अमेरिकी गायक जो जोनास र बेलायती नायिका सोफी टर्नरको जोडी अलग्गिन लागेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्।
जोले फ्लोरिडास्थित मायमी डेड काउन्टीमा मंगलबार सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेको सीएनएनले उल्लेख गरेको छ। निवेदनमा जोले आफूहरुको विवाह ‘अपरिवर्तनीय रूपमा तोडिएको’ बताएका छन्।
जो र सोफीका दुई छोरी छन् जो सन् २०२० र २०२२ मा जन्मिएका थिए। जोले छोरीहरुको लालनपालनको दायित्व संयुक्त रुपमा लिन चाहेका छन्। निवेदनमा उल्लेख भएअनुसार जोनास र टर्नरबीच विवाहपूर्व सम्झौता भएको थियो।
सन् २०१६ मा प्रेममा परेका यी जोडीले २०१७ मा इन्गेजमेन्ट गरेका थिए। त्यतिबेला जोनासले इन्स्टाग्राममार्फत टर्नरले ‘इन्गेजमेन्ट रिङ’ लगाएको एउटा तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेका थिए- ‘सि सेड एस।’
टर्नर र जोनास ब्रदर्स गायक जोले दुई पटक विवाह गरेका थिए।
बिलबोर्ड म्युजिक अवार्डमा भाग लिएपछि सन् २०१९ मा लास भेगासमा पहिलो पटक। जसमा उनीहरूले एक समारोहमा परिवार र साथीहरूको सानो समूहका बीच विवाह गरेका थिए।
‘गेम अफ थ्रोन्स’ स्टार टर्नर र जोनासले दक्षिणी फ्रान्सको रमणीय स्थल सात्तो दु तेर्ख्तमा पुनः एक भव्य समारोहका बीच विवाह गरेका थिए।