चीन प्रवेश गर्न मितेरी पुलमा स्थानीयको लाइन, चिनियाँ नागरिकले गरे स्वागत

बिजमाण्डू
२०८० भदौ १५ गते ११:५८ | Sep 1, 2023
चीन प्रवेश गर्न मितेरी पुलमा स्थानीयको लाइन, चिनियाँ नागरिकले गरे स्वागत


मेलम्ची। नेपाल-चीन सिमास्थित तातोपानी नाकामा ८ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ।

Tata
GBIME
NLIC

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण संचालनमा आएको बताए।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो। नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो। भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै संचालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका संचालन गर्ने तयार रहेको खबर पठाएका थिए। त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।