
काठमाडौं । आज नेपाली सिनेमाहलमा दुई नेपाली फिल्मसहित चार विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘जय हो’ , ‘महानगर’ रिलिज भएका छन्।
आजैबाट बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र अकेली प्रदर्शन हुँदा हलिउड फिल्महरु ‘ग्रयान टुरिज्मो’ र ‘रेट्रीब्यूसन’ पनि हलमा प्रदर्शन भएका छन्।
एकैदिन आधा दर्जन नयाँ फिल्म रिलिज भएसँगै शोहरु बाँडिएको छ। आज रिलिज भएका फिल्महरु भन्दा सन्नी देवलकै गदर २ मा ‘अकुपेन्सी’ उच्च छ। साथै हलमा गदरसहित ‘जेलर’ र ‘ओ माइ गड २’ पनि प्रदर्शनरत छन्।
टेक पौरखी राई निर्देशित ‘जय हो’ मा केकी अधिकारी र सलोन बस्नेत मूख्य भूमिकामा छन्। शोभित बस्नेतको प्रस्तुति रहेको फिल्मा सुरेश न्यौपानेको कथा लेखन रहेको छ।अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ लगायतको पनि फिल्ममा अभिनय छ।
कार्म र मेनुका प्रधान अभिनित महानगर (वान नाइट इन काठमाडौं) पनि रिलिज भएको छ। मोहन राई निर्देशित यो फिल्म कोलकत्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वर्ल्ड प्रिमियर भएको थियो। साथै फिल्मले राष्ट्रियसहित अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ।
आयुष्मान खुराना र अनन्या पाण्डेको भूमिका रहेको कमेडी जनराको फिल्म ‘ड्रीम गर्ल’ पनि हलमा लागेको छ। यो फिल्म सन् २०१९ मा रिलिज भएको ड्रीम गर्लको सिक्वेल हो।
बलिउड फिल्म ‘अकेली’ मा नुसरत भरुचाको मूख्य भूमिका छ। युद्धमा फसेपछि एक युवतीले गर्नुपरेको संघर्षको कथा यस फिल्मले भन्छ। नुरसतका साथै त्साही हलेवी र आमिर बोट्रासको अभिनय छ फिल्ममा।
डेभिड हार्बर र ओर्लान्डो ब्लूम स्टारर हलिउड फिल्म ‘ग्रयान टुरिज्मो’ एक सत्य कथामा आधारित छ। निमरोद अन्तल निर्देशित ‘रेट्रीब्युसन’ मा लियाम निसन, नोमा डुमेज्वेनी, मैथ्यु मोडिनको अभिनय छ।