अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित, ‘नेपालमा ५० अर्ब डलरभन्दा बढी लगानी आवश्यक’

बिजमाण्डू
२०८० भदौ ८ गते १३:०९ | Aug 25, 2023
अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित, ‘नेपालमा ५० अर्ब डलरभन्दा बढी लगानी आवश्यक’


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन्। क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन्।

Tata
GBIME

महतलाई उपाध्यक्ष निर्वाचित गर्न गणतन्त्र पानामाले प्रस्ताव तथा नेदरल्याडले समर्थन गरेका थिए। यसअघि मन्त्री महतले विश्व वातावरण कोषको साधारणसभालाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत भाग वनका रुपमा संरक्षण गरेको बताएका थिए। नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्‍न गरिरहेको र त्यसको नतिजास्वरुप बाघ तथा गैंडाको संख्या उल्लेख्यरूपमा बढेको बताए।

मन्त्री महतले सरकारको प्रयासका वाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा रहेको बताएको उनको सचिवालयले जनाएको छ। ‘नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक हो। पछिल्ला दिनमा बाढी पहिरो, अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको छ’, उनले भने।

मन्त्री महतले नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको भन्दै यसबाट हुने असरको सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेकोतर्फ सहभागीहरुको ध्यानाकर्षण गराए।