आयल निगमले थाल्यो वीरगंजबाट डिजेलको बिलिङ, अमलेखगन्जभन्दा लिटरमा ७५ पैसा सस्तो पर्ने



बिजमाण्डू
२०८० भदौ ३ गते ०८:५२ | Aug 20, 2023
आयल निगमले थाल्यो वीरगंजबाट डिजेलको बिलिङ, अमलेखगन्जभन्दा लिटरमा ७५ पैसा सस्तो पर्ने

वीरगंज। नेपाल आयल निगम लिमिटेडले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण पुनः सुरु गरेको छ। यसले वीरगंज र आसपास क्षेत्रका पेट्रोलियम व्यवसायीलाई डिजल खरिद कारोबारका लागि अमलेखगन्ज पुग्नैपर्ने बाध्यता हटेको छ। यसबाट उपभोक्ता मूल्य पनि सस्तिने भएको छ।

Tata
GBIME
Zonsen

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शनिबार एक कार्यक्रमका बीच बिलिङ सेवा शुभारम्भ गरेका हुन्। सेवा पुनः सुरु भएकोमा उनले खुसी व्यक्त गरे। यसले वीरगंज र आसपासका पेट्रोलियम पदार्थ बिक्रेतालाई सेवा लिन सहज भएको उनले बताए। निगमको वीरगंज शाखाबाट उक्त सेवा २ वर्ष अघि बन्द गरिएको थियो।

निगमको बिलिङ सेवाअन्तर्गत अहिलेलाई डिलरहरुले वीरगंजबाट डिजेल र मट्टितेल लगायतको खरिद गर्न सक्छन्। यसअघि पर्सा–बाराका पेट्रोलियम व्यवसायीले बाराको अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थको खरिदको लागि बिलिङ गर्नुपर्ने बाध्यता थियो।

२०७७ माघ दोस्रो सातादेखि अमलेखगंजमा बिलिङ गर्नुपर्ने व्यवस्था लागु भएपछि यस भेगका व्यवसायीहरु मर्कामा परेको वीरगंज पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विनोद चौरसियाले बताए। अब डिजेल र पेट्रोल पर्सा–बारामा पहिलेको भन्दा ७५ पैसा सस्तोमा उपभोक्ताले पाउने उनले बताए।  

कांग्रेसका पर्सा जिल्ला सभापति तथा मधेश प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले आयल निगमले वीरगंज शाखाबाट बिलिङ पुनः थाल्ने निर्णय उचित भएको बताए। यसबाट व्यवसायीले छिटोछरितो सुविधा लिन सक्ने उनको भनाइ थियो।

कार्यक्रममा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, निगमका महाप्रबन्धक उमेश थानी, उपमहाप्रबन्धकद्वय वीरेन्द्र गोइत र नागेन्द्र साह, अमलेखगंज डिपो प्रमुख विनितमणी उपाध्याय, वीरगंज शाखा प्रमुख मनोज साह, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दास, पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्व अर्याल लगायतको उपस्थिति थियो ।