थाइल्यान्डको अर्थव्यवस्था सुधारेका बिलिनियर थाक्सिन, जेल बस्नै १५ वर्षपछि स्वदेश फर्किएका हुन्?



बिजमाण्डू
२०८० भदौ ५ गते २१:४४ | Aug 22, 2023
थाइल्यान्डको अर्थव्यवस्था सुधारेका बिलिनियर थाक्सिन, जेल बस्नै १५ वर्षपछि स्वदेश फर्किएका हुन्?
Photo : AFP

मंगलबार बिहान स्थानीय समय अनुसार बिहान ९ बजे, थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि स्वदेश फर्किए। १५ वर्ष निर्वासनमा रहेका उनी निजी विमानबाट मंगलबार बिहान बैंककस्थित डन मुएङ विमानस्थल ओर्लिए।

Tata
GBIME
Zonsen

विमानस्थल परिसरबाट केही बेर थाक्सिन बाहिर निस्किए र त्यहाँ राखिएको राजा महा बजिरालङकर्नको तस्विरमा फूल चढाए। घुँडा र टाउको निहुर्‍याएर उनले राजालाई सम्मान प्रकट गरे। त्यसपछि हात हल्लाउँदै उपस्थित समर्थकमाझ केहीबेर हाँस्दै बसे। अनि फेरि विमानस्थलभित्र प्रवेश गरे।

त्यसपछि थाक्सिनलाई सर्वोच्च अदालत लगियो। त्यहाँ उनीमाथि शक्तिको दुरुपयोग र भ्रष्टाचारको अभियोग लगाइयो। बहसपछि सर्वोच्चले उनलाई जेल पठायो। थाइल्यान्डको सर्वोच्च अदालतले थाक्सिन ८ वर्ष जेलमा रहने जनाएको छ।

सन् २००१ मा प्रधानमन्त्री बनेका उनी सन् २००६ सम्म देशको कार्यकारी पदमा थिए। उनी अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन पुग्दा थाइ सेनाले ‘कू’ गरेको थियो। ‘कू’ पछि स्वदेश फर्किएका उनीविरुद्ध त्यही बेला नै शक्तिको दुरुपयोग गरेको, राजसंस्थाको अपमान गरेको र भ्रष्टाचारको अभियोग लगाइएको थियो। आफूविरुद्ध लगाइएका सबै अभियोगलाई ‘राजनीति प्रेरित’ भने। पक्राउ पर्ने सम्भावना उच्च हुँदा उनी सन् २००८ मा थाइल्यान्डबाट निर्वासनमा हिँडे।

Photo : AFP

यही वर्ष भएको थाइल्यान्डको आम निर्वाचनपछि अहिले त्यहाँ राजनीतिक गतिरोध कायमै छ। त्यही समयमा आज १५ वर्षपछि स्वदेश फर्किएर जेल चलान भएका हुन् थाक्सिन। तर धेरैले यसलाई संयोगमात्रै मानेका छैनन्।

के थाक्सिन जेलमै बस्न फर्किएका हुन्?

१५ वर्षसम्म निर्वासनमा रहेका थाक्सिनलाई स्वदेश फर्किहाल्नुपर्ने कुनै बाध्यता थिएन। उनलाई थाइल्यान्डकै ‘बिलिनियर बिजनेसम्यान’ का रुपमा लिइन्छ। उनी म्यानचेस्टर युनाइटेडका पूर्व मालिकसमेत हुन्।  

तर देशमा जुन्ता सरकार र राजनीतिक दलबिच खिचातानी बढिरहेको बेला उनको स्वदेश फिर्तीलाई महत्वका साथ हेरिएको छ। थाक्सिन फर्किएकै दिन थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्‍यो। आज थाक्सिन समर्थित फिउ थाइ पार्टीकाह श्रेथा थाभिसिन थाइल्यान्डका नयाँ प्रधानमन्त्री चयन भए। र, ३ महिनादेखि हुन नसकेको प्रधानमन्त्री चयन प्रक्रिया टुंगियो। रियल स्टेट बादशाह कहलिने श्रेथा र थाक्सिन पुराना साथी हुन्।

श्रेथा थाभिसिन Photo : AP

थाक्सिनको स्वदेश फिर्ती यही नयाँ सरकारसँग सम्बन्धित छ। तीन महिनाअघि भएको निर्वाचनमा मुभ फर्वार्ड पार्टी त्यहाँको ठूलो दल बनेको थियो। र, सो पार्टीका नेता पिता लिमजारोएनराटलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर, सैन्य सरकारले पिता नेतृत्वको गठबन्धनलाई सरकार बनाउन साथ दिएन। त्यसपछि सरकार बनाउने दाउ टाक्यो थाक्सिन समर्थित पपुलिस्ट पार्टीले।

सोमबारमात्रै फिउ थाइले संसदमा बहुमत ल्याउन त्यहाँको सेना समर्थित पार्टीसँग ‘डिल’ गरेको थियो। थाक्सिनको थाइल्यान्ड फिर्ती त्यही ‘डिल’कै उपज हो। थाक्सिनले आउने केही दिनमा नै राजसंस्थासँग क्षमादान माग्न सक्ने पनि अनुमान गरिएको छ। थाक्सिन समर्थित पार्टी नै सत्ताको नेतृत्वमा हुने भएपछि उनी चाँडै रिहा हुने विश्वास छ। यसको अर्थ उनको जेल यात्रा केही दिनको लागि मात्रै हो।

अबको सरकारमा सबैभन्दा ठूलो पार्टी मुभ फर्वार्ड पार्टी भने सहभागी हुनेछैन। मुभ फर्वार्ड पार्टीका नेता पिताले राजसंस्था र सैनिक संरचना कै बदल्ने बताउँदै आएका थिए।

को हुन् थाक्सिन सिनावात्रा?

थाक्सिन टेलिकम्युनिकेसन बिलिनियर हुन्। प्रधानमन्त्री भएपछि उनले थाइल्यान्डको अर्थव्यवस्था सुधारका लागि गरेका प्रयास चर्चित छन्।

उनले त्यहाँको स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउन भूमिका खेलेका थिए भने प्रधानमन्त्री हुँदा गरिब र किसानको जीवनस्तर सुधार्न ऋण माफ गर्ने लगायतका कार्यक्रम ल्याएका थिए। उनले इन्धनको मूल्य घटाउँदै ग्रामीण भेगमा शिक्षा र स्वास्थ्यको जगसमेत बसालेका थिए। प्रधानमन्त्री रहँदा उनले अर्बौंको लगानी भौतिक विकासमा लगाएका थिए। अहिले थाइल्यान्डका मुख्य राजमार्ग, विमानस्थल त्यसैको प्रतिफल हो। उनले ग्रामीण उद्योग निर्माणमा समेत भूमिका खेलेका थिए।

Photo : Reuters

थाक्सिनको अर्थव्यवस्था सुधार्न गरेको प्रयासलाई ‘थाक्सिनोमिक्स’ भनिन्छ। उनले थाइल्यान्डलाई बिग्रिएको अर्थतन्त्रबाट सुधारको बाटोमा ल्याएका थिए। थाक्सिनको अर्थव्यवस्थाको नीतिलाई केही एसियाली देशहरुले समेत पछ्‍याएका थिए।

तर उनलाई थाइल्यान्डकै अन्य धनाढ्य र पुरातनवादी नेताहरुले ‘पपुलिस्ट’को संज्ञा दिए। र, थाइल्यान्डको संस्थापनविरुद्ध ‘थ्रेट’ बनेको आरोप लगाए। उनले गरेका परिवर्तनका कार्यहरुलाई राजसंस्थाविरुद्धको कदम भनियो। अनि उनलाई सेनाको नेतृत्वमा अपदस्त गरियो।

हुनत: थाइल्यान्डमा ‘कू’ कुनै नौलो विषय होइन। सन् १९३२ यता थाइल्यान्डमा दर्जनौंपटक सफल ‘कू’ भइसकेको छ। पछि निर्वाचन भए पनि फेरि सेनाले कुनै न कुनै रुपमा सत्तामा रहिरहने बाटो खोजिरहन्छ।

सन् २००८ मा निर्वासनमा हिँडे पनि थाइल्यान्डको राजनीतिमा थाक्सिनको प्रभाव कायमै रह्यो। सन् २००१ यता भएका सबै निर्वाचनमा थाक्सिनको समर्थन रहेको पार्टीले धेरै सिट जित्दै आएको छ। तर, सेनाको प्रभावका कारण त्यो जितले उनलाई अहिलेसम्म फाइदा गरेको थिएन।

सन् २०११ मा थाक्सिनकी बहिनी यिङलक थाइल्यान्डकी प्रधानमन्त्री बनिन्। तर शक्तिको दुरुपयोग गरेको भन्दै सन् २०१४ मा त्यहाँको संवैधानिक अदालतले उनलाई अपदस्त गर्‍यो।

त्यसपछि सन् २०१४ मा पूर्व सेना प्रमुख प्रयुथ चन ओचाले सरकारको नेतृत्व गरे। त्यसपछि यिङलक पनि निर्वासनमा हिँडिन्। गएको निर्वाचनमा प्रयुथको पार्टी युनाइटेड थाइ नेश्न पार्टीले २३ क्षेत्रमा जित र १३ पार्टी लिस्ट सिट जित्दै पाँचौ दल बन्यो। र प्रयुथले आफू फेरि प्रधानमन्त्री नबन्ने र पुन: निर्वाचन पनि नगराउने बताए। तर पहिलो दल मुभ फर्वार्डलाई भने सरकार बनाउन उनले दिएनन्।

थाक्सिनले गएको निर्वाचनमा आफ्नी छोरी पेतङतरन सिनावात्रालाई चुनावी मैदानमा उतारे। मुभ फर्वार्ड पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै ३९ ‘पार्टी लिस्ट’ सिट जित्दा पेतङतरन नेतृत्वको पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै २९ पार्टी लिस्ट सिट जित्यो र थाइल्यान्डको दोस्रो दल बन्यो।

छोरीको जित र मुभ फर्वाड पार्टीलाई सरकार बनाउन रोकेसँगै थाक्सिन स्वदेश फर्किएका हुन्। तर पटक पटक सेनाबाट धोका पाएको थाक्सिन जसरी ‘डिल’ गरेर स्वदेश फर्किएका छन्, त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

फिउ थाइ पार्टीले पनि थाइल्यान्डमा धेरै संरचनात्मक परिवर्तनको वाचा गरेको छ। सम्भवतः थाक्सिन छिट्टै जेलबाहिर निस्किनेछन्। त्यसैले धेरैले उनको स्वदेश फिर्तीलाई सकारात्मक रुपमा लिँदै केहीले भने राजनीतिक खिचातानी थप बढ्ने प्रक्षेपण गरिरहेका छन्।