सुन प्रकरणमा सीआईबीको अनुसन्धान सुस्त, नेतादेखि प्रहरीसम्म जोडिएको कनेक्सन खोज्दै प्रहरी

सविन ढकाल
२०८० भदौ ६ गते १७:२६ | Aug 23, 2023
सुन प्रकरणमा सीआईबीको अनुसन्धान सुस्त, नेतादेखि प्रहरीसम्म जोडिएको कनेक्सन खोज्दै प्रहरी


काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्न थालेको १५ दिन पूरा भएको छ। तर प्रहरीको हातमा फाइल पुगेपछि तस्करीमा जोडिएका हाई प्रोफाइल व्यक्ति समातिन थाल्छन् भन्ने अपेक्षा अनुसार काम भएको देखिएको छैन।

Tata
GBIME

राजस्व अनुसन्धान विभागले पक्राउ गरेर बुझाएका बाहेक सीआईबीले थप पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर घटनामा जोडिएका ठूला भनिएका व्यक्ति समातिएका छैनन्।

सीआईबीले अर्को हाई प्रोफाइल केस ललिता निवास प्रकरणको अनुसन्धान गरी चार पूर्वमन्त्रीसहित २३८ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको छ। सीआईबीको नेतृत्व ललिता निवास प्रकरणमा केन्द्रीत हुँदा सुन प्रकरणको अनुसन्धान केही ओझेलमा परेको देखिन्छ। ‘एक दुई दिन त सुनको कुरा सुन्ने पनि फुर्सद छैन। हाम्रो टिमले सूक्ष्म अनुसन्धान गरिरहेको छ,’ सीआईबी स्रोतले भन्यो।

साउन २ गते हङकङबाट ‘ब्रेक शु’ भित्र सुन आएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन राजस्वको टोली बरामद गर्न सफल भएको थियो। राजस्वको अनुसन्धानमा सुन प्रकरणमा देशका ठूला व्यापारी, पूर्वप्रहरीदेखि कर्मचारीको समेत संलग्नता देखिएको थियो। तर अहिलेसम्म थप प्रमाणका साथ प्रहरीले ती संदिग्ध कसैलाई पक्राउ गर्न सकेको छैन।

सुन प्रकरणमा समातिएका दावा छिरिङको सम्बन्ध माओवादी केन्द्रका नेता, पूर्वप्रहरी र कर्मचारीसम्म देखिएको छ। तर अनुसन्धान टोलीले त्यो सम्बन्ध सुन तस्करीका लागि हो वा अरु नै प्रयोजनका लागि भन्ने प्रमाण जुटाउन सकेको छैन। अनुसन्धान अगाडि बढाउन सीआईबीलाई सहज भने भएको छ।

निष्पक्ष छानबिनका लागि अलग्गै संयन्त्रको माग राखेर सदन अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले सीआईबीबाट नै अनुसन्धान गरेर अभियोजन गराउन सहमत भएको छ। बुधबार भएको सहमति अनुसार अब सीआईबीले अनुसन्धान पूरा गरेपछि मात्र एमालेले भने अनुसारको आयोग गठन हुनेछ।

एमालेको माग अनुसारको आयोग अहिले नै गठन भएको भए सीआईबीको अनुसन्धान प्रभावित हुन सक्थ्यो। घटनाको ब्रिफिङ आयोगलाई गर्नुपर्नेले काममा ढिलासुस्ती हुने र सूचना समेत बाहिरिने जोखिम थियो। बुधबारको सहमति अनुसार सीआईबीले अब ढुक्कसाथ अनुसन्धान गर्न पाउनेछ।

सरकारले गठन गर्ने आयोगले ६१ किलो सुन तस्करीका साथै भेप (इलेक्ट्रिक चुरोट)भित्र लुकाएर ल्याइएको घटनाबारे पनि छानबिन गर्नेछ। गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए।

भन्सारले जफत गरेको भेपभित्रको सुन गोदामबाट ९ दिन लगाएर झिकिएपछि भन्सार एजेन्ट दीपेश बस्नेत र गोपाल सुवेदीको सहयोगमा न्युरोडमा प्रकाश अग्रवाल, साहेव राव लगायत व्यापारीलाई बिक्री गरिएको थियो। ६ करोड २१ लाख मूल्यको सुन २१ लाख छुट दिएर बेचिएको थियो।

यो प्रकरणमा भन्सार कार्यालयका नायव सुब्बासहित पाँच जना जिल्ला अदालतको आदेशमा अहिले पुर्पक्षका लागि कारागारमा छन्। सुवेदी, बस्नेत र रामकेशव थापा फरार छन्।

घटनामा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि जोडिएका थिए। तर प्रहरीले उनीहरूलाई कारबाही गर्न राय दिएको थिएन। यस घटनाको अनुसन्धान पनि सीआईबीले नै गरेको थियो। दुवै घटनामा चिनियाँ नागरिकको संलग्नता, सुन ल्याउने शैली र अन्य पाटोको कनेक्सन देखिएपछि सीआईबीले अहिले दुवै प्रकरणलाई जोडेर अनुसन्धान गरिरहेको छ।

‘त्यतिखेर सुन चोरीको मात्र अनुसन्धान भएको हो। सुन तस्करी भएको भए महरा बाउछोरा माथि अनुसन्धान हुन्थ्यो होला। अहिलेको अनुसन्धानमा दुवै घटनालाई जोडेर हेरिरहेका छौं,’ सीआईबी स्रोतले भन्यो।

महरा बाबुछोराको सम्बन्ध भेपभित्रको सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग रहेको देखिएको छ। उनीहरूले भेपको लिलामीदेखि अन्य घटनाको जानकारी लिन भन्सारका कर्मचारीलाई समेत फोन सम्पर्क गरेका थिए।

६१ किलो सुन प्रकरणमा अहिलेसम्म चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ माथिल्लो लेयरका व्यक्ति देखिएका छन्। उनीमाथिको अनुसन्धानले अर्को लेयरमा पुग्न सक्ने प्रहरीको अनुमान छ। लामो समयदेखि नेपाल बस्दै आएका दावाको तस्करीमा कनेक्सन देखिएपनि उनी राजनीतिक व्यक्तिको छत्रछायामा सुरक्षित थिए।

दावा ठमेलको भियना होटलका सञ्चालक पनि हुन्। होटल उनकी पत्नी अमला रोक्काको नाममा छ। रोक्का रोल्पाकी हुन्। दावाले पत्‍नीमार्फत नेतादेखि प्रहरीसँग सम्बन्ध बनाएका हुन्। अमलाको माओवादी नेता वर्षमान पुन र उनकी पत्‍नी पूर्सभामुख ओनसरी घर्तीलगायतसँग सम्पर्क रहेको देखिन्छ। सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा दावासँग पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा पनि देखिन्छन्।

वर्षमानले फोटो पारिवारिक भेटको भएको निकटस्थसँग बताएका छन्। दावाकी पत्‍नी पार्टीको सहयोद्धा रहेकोले पारिवारिक भेटमा तस्बिर खिचिएको पुनको दाबी छ।

दावाले कर्मचारीदेखि पूर्वप्रहरीसँग पनि सम्पर्क बढाएका थिए। दावा र प्रहरीबिच आर्थिक लेनदेन समेत हुने गरेको खुलिसकेको छ। तर त्यो सम्बन्ध र लेनदेन सुन तस्करीका लागि हो वा अरु नै भन्ने खुलेको छैन। दावा माथिल्लो कनेक्सन पत्ता लाग्ने व्यक्तिका रुपमा देखिएका छन्। तर त्यसमा सीआईबी कति सफल हुन्छ?