भूउपयोग नियमावली राजपत्रमा प्रकाशित, प्लानिङ पर्मिट भए अब साढे २ आनामै जग्गा कित्ताकाट



बिजमाण्डू
२०८० साउन ३२ गते २२:१० | Aug 17, 2023
भूउपयोग नियमावली राजपत्रमा प्रकाशित, प्लानिङ पर्मिट भए  अब साढे २ आनामै जग्गा कित्ताकाट

काठमाडौं। कित्ताकाट खुला गर्ने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशन भएको छ। न्यूनतम ८० वर्गमिटर (दुई आना) सम्म जग्गाको कित्ताकाट गर्न मिल्नेगरी सरकारले भूउपयोग नियमावली संशोधन गरेको थियो। सरकारको निर्णय अनुसार बिहीबार राजपत्रमा नियमावली प्रकाशन भएको हो।

Tata
GBIME
Zonsen

नियमावलीले कित्ताकाटमा केही शर्त तोकेको छ।

जसमा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको सडक वा बाटोको मापदण्ड बमोजिम सडक वा बाटोमा पर्ने जग्गाको कित्ताकाट हुने छ। यस्तै, जग्गा विकास आयोजनासहित नक्सा स्वीकृत गराइ विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रमा पनि कित्ताकाट खुलाइएको छ।

यसरी गरिएका कित्ताकाटमा नयाँ कित्तालाई प्लट मिलान तथा एकीकरण गरिने पनि नियमावलीमा उल्लेख छ।

यसअघि आवासीय क्षेत्रमा वर्गीकरण गरिएका जग्गालाई न्यूनतम ४ आना १ दाम ९१३० वर्गमिटर० भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न रोक लगाइएको थियो। नयाँ व्यवस्था अनुसार अब प्लानिङ पर्मिट लिएकाहरुलाई घडेरी तथा जग्गा साढे २ आना क्षेत्रफलमै कित्ताकाट गर्न पाइने छ।

प्लानिङ पर्मिट नलिइ व्यक्तिगत तहमा हुने गरेका कित्ताकाटमा भने न्यूनतम ४ आना १ दामकै प्रावधान यथावत छ।
यस्तै, विकास आयोजनाले जग्गा जतिसुकै पनि टुक्र्याउन पाउने भएका छन्। विकास निर्माणको काम अघि बढाउँदा कसैको जग्गाबाट १ आना, २ आना वा त्योभन्दा कम क्षेत्रफल लिनुपर्ने अवस्थालाई सरलीकृत गर्न सरकारले जति पनि कित्ताकाट गर्न दिने गरी भू उपयोग नियमावली संशोधन गरेको हो।

अंशबण्डा, भर्पाइ र मोहीको बाँडफाँट गर्नुपर्ने विषयमा पनि न्यूनतम ४ आना १ दाम क्षेत्रफलमा कित्ताकाट गर्नुपर्ने प्रावधान संशोधित नियमावलीमा हटाइएको छ। अब यो प्रयोजनमा कित्ताकाट गर्नुपरे साढे २ आनामै जग्गा टुक्र्याउन पाइने छ।