्रेस किचलो फेरि सतहमा देखिन थालेको छ। पार्टीमा असन्तुष्ट पक्ष अहिले कोही अभियान लिएर पूर्वतिर निस्कन थालेका छन् भने कोही पश्‍चिमतिर।

Tata
GBIME

साउन १० गते सम्पन्‍न केन्द्रीय समिति बैठकले दुई अभियान चलाउने निर्णय गरेको थियो। जसमा पार्टीको आन्तरिक विशेष अभियान र समुदायमा कांग्रेस अभियान थियो। साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै चलेको आन्तरिक विशेष अभियान खासै उत्साहजनक त देखिएन तर कांग्रेसले यसलाई सफल भएको दाबी गर्दै समुदायमा कांग्रेस अभियानलाई भने स्थगित गर्‍यो।

भदौ १० देखि हुने भनिएको ‘समुदायमा कांग्रेस’ कार्यक्रमलाई कांग्रेसले स्थगित गरेको हो। यो बीचमा कांग्रेसले पोलिसी ह्याकाथान कार्यक्रम सकाउनुका साथै १५ गते सभापति शेरबहादुर देउवाले पार्टीका १५ वटा विभागको प्रमुख तोके।

७० विभाग, बल्ल तोकिए १६ विभाग प्रमुख

कांग्रेस केन्द्रीय समितिमा महामन्त्रीको प्रस्तावमा ७० विभाग रहने प्रस्ताव गरिएको थियो। उक्त प्रस्ताव पारित भएको भनेर प्रचार भने गरिएन। भदौ १५ भित्र सबै विभागका प्रमुख तोकिने निर्णयसमेत भएको थियो। यद्यपि, सभापति देउवाले अन्तिम समयमा आएर १५ विभागको प्रमुख तोके।

यसअघि सञ्‍चार विभागमा मीन विश्‍वकर्मा मनोनयन गरिसकिएको छ। कांग्रेसले अहिलेसम्म कोषाध्यक्ष भने निर्वाचित गर्न सकेको छैन।

बीपी साहित्य महोत्सव आयोजना गर्दै

कांग्रेसले पार्टीको संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्दैछ। भदौ २४ गते परेको बीपीको ११० औं जन्मजयन्तीको अवसर पारेर साहित्य महोत्सव गर्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुने प्रचार विभाग प्रमुख मिन विश्‍वकर्माले जानकारी दिए।

रुपान्तरणको अर्कै अभियान

केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको रुपान्तरण अभियानले भदौ २४ गते बीपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान जन्म जयन्तीसम्म दुई महिने रुपान्तरण अभियान कार्यक्रम घोषणा गरेको छ। आचार्य नेतृत्वको यो अभियान १६५ निर्वाचन क्षेत्र पुग्‍नेछ। आचार्यका अनुसार अभियान भदौ २४ गते काभ्रे-२ बाट सुरु हुनेछ।

यसअघि पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै प्रदेशका केन्द्रहरुमा पुगेको अभियान पूर्वको विराटनगर पुगेर टुंगिएको थियो। अभियानमा आचार्यसहित गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, प्राडा गोविन्दराज पोखरेललगायत नेताहरु छन्।

आचार्य नेतृत्वको यो अभियानलाई न सभापति देउवाको साथ छ न त डा शेखर कोइरालाको। यद्यपि, डा शेखरले पनि अभियानलाई आफैंले पठाएको दाबी गरेका छन्।

टक सेन्टरबाट शक्ति बढाउँदै सिटौला

कांग्रेसमा ‘थर्ड पोल’मा रुपमा चिनिएका कृष्ण सिटौला आफ्नो गुट ब्युँताउन फेरि जुर्मुराएका छन्। गगन थापादेखि प्रदीप पौडेलले साथ छाडेपछि सहमहामन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधानलगायत लिएर उनी प्रदेश दौडाहामा छन्। टक सेन्टर नामक संस्थाबाट उनी आफ्नो गुटलाई ‘रिभाइभ’ गर्न लागिपरेको उनी पक्षीय नेताहरु बताउँछन्।

साउन २१ गते काठमाडौंको राष्ट्रिय सभागृहबाट थालेको यो कार्यक्रम कोशीको विराटनगर हुँदै गण्डकीको पोखरा पुगिसकेको छ। संविधान कार्यान्यन आफ्नो प्रमुख एजेन्डा भएको सिटौला बताउँछन्। कार्यक्रमहरुमा सिटौला प्रमुख अतिथि बने पनि वक्ता बन्दैनन् स्रोताका रुपमा बस्छन्। सिटौलाको साथमा युवा नेताहरु कुन्दनराज काफ्ले, कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता भूपेन्द्र राई, गण्डकीका प्रदेश सांसद जितबहादुर शेरचन लगायत छन्।

गगनको आफ्नै छटपटी

महामन्त्री गगन थापाको छटपटाहट फेरि सतहमा बढ्दो छ। साउन ३ बाट सुरु भएको केन्द्रीय समितिअघि जसरी पनि संसदीय दलको नेता परिवर्तन गरेरै छाड्ने उद्घोष गरेका थिए गगनले। यद्यपि, केन्द्रीय समिति बैठकमा गगनको चर्को विरोध भयो। लगभग एक्लिएका गगन आफ्नो अडानमा बसे।

संसदीय दलको निर्वाचन यता शेखर र गगनको मेल देखिन्‍न। यी दुई जनालाई मिलाउन केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लागिपरेका छन्। आइतबारमात्र केसी निवास इटालीटारमा गगन, अर्का महामन्त्री विश्‍वप्रकाश शर्मा र प्रदीप पौडेललाई सँगै राखेर केसीले शेखरसँग मिल्न दबाब दिएका छन्। शेखरलाई निम्ता भए पनि उनी केसी निवासमा भने पुगेनन्।

संसदीय दलको नेता जसरी पनि फेर्ने गगनको मुद्दामै छलफल केन्द्रित भएको एक नेताले बताए। ‘आइतबार लामै छलफल भयो संसदीय दलको नेता फेर्ने विषयमै,’ ती नेताले भने। यद्यपि अहिलेको अवस्थामा देउवालाई हटाएर संसदीय दलको नेता बन्‍ने प्रयास त्यति सजिलो भने नरहेको ती नेताले बताए। ‘केन्द्रीय समिति होस् या संसदीय समिति, दुवैतिर देउवा बलिया छन्,’ ती नेताले भने, ‘राजनीति हो केही हुन्छ भन्‍ने आशा हो।’

शशांकलाई सभापति दिने भनेपछि सशंकित

शेखर गगन समूह देउवाले अबको नेतृत्वमा डा शशांक कोइरालालाई ल्याउने हल्लाले सशंकित भएको बताइन्छ। हुन त केन्द्रीय समितिमा ‘ब्रेक’ निकालेर शशांकले लैनचौरमा केन्द्रीय नेताहरुलाई रिफ्रेसमेन्ट दिएका थिए। केन्द्रीय समितिमा गरमागरम बहस भएपछि पार्टी एक ढिक्का छ भन्‍ने सन्देश दिन आफूले चियापान आयोजना गरेको तर्क शशांकको थियो। ‘कांग्रेस एकढिक्का रहेको सन्देश दिनका लागि र रिफ्रेसमेन्टका लागि चियापान आयोजना गरेको हुँ,´ शशांकले भने।

निकट नेताहरुले भने पार्टीमा आफू पनि रहेको सन्देश दिन शशांकले चियापान आयोजना गरेका थिए। १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका कोइरालाले १५ औं महाधिवेशनमा आफ्नो दाबी पेस गर्ने तयारी गरेका छन्। ‘पार्टीभित्र शशांक पनि छन् है भनेर चिया खुवाएका हुन्। उनको निम्तामा कांग्रेसका सबै नेताहरु एकै ठाउँमा भेला हुनु राम्रो पनि हो,’ शशांकनिकट एक नेताले भने।

बीपी कोइरालाकै कारण आफू पार्टीमा स्थापित भएको देउवाको बुझाइ रहेको बताइन्छ। यसैले जसरी पनि बीपीपुत्र शशांकलाई सेटल गर्ने देउवाको तयारी रहेको नेताहरु नै बताउँछन्। ‘देउवालाई कुनै बेला ’प्रिन्स वीथाउट क्राउन’ भन्थे रे बीपीले। यही कुरा देउवाले बेलाबेला सुनाउँछन्। यसले उनको शशांकप्रति देउवाको सहानुभूति देखाउँछ,’ देउवा निकट एक नेताले भने।

यही विषय संस्थापनइतरमा पेचिलो बन्दै गएको छ। डा शेखरलाई वरिष्ठ नेता बनाउने तयारी गर्दै देउवाले थामथुम पारे पनि अझै निर्णय भने भइसकेको छैन। शेखर पनि पार्टी नेतृत्वको विषयमा मौन छन्।

शेखरको आफ्नै दाउ

डा शशांकले लैनचौरमा चियापान गरेकै दिन डा शेखरले बत्तीसपुतलीमा आफ्नो गुटको भेला गरे। कांग्रेसका पूर्वजिल्ला सभापतिलाई अघि सारेर बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा गुट भेला गरेका हुन्। डा शेखरले कार्यक्रममा आफ्नो सन्देश कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङमार्फत प्रवाह गरे। उनले अर्को अधिवेशनमा जसरी भए पनि शेखरलाई सभापति बनाउनुपर्ने बताए। आफू उपसभापति भइसकेकोले दाबी गर्ने इच्छा भए पनि शेखरलाई साथ दिने उनको भनाइ थियो।

‘जित्‍नेहरु सिकन्दर बन्‍ने र हार्ने विश्राम लिइरहने भन्‍ने हुँदैन। डा शेखर कोइरालाको सन्दर्भमा मैले भन्दै आएँ,’ उपसभापति गुरुङले भने, ‘मेरा पनि आकांक्षा हुन सक्छन्। मेरा इच्छा पैतालामुनि राख्दै डा शेखरलाई अगाडि बढ्नुस् भनें। पार्टी रुपान्तरणको यात्रामा १५औं महाधिवेशनमा सभापति बदल्ने हो। १५औं महाधिवेशनमा डा शेखरलाई उम्मेदवार मात्र होइन सभापतिमा स्थापित गरेर लैजान सक्यौं भने रुपान्तरणको यात्रा वास्तवमै अगाडि बढाउन सक्छौं भन्‍ने लाग्छ।’

उक्त कार्यक्रममा गगन उपस्थित भएनन्। शेखर संसदीय दलको निर्वाचनबाट गगनसँग सन्तुष्ट छैनन्।

केन्द्रीय समिति बैठकमै शेखरले महामन्त्रीमाथि असन्तुष्टि पोख्दा देउवाको विषयमा भने मौन बसेका थिए। ‘बैठकको भोलिपल्ट महामन्त्रीले चिट दिनुभयो। अन्य पार्टीको बारेमा पटक्कै नबोल्नु भनेर,’ कोइरालाले भनेका थिए, ‘कस्तो केन्द्रीय समितिको बैठक हुने हो त्यो मैले बुझ्न सकेको छैन।’