
काठमाडौं। एसिया कप क्रिकेट आगामी बुधबारदेखि सुरु हुँदैछ। यसपटक खेल्न छनाेटमा परेको नेपाली क्रिकेट टोली अहिले पाकिस्तानमा छ। नेपाली खेलप्रेमीको ध्यान इस्लामावादमा छ। सामाजिक सञ्जालमा भिडियोहरु भाइरल देखिन्छन्, जहाँ हतियारधारी सुरक्षाकर्मीको घेरा र स्कर्टिङमा नेपाली खेलाडी प्रशिक्षणस्थल र होटल आवतजावत गरिरहेका छन्।
नेपाली टोलीलाई पाकिस्तानले दिएको कडा सुरक्षालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धेरै चासो देखाइरहेका छन्। विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदा गरिएको स्वागतको भिडियो र नेपाली क्रिकेट टोलीलाई पाकिस्तानमा दिइएको सुरक्षालाई दाँजेर भिडियोहरु बनाइएका छन्। धेरैले ती भिडियो हेरेर पाकिस्तानले नेपाललाई प्रधानमन्त्री प्रचण्डको भन्दा बढी सम्मान दिएको टिप्पणी गरिरहेका छन्।
किन दिइयो यति धेरै सुरक्षा ?
हुन त कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विदेशी पाहुना टोली पुग्दा ‘होस्ट’ राष्ट्रले सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिनुपर्ने हुन्छ। खेलाडीहरुलाई सहज रुपमा प्रशिक्षणस्थल र होटल आवतजावतको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
पाकिस्तानले पनि नेपाली टोलीलाई त्यही स्तरको सुरक्षा दिएको हो। प्रधानमन्त्री प्रचण्डलाई भन्दा बढी सुरक्षा दिइएको भन्दा पनि पाकिस्तानको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको हो।
पाकिस्तानमा भने अन्य देशमा खेलाडी र टोलीलाई दिइने सुरक्षा भन्दा अलि बढी नै सुरक्षा दिइने गरिन्छ। त्यसको कारण बुझ्न २००९ मा फर्किनुपर्छ।
सन् २००९ को मार्चमा तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षे नेपाल भ्रमणमा आएका थिए। बुद्धभूमि लुम्बिनीको भ्रमणका क्रममा राजपाक्षे काठमाडौं ओर्लिएकै बेला पाकिस्तानमा श्रीलंकाली क्रिकेट टोलीमाथि आतंककारी आक्रमण भएको थियो। जसकारण उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।
२००९ मार्च ३ मा श्रीलंकाका खेलाडी रहेको बसमा लाहोरमा आतंककारी हमला भएको थियो। सो आक्रमणको घटनापछि पाकिस्तान क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा बदनामी भयो। सँगसँगै लामो समय घरेलु मैदानमा पाकिस्तानले खेल्ने अवसर पाएन।
त्यसबेला टेस्ट सिरिज खेल्न पाकिस्तान पुगेको श्रीलंकन टोली चढेको बसमाथि १२ जनाको आतंककारी समूहले आक्रमण गरेको थियो। बसभन्दा पछि रहेका अफिसियल चढेको गाडीमा पनि फायरिङ भएको थियो। आक्रमणमा ६ जना पाकिस्तानी अफिसियल र २ जना सर्वसाधारण मारिएका थिए।
श्रीलंकाली खेलाडी रहेको बसमा कुमार सांगाकारालगायत ७ जना घाइते भएका थिए। जसोतसो श्रीलंकन टिम मैदानभित्र पुगेको थियो र पाकिस्तानी सेनाको हेलिकोप्टरबाट उनीहरुको उद्धार गरिएको थियो। त्यसपछि खेल नै नखेली श्रीलंका पाकिस्तानबाट बाहिरिएको थियो।
सो घटनापछि कुनै पनि क्रिकेट राष्ट्रले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरे, जसको प्रत्यक्ष प्रभाव पाकिस्तान टोलीमा पर्यो। त्यसपछि पाकिस्तानले होम म्याच दुबईमा खेल्न सुरु गरेको थियो।
सन् २०१९ मा श्रीलंका फेरि पाकिस्तान जान तयार भएको थियो। यसका बावजुद पाकिस्तानमा सुरक्षा चुनौती देखाउँदै धेरैजसो टिमहरु त्यहाँ खेल्न आनाकानी गरिरहेका हुन्छन्।
सन् २०२२ मा इङ्ग्ल्याण्डको टोलीले १७ वर्षपछि पाकिस्तानमा खेलेको थियो। सन् २०२१ मा न्युजिल्याण्डको टोली पाकिस्तान पुगे पनि सुरक्षा चासो देखाउँदै खेल नखेली फर्किएको थियो।
त्यस्तै अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान गएको थियो। यी सबै टोली पाकिस्तान पुग्दा उनीहरुलाई हतियारधारी सुरक्षाकर्मीले चौबिसै घण्टा सुरक्षा दिएका थिए, अहिले नेपाली टोलीलाई जस्तै।
हजारौं सुरक्षाकर्मी परिचालन
सन् १९९६ मा विश्वकप क्रिकेट आयोजनापछि पाकिस्तानले पहिलोपटक क्रिकेटको ठूलो इभेन्ट आयोजना गर्दैछ। एसिया कप आयोजनाको अवसर पाएको पाकिस्तानमा सुरक्षा थ्रेट देखाउँदै भारतले त्यहाँ प्रतियोगिता नै नगराउन हदैसम्मको प्रयास गर्यो। अन्तिममा हाइब्रिड मोडलमा श्रीलंकामा गएर भारत खेल्न राजी भयो।
पाकिस्तान बल्लतल्ल पाएको ठूलो प्रतियोगिताको सुरक्षामा कुनै चुक चाहँदैन। त्यसैले सुरक्षा चासोलाई मध्यनजर गर्दै पाकिस्तानले ठूलो सुरक्षाकर्मीको टिम नै खेलाडीहरुको सुरक्षामा खटाएको छ। अलकायदा, आइएस लगायत स्थानीय लडाकू समूहहरु अहिले पनि पाकिस्तानमा छिटपुट गतिविधि गरिरहेका छन्।
राजधानीमा नै बम विस्फोटका घटना हुने गरेका छन्। त्यसमाथि हालै पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएपछि त्यहाँको राजनीतिक अवस्था संकटपूर्ण छ। यस्तो अवस्थाबीच हुन लागेको प्रतियोगितामा पाकिस्तान कुनै अप्रिय घटना हुन नदिन सतर्क देखिन्छ।
एसिया कप अन्तर्गत उद्घाटन खेल अगस्त ३० मा हुँदैछ। सो खेलमा नेपाल र पाकिस्तान भिड्दैछन्। उक्त दिन खेल हुने स्टेडियममा मात्रै ७ हजार बढी सुरक्षाकर्मी तैनाथ गरिने मुल्तानको सिटी पुलिस अफिसर (सीपीओ) राना मन्सुरले जनाएका छन्।
एसिया कपको खेल हेर्न मुल्तान जाने दर्शकहरुले फातिमा जिन्हा टाउनमा गाडी पार्किङ गरेर म्याच हेर्न स्टेडियम जान सक्नेछन्।
पाकिस्तानको मन्त्रिपरिषद्ले एसिया कपमा सुरक्षाको जिम्मेवारी पाकिस्तान आर्मी र पञ्जाब रेन्जर्सलाई दिएको छ। यी दुई सुरक्षा निकाय अगस्ट २७ बाट सेप्टेम्बर ६ सम्म खटिनेछन्। खेलाडीहरु खेल स्थल, प्रशिक्षणसँगै बजारमा जाँदासमेत सुरक्षाकर्मीहरुसँगै हुनेछन्।