
काठमाडौं। नेपाली चलचित्र क्षेत्रका नाम चलेका धेरै कलाकारसँग हातमा फाट्टफुट्ट मात्रै काम छन्। फिल्म छैन भने धेरै त कतिले खाली नै बस्नुपरेको छ। तर, अभिनेत्री स्वस्तिमा खड्कालाई भने भ्याइनभ्याइ छ। चालु वर्षमात्रै उनी स्टारर ‘ऐंचो पैंचो,’ ‘भस्मे डन’ र ‘दिमाग खराब’ प्रदर्शनको तयारीमा छन्।
संख्यात्मक रुपमा नेपाली फिल्म थोरै बन्छन्, तर तिनमा स्वस्तिमाले काम पाएकै हुन्छिन्। फिल्ममा मात्रै नभइ उनलाई विज्ञापन र विभिन्न कम्पनीको ‘ब्रान्ड एम्बासडर’ बन्ने उत्तिकै चटारो छ। पछिल्लो समय कोकाकोला, टीभीएस स्कुटर, भायोनेट, डाबर नेपाल, इसेवा मनी ट्रान्सफरसहित दर्जन व्यवसायिक कम्पनीमा उनी ब्रान्ड एम्बासडरका रुपमा आबद्ध भएकी छन्।
स्वस्तिमालाई लिँदा व्यापार बढ्ने बुझाइ बजारको देखिएको छ। यो क्रेज नयाँ-नयाँ कर्पोरेट हाउसमा पनि देखिन्छ। आफ्नो कम्पनीमा ब्रान्ड एम्बासडरको रुपमा उनलाई उभ्याउन हाउसहरु लागिपरेका छन्। व्यापारिक प्रायोजनका प्रचारप्रचार सामाग्री निर्माणमा समेत उनको डिमाण्ड उच्च छ।
‘होस्टल रिटन्स्’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनले काम पाइएन भनेर पछाडि फर्किएर हेर्नुपरेको छैन। झन ‘बुलबुल’ मा काम गरेपछि त स्वस्तिमाले लोभलाग्दो चर्चा बटुलिन्। भर्सटायल अभिनेत्रीको संज्ञा पाउनुका साथै उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा अवार्ड हात पारिन्।

ग्ल्यामर लुक, काममा प्रतिबद्ध र मिहिनेत गर्ने बानीले उनी नेपाली फिल्ममेकरको पहिलो रोजाइ बनेकी छन्। फिल्म क्षेत्रमा पाएको सफलतासँगै उनको कर्पोरेट कम्पनीमा उपस्थिति बलियो छ। पर्ल राइस, सेन्टर फ्रुट, अल्टिमा वाच म्याजिक, बिग डिजिटल लगायत व्यसायिक उत्पादनमा पनि उनी एम्बास्डर छिन्।
साथै महिन्द्रा एक्सयूभी ७०० देखि पियूर सेनिटरी प्याड, नटराज ज्वेलर्स, ओप्पो मोबाइल, डिजिटल वालेट माइपे लगायतका थुप्रै कम्पनीका प्रचार सामाग्रीमा उनी देखिइसकेकी छन्।
फिल्म रोज्ने मामिलाझै ब्रान्ड छनोटमा पनि चुजी छिन् स्वस्तिमा। कुनै पनि कम्पनीको एम्बासडर बन्दा त्यसबारे अध्ययन गरेर मात्रै जोडिन्छिन्। ‘कुनै पनि कम्पनीले ब्रान्ड एम्बासडरको अफर गर्दा म सिधैँ कन्फर्म गर्दिन। पहिले त्यो कम्पनीको विगत कस्तो छ, मार्केट र उपभोक्तामा कस्तो प्रभाव छ भनेर अध्ययन गर्छु,’ उनले भनिन्।
स्वस्तिमाका अनुसार एम्बेसडर बन्दा कम्पनीसँग १ वर्षदेखि ३ वर्षसम्मको सम्झौता गर्नुपर्ने हुन्छ। जहाँ कम्पनीको डिमाण्डअनुसार फोटो र भिडियो सुटदेखि फिल्डमै गएर पब्लिकसँग भेटघाट गर्नुपर्ने कामहरु समेत गर्नुपर्छ। हालै इसेवाको ‘मेरो डिजिटल देश’ अभियानसँग जोडिएर काम गर्दा निकै रमाइलो भएको उनले सुनाइन्।

‘यो अभियानले पनि डिजिटल माध्यमबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउनुपर्छ भन्छ। विदेशबाट नेपाल पैसा पठाउनेलाई मोटिभेट होस् भनेर इसेवाले अफर ल्याएको थियो,’ उनले भनिन्, ‘विजेताको घरमै पुगेर हामीले पुरस्कार समेत दिएका थियौँ। गिफ्ट पाउँदा उहाँहरुको परिवारलाई खुसी देख्दा आनन्द आयो। ब्रान्डको लागि नभएर देशकै लागि सोच्ने अभियान भएकाले पनि म सरिक भएकी हुँ।
देशको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको भए पनि उनले सरकारले वैदेशिक रोजगारी जानेहरुको हकहितका केही नसोचेकोबारे गुनासो पोखिन्। उनी विगत साढे २ वर्षदेखि ‘इसेवा मनी ट्रान्सफरसँग जोडिएकी छन्।
‘क्लिन फीड’ लागु हुँदा नेपाली कलाकार प्राथमिकतामा
केही वर्ष अघि नेपालका टेलिभिजनमा भारतीय विज्ञापनको दबदबा थियो। केही सीमित ब्रान्डले मात्रै नेपाली कलाकारलाई लिएर विज्ञापन गरेका थिए। धेरैजसो भारतमा बनेका, उतैका कलाकारले खेलेका विज्ञापन नै नेपाली भाषामा डबिङ हुन्थे। जसले टेलिभिजन च्यानलदेखि पत्रपत्रिकासम्म नेपालमा भारतीय विज्ञापन नै हेर्नुपर्ने बाध्यता थिए।
तर, अहिले त्यो अवस्था छैन। २०७७ मा सरकारले ‘क्लिन फिड’ लागु गरेसँगै भारतीय विज्ञापनहरु प्रसारण हुन रोकिए। जसले नेपाली कलाकारहरुलाई ठूलो फाइदा पुर्यायो।
‘क्लिन फिड’ लागु भएपछि मल्टिनेसनल कम्पनीको विज्ञापन नेपालमै निर्माण गर्नुपर्ने हुन्छ। जसले नेपाली स्रोतसाधन र सीपको प्रयोगसँगै कलाकारहरु पनि प्राथमिकतामा परेको सुनाउँछिन् स्वस्तिमा।
‘क्लिन फिड लागू भएपछि नेपाली एडभरटिजमेन्टको बजार विस्तार भएको हो। पहिले भारतीय कलाकारको एडलाई नेपालीमा डब गरेर बजाइन्थ्यो। मदन दाई हरी दाईको लगायतका सीमित एड आउँथे। तर, अहिले नेपाली कलाकारलाई लिएर विज्ञापनमा गर्दा निकै खुसी लाग्छ। विज्ञापनमा पनि आफ्नोपन महसुस हुन्छ। साथै आर्थिक पाटोबाट पनि फाइदा पुगेको छ,’ उनी भन्छिन्।

रकम नखुलाए पनि आफूले एम्बासडर र विज्ञापनबाट राम्रै कमाइ गरिरहेको उनले बताइन। कम्पनीबाट हुने आर्थिक सहायताले गर्दा नै फिल्ममा ‘रिस्क’ लिन सजिलो भएको उनी सुनाउँछिन्।
भन्छिन्, ‘कम्पनीको प्रचारप्रचारमा जोडिँदा फाइन्सियली निकै सहयोग हुन्छ। यताबाट पैसा आउँदा मैले फिल्ममा रिस्क लिन सक्छु। कतिपय फिल्महरु थोरै लगानी तर, राम्रो कथाका हुन्छन्। जसलाई मैले कम पारिश्रमिक लिएर पनि सपोर्ट गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा यो पैसाले रिस्क लिने आँट दिन्छ।’
‘फिल्मभन्दा एडभरटिजमेन्ट क्षेत्र व्यवसायिक छ‘
फिल्मसहित स्वस्तिमा म्युजिक भिडियो र मोडलिङमा समेत व्यस्त छिन्। त्यसमाथि एकैपटक थुप्रै ब्रान्डसँग आबद्ध हुँदा प्रेसर फिल हुँदैन? उत्तरमा उनी भन्छिन्, ‘त्यस्तो प्रेसर हुन्न, किनकी मेरो काम नै यही हो। अरु काम भएको भए गाह्रो हुन्थ्यो। तर, आफूले गरिरहेको काम गर्दा सजिलो नै लाग्दो रहेछ।’
धेरै कम्पनीको ब्रान्डसँग जोडिएपनि सेड्युलअनुसार काम हुँदा निकै सहज भइरहेको उनको भनाइ छ। ‘कम्पनीले सेड्युलअनुसार काम गर्नुहुन्छ। डेटलाइन भनेपछि तीन/चार महिनादेखि फोटोसुट लगायतको तयारी सुरु हुन्छ। त्यहाँ मेरोअनुसार टाइम दिन्छु। तर, कुनै इभेन्ट छ भने उहाँहरुले महिनाअघि नै मलाई डेट दिनुहुन्छ। फिल्म पर्यो भने अगाडि नै भन्छु। उहाँहरुले त्यहीअनुसार मिलाइदिनुहुन्छ।’
फिल्मभन्दा नेपालको एडभरटिजमेन्ट क्षेत्र निकै व्यवसायिक लाग्छ उनलाई। ‘एडभरटिजमेन्ट फिल्ड निकै प्रोफेसनल लाग्यो। फिल्म क्षेत्रमा भने खासै व्यवसायिकता हुँदैन। खाली कन्ट्रोभर्सीलाई मात्रै पुसअप गरिन्छ। तर, एडमा कन्ट्रोभर्सीलाई कटअप गरिन्छ। यहाँ सबै कुरा समयमा गरिन्छ। उहाँहरुले केही कुरामा पनि कम्प्रोमाइज गर्नुहुन्न,’ बिजमाण्डूसँग उनले भनिन्।
ब्रान्डलाई स्थापित गर्न बराबर जिम्मेवारी
कुनै ब्रान्डसँग जोडिदा प्रेसरभन्दा पनि दायित्त्व बोध हुन्छ उनलाई। उपभोक्ताप्रतिको जिम्मेवारी महसुस भएर अहिलेसम्म मदिराको विज्ञापन नगरेको दाबी छ। ‘उपभोक्ताप्रतिको दायित्त्व बुझेर अहिलेसम्म मदिराको एड खेलेको छैन। त्यसरी खेल्दा सायद मेरो ब्रान्डमा पनि त्यसले असर पार्छ होला !’
ब्रान्डलाई स्थापित गर्न कम्पनी र सेलिब्रेटीको बराबर जिम्मेवारी हुने भएकाले दुवैले सचेत हुनुपर्ने उनको तर्क छ। ‘कुनै कम्पनीले मलाई विश्वास गरेर ब्रान्डको फेस बनाउनु भनेको सानो कुरा होइन। उहाँहरुले दुइटा ब्रान्डलाई सँगै ल्याउनु भएको हो। मैले ब्रान्डलाई पुस गर्दा ब्रान्डले पनि मलाई पुस गर्छ। केही तलमाथि हुँदा वा उपभोक्ताबाट नराम्रो रिभ्यु आउँदा त्यसले ब्रान्डसहित एम्बासडरलाई पनि असर पारेको हुन्छ। मैले पनि केही बोल्दा ब्रान्डलाई के असर पार्छ भनेर सचेत हुनुपर्छ।’
एम्बासडर बनेपछि धेरै कुरा सिक्न पाएँ
आफू जोडिएकै कारण उपभोक्ताले सामान किन्दा/सेवा लिँदा निकै खुसी लाग्छ स्वस्तिमालाई। ‘कसैले तपाईंलाई देखेर नै भायनेट जोडेको भन्नुहुन्छ। कसैले पर्ल राइस किने भन्नुहुन्छ। यसरी थोरै चिनिएका तर राम्रा ब्रान्डहरुसँग कन्जुमरहरु कनेक्ट हुँदा खुसी लाग्छ।’ उत्साहित हुँदै भनिन्।
ब्रान्डसँग जोडिएसँगै आफूले ब्राण्डिङ र मार्केटिङबारे बुझ्ने मौका पाएको सुनाउँछिन् उनी। ‘कलाकार भएपछि म आफैँमा एक ब्रान्ड हुँ। म कस्तो छु भनेर देखाउनको लागि मैले कस्तो व्यवहार गर्छु त्यसले नै मेरो ब्रान्ड क्रियट गरिरहेको हुन्छ। मैले कुन हिसाबले आफूलाई मार्केटिङ र ब्राण्डिङ गरेको छु। त्यही हिसाबले नै मलाई अरुले चिन्नुहुन्छ। विभिन्न ब्रान्डसँग काम गर्दा खेरि आफूलाई कसरी ब्रान्ड भनेर स्थापित गर्ने कुरा सिक्न पाएँ।’
कोकाकोलाले विश्वभरि नै आफ्नो ब्रान्डलाई स्थापित गरिसकेको छ। कोकजस्तै अन्य पेय पदार्थहरु बजारमा थुप्रै आएका छन्। तर, कोल्ड ड्रिंक्स् भन्नेबित्तिकै ‘कोक’ को नाम आउँछ। आफूलाई राम्ररी मार्केटिङ र ब्राण्डिङ गर्न सकेकोले कोक शक्तिशाली ब्रान्डको रुपमा स्थापित भएको स्वस्तिमाको बुझाइ छ।

ब्रान्डसँग जोडिएपछि कुनै वस्तु बिक्री गर्न मार्केटिङको ठूलो महत्त्व हुने सुनाउँछिन् उनी। ‘फिल्मक्षेत्रमा मार्केटिङलाई नराम्रो तरिकाले हेरिन्छ। आफूले आफूलाई जबर्जस्ती सेल गर्न खोजेको भनेर सोचिन्छ। तर, मार्केटिङ भनेको फिल्ममेकिङकै पार्ट हो। ब्रान्डलाई सेल कसरी गर्ने भन्ने कुरा मार्केटिङ हो। हामीले केही कुरा पनि बनाइसकेपछि बेच्नलाई मार्केटिङले ठूलो सहयोग गर्छ। ब्रान्ड जोडिएपछि मार्केटिङ रणनीति र योजना कस्तो हुन्छ भन्ने कुरा पनि बुझे।’
पछिल्लो समय धेरै सेलिब्रेटीहरु ब्रान्ड इन्डोर्समेन्ट भूमिका पाउन थालेका छन्। उनीहरु ब्रान्डको प्रचारमूलक कन्टेन्ट बनाएर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्छन्। तर, स्वस्तिमा भने सोसल मिडियाका यस्ता अभियानमा आफू खासै सरिक नहुने बताउँछिन्। कुनै राम्रो नेपाली प्रोडक्स आउँदा भने आफूले सहयोग गरिरहेको उनले सुनाइन्।
