
काठमाडौं। सन् २०२० को मार्चमा धेरै अमेरिकी रेस्टुरेन्टले आफ्ना ढोका बन्द गर्नुपर्यो। कोभिडका कारण स्थानीय प्रतिबन्ध मान्नुको विकल्प थिएन, रेस्टुरेन्ट व्यवसाय नराम्ररी प्रभावित बन्न पुग्यो। त्यही रेस्टुरेन्ट व्यवसाय तीन वर्षपछि बाउन्स ब्याक भएको छ. केही परिवर्तनसहित।
रेस्टुरेन्टको खानामा निर्भर मानिसले पनि महामारीको प्रारम्भिक दिनमा घरमै खाने बानी पारे। कोभिडपछि उनीहरुलाई घरमा सीमित हुनु परेन। उनीहरुको सेवाका लागि रेस्टुरेन्ट तयार भए। तर रेस्टुरेन्ट व्यवसायमा परिवर्तन आयो। कोभिड अगाडि जसरी रेस्टुरेन्टमा बसेर खाने चलन थियो, त्यो अहिले घटेको छ। धेरैजसो अहिले ड्राइभ-थ्रु, पिकअप विन्डो वा डेलिभरीमार्फत खाना लिन रुचाउँछन्।
कोभिडपछि कतिपय रेस्टुरेन्ट सञ्चालनमा आएनन्। सञ्चालनमा आएका रेस्टुरेन्टमा पनि धेरै कामदार फर्किएनन्। त्यसैले रेस्टुरेन्टले ग्राहकलाई खाना लिएर जान प्रोत्साहित गरे।
कोभिडअघि म्यानहट्टनमा एस्थर चोईको कोरियन रेस्टुरेन्ट मोकबरमा २० काउन्टर सिट थिए। अहिले एउटै काउन्टर सिट छैनन्। ‘महामारीपछि मैले सर्भिस फास्ट गर्ने निर्णय लिएँ,’ चोईले भनिन्, ‘त्यो निर्णयले बिक्री बढेको छ।’
मोकबरले अहिले ग्राहकले घरमा तताउन सक्ने खाना मात्र बिक्री गर्छ। साथै यसले खाना किटहरू र किम्ची राष्ट्रियरूपमा वितरण गर्दछ।

‘गुणस्तरीय खाना खान रेस्टुरेन्टमा गइरहनु पर्दैन। महामारीले उपभोक्तालाई खाना रेस्टुरेन्टमा अर्डर गरी घरमै खान सिकाएको छ,’ खाद्य उद्योगमा केन्द्रित अनुसन्धान र परामर्श फर्म टेक्नोमिकका प्रिन्सिपल जो पावलकले भने।
रेस्टुरेन्टले भोजन कक्ष बाहिरै फस्टाउन सक्छ भन्ने बुझिसकेका छन्। न्युयोर्कका लेभेन बेकरी र कार्बोन, हाइ इन्डको इटालियन रेस्टुरेन्ट कोभिड कम भएपछि प्याकेजिङ गरिएका खाना चलेपछि अहिले त्यसैमा केन्द्रित भएका छन्। ती रेस्टुरेन्टले प्याकेजिङ गरिएका खाना आफ्नो हस्ताक्षरमा अनलाइन र स्टोरमार्फत बेच्न थालेका छन्।
यस्तै चेन रेस्टुरेन्टले नयाँ साना ढाँचा परीक्षण गरिरहेका छन्। खानाका लागि सिट आवश्यक नपर्ने र डेलिभरी गरे पुग्ने गरी अर्डरका लागि डिजाइन गरिएको छ।
म्याकडोनाल्डले हालसालै कोसएमसी भनिने नयाँ अवधारणा ल्याएको छ। जसमा डेलिभरीलाई प्राथमिकतामा राखिएको छ। धेरै फास्ट फुड चेनले ड्राइभ-थ्रसको प्रयोग गर्दै छन् जसमा किचेन ठूला छन् तर डाइनिङ स्पेस छैनन्।

कोभिडका कारण ग्राहकका लागि ढोका बन्द गर्नु परेपछि धेरै रेस्टुरेन्टले द्रुतरूपमा डेलिभरी सेवा थाले। अहिले डेलिभरी प्रदायकहरू जस्तै डोरड्यास, उबेर इट्स लगायतको माग अकासिएको छ। उनीहरुले आफ्नो शुल्क बढाउन थालेका छन्।यसले खानाको मूल्य भने बढ्न पुगेको छ। रेस्टुरेन्टहरुले लागत बढेको भन्दै खानाको मूल्य बढाएका हुन्।

हराए कामदार
महामारीको प्रारम्भमा धेरै रेस्टुरेन्टले कामदार हटाए। छोडेर गएका धेरैजसो फर्किएनन्। अन्य कामतिर लागे। त्यही कारण कतिपय रेस्टुरेन्ट कामदार नपाएकाले अझै बन्द छन्। सञ्चालनमा रहेका रेस्टुरेन्टले पनि कामदारको अभाव झेलिरहेका छन्।
नेसनल रेस्टुरेन्ट एसोसिएसनले रेस्टुरेन्टमा अहिले रोजगारी २०२० मा भन्दा तल रहेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। कामदार आकर्षित गर्न केही चेन रेस्टुरेन्टले तलब बढाएका छन्। केही रेस्टुरेन्ट सञ्चालकले कामदारलाई थप लाभ दिने गरी व्यापार मोडलमा हेरफेर गरेका गरेका छन्।
