टाइगर प्यालेस व्यवस्थापन छनोटको अन्तिम चरणमा, क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी

वसन्तराज उप्रेती
२०८० भदौ ८ गते १२:२० | Aug 25, 2023
टाइगर प्यालेस व्यवस्थापन छनोटको अन्तिम चरणमा, क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी


काठमाडौं। भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस सञ्चालनका लागि लगानीकर्ता कम्पनी व्यवस्थापन छनोटको गृहकार्यमा छ। होटलमा लगानी गरेको हिमालयन टाइगर इन्भेष्टमेन्टले व्यवस्थापनको जिम्मा अर्को कम्पनीलाई दिन लागेको हो।

Tata
GBIME

कम्पनी अध्यक्ष बुद्धिसागर सुवेदीले ६० दिनभित्र नयाँ व्यवस्थापनमा सञ्चालन गर्ने गरी गृहकार्य अगाडि बढाइएको बताए। कम्पनीले दीपक लेखक, यादव पाण्डे, विशान्त शाह लगायतको ‘टाइगर फिलोक्सिनिया’लाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेको छ। ‘टाइगर फिलोक्सिनियासँगको सम्झौता अन्तिम चरणमा छ। केही दिनभित्रै सम्झौताको टुंगो लाग्छ,’ अध्यक्ष सुवेदीले भने।

होटल व्यवस्थापनमा टाइगर फिलोक्सिनिया नयाँ कम्पनी हो। तर, यसका लगानीकर्ताहरु भने होटल व्यवस्थापनमा अनुभवी छन्। लेखक, पाण्डे र शाह तीनै जना लामो समय सोल्टी होटलमा काम गरेकाहरु हुन्।

टाइगर प्यालेस २ साताअघि गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदी लगायत आबद्ध हिमालयन टाइगर इन्भेष्टमेन्टले पाँच अर्ब रुपैयाँमा किनेको घोषणा गरेको थियो। अमेरिकाको डेलावेयरमा दर्ता त्यो कम्पनीले अमेरिकामा हायात, होलिडे इनलगायत चेन होटल चलाउँदै आएको छ।

टाइगर प्यालेस यसअघि अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको स्वामित्वमा थियो। १०५ कोठाको होटल अहिले पनि सञ्चालनमै छ। ‘अहिले २० प्रतिशत अकुपेन्सी छ’, सुवेदीले भने। होटलमा ७८ कर्मचारी छन्। ती कर्मचारीलाई यथावत राखेर व्यवस्थापन कम्पनीको टुंगो लागेपछि कर्मचारी थप्ने योजना छ।

हिमालयन टाइगर इन्भेष्टमेन्टले अहिले होटलले तिर्न बाँकी रकमको भुक्तानी गरिरहेको छ। उसले नयाँ व्यवस्थान छनोटका साथै क्यासिनो सञ्चालनका लागि पनि गृहकार्य अगाडि बढाएको छ।

क्यासिनो सञ्चालनका लागि पर्यटन मन्त्रालय र विभागमा पत्राचार गरिसकेको सुवेदीले जानकारी दिए। ‘हामीले क्यासिनोसहित होटल संचालनका लागि मन्त्रालय र विभागमा पत्राचार गरिसकेका छौँ। सरकारलाई तिर्नु पर्ने बक्यौताको हिसाब मागेका छौं’, अध्यक्ष सुवेदीले भने।

टाइगर प्यालेसको क्यासिनोले आर्थिक वर्ष २०७७/७८ देखि रोयल्टी तिरेको छैन। ‘हामीले सुरुमा क्यासिनो सञ्चालनलाई प्राथमिकतामा राखेका छौँ। यसका लागि पर्यटन विभागसँग बाँकी रोयल्टीको हिसाब मागेका छौँ। विभागलाई सबै रोयल्टी बुझाएर क्यासिनो सञ्चालनमा ल्याउने तयारी छ’, सुवेदीले भने।  

क्यासिनो संचालनका लागि भारतको गोवास्थित बालाजी र बिग ड्याडीका साथै बंगलादेशको एक कम्पनीले चासो देखाएका छन्। तीनमध्ये एउटा कम्पनीसँग साझेदारी गर्ने हिमालयन टाइगर इन्भेष्टमेन्टको तयारी छ। उसले साझेदारीका लागि आफ्नो अलग्गै कम्पनी खडा गर्न लागेको छ।    

कति छ क्यासिनोको रोयल्टी बक्यौता?

क्यासिनोले सरकारलाई वर्षैपिच्छे रोयल्टी तिर्नुपर्छ। तर टाइगर प्यालेसको क्यासिनोले तिर्न बाँकी रोयल्टी कति हो भन्ने हिसाब पर्यटन विभागसँग पनि छैन। विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बक्यौताको हिसाब निकाल्न बाँकी रहेको बताए। ‘हिसाब गर्न बाँकी छ। यसमा अर्थको पनि राय लिनुपर्छ। कोभिडको समयको छुट पाउने/नपाउने विषयमा छलफल हुन बाँकी नै छ’, लुइँटेलले भने।

क्यासिनोले रोयल्टी नबुझाएपछि विभागले आर्थिक वर्ष २०७८/७९ मा १५ करोड ४० लाख रुपैयाँ बैंक ग्यारेन्टी लिएको थियो।’हामीले त्यतिखेर बैंक ग्यारेन्टी लिएका थियौँ। तर अदालतले बैंक ग्यारेन्टी खिच्न दिएको थिएन। क्यासिनो कोभिड यता बन्द छ’, उनले भने।