
काठमाडौं। साताको पहिलो र दोस्रो दिन स्थिर सुनको कारोबार मूल्य मंगलबार बढेको छ। सुन तोलामा २ सय र चाँदी २५ रुपैयाँ बढेको हो।
सुन प्रतितोला १ लाख १० हजार ५ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबारका तुलनामा एक सय रुपैयाँको बढोत्तरीपछि आइतबार प्रतितोला १ लाख १० हजार ३ सय भएको थियो। सोमबार सोही मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।
चाँदीको मूल्य भने ५ दिनपछि बढेको हो। मंगलबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ। यसअघि गत शुक्रबार कायम तोलाको १३ सय ९० रुपैयाँमा स्थिर रहेर सोमबारसम्म कारोबार भएको थियो। यसअघि बिहीबारका तुलनामा तोलामा २० रुपैयाँ बढोत्तरीपछि शुक्रबारको मूल्य निर्धारण भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस १८८९.५२ डलरले कारोबार भएको सुनको मूल्यमा मंगलबार बढोत्तरी छैन। चाँदी सोमबार प्रतिऔंस २२.७५ डलरले कारोबार भएकोमा मंगलबार बढेर २३.३३ डलर पुगेको छ। गत शुक्रबार प्रतिऔंस २२.८२ डलर थियो।