
हेटौंडा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा ६ भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। जसमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीय सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीय श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बैजन्ती देवी, ६५ वर्षीय मिरा देबी र महोत्तरीको लोहारपटी- ५ का ४१ वर्षीय विजयलाल पण्डित रहेका छन्।
उक्त बसमा चालकसहित २७ यात्रु सवार थिए। तीमध्ये १९ जना घाइते भएका छन्।
घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक भने फरार रहेका छन्।
प्रहरीले बस चालकको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।