ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, २०० भन्दा बढीलाई मुद्दा चलाउन सिफारिस

बिजमाण्डू
२०८० भदौ ५ गते १२:२२ | Aug 22, 2023
ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, २०० भन्दा बढीलाई मुद्दा चलाउन सिफारिस


काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा २०० जनाभन्दा बढीलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ।

Tata
GBIME

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह तथा पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल र नारायणगोपाल मलेगोसहितलाई प्रतिवादी बनाउन सिफारिस गरी सीआईबीले प्रतिवेदन बुझाएको हो। भुसाल राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार हुन्।

प्रतिवेदनमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङलाई जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखिएको छ । यी तीनजनाको योजनामा ललिता निवासको जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ। हिनामिना गर्न सघाएबापत २२ रोपनी जग्गा परिवारका नाममा घूस लिने सुधीर शाहसहितका पूर्वकर्मचारीलाई पनि मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ।

२०४९ देखि २०७० सम्म पाँच पटकमा ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ। सीआईबीले किर्ते र संगठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको हो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यो मुद्दा विचाराधीन छ।