एमसीसी परियोजना कार्यान्वयनमा जाने अघिल्लो दिन अमेरिकाले भन्यो- व्याख्यात्मक घोषणासँग सहमत छौं

बिजमाण्डू
२०८० भदौ १२ गते १९:५० | Aug 29, 2023
एमसीसी परियोजना कार्यान्वयनमा जाने अघिल्लो दिन अमेरिकाले भन्यो- व्याख्यात्मक घोषणासँग सहमत छौं


काठमाडौं। अमेरिकाले नेपालसँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँग आफू सहमत रहेको बताएको छ।

Tata
GBIME

एमसीसी परियोजना कार्यान्वयनमा गएको पत्र आदानप्रदानका लागि एमसीसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौं आएको केहीबेरमा मंगलबार साँझ अमेरिकी दूतावासले व्याख्यात्मक घोषणालाई लिएर फेरि वक्तव्य निकालेको हो।

समाजवादी मोर्चाले मंगलबार अपराह्न बुटवलमा गरेको सभामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो/ होइन भन्नेबारे एलफोर्डसँग सिधा भाषामा कुरा राख्ने बताएका थिए।

प्रतिनिधि सभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो। अनुमोदनपछि सोही दिन बेलुकी अमेरिकी दूतावासले स्वागत गरेको थियो। एमसीसी सम्झौता भने २०७४ भदौमा भएको हो।

अमेरिकी दूतावासले मंगलबार ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो। हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ भनी प्रतिक्रिया दिएको हो।

एमसीसी मुख्यालयले पनि १२ बुँदे व्याख्यात्मक टिप्पणीको त्यतिखेरै स्वागत गरेको थियो।