
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पहाडी तथा हिमाली जिल्लामा अतिरिक्त सयममा हुने उडानमा थप कडाइ गरेको छ। क्यानले उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन भन्दै ४ बुुँदे निर्णय गरेको छ।
क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलको हस्ताक्षरमा बिहिबार सार्वजनिक निर्णय अनुसार दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान/अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने छ।
अतिरिक्त समयमा उडान अनुमतिका लागि वायुसेवाका डिस्प्याचरले उडानयोग्य मौसम भएको लिखित घोषणा विमानस्थलमा अनिवार्यरुपमा बुझाउनुपर्ने छ। क्यानले यो निर्णय बिहीबारदेखि नै लागू गरेको छ।
क्यानले पाइलटहरू दबाबमा उडान गर्न बाध्य नहुन् भनेर भिजिबिलिटी सुनिश्चितता भइसकेपछि पनि पूर्णरूपमा सन्तुष्ट भएको हुनुपर्ने भनेको छ।
आन्तरिक वायुसेवाअन्तर्गत दुर्गममा उडान गर्दै आएका वायुसेवाले नेपालगन्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नु पर्ने क्यानको निर्णय छ। हरेक उडानको अनुमति लिने तथा अन्य उड्डयनसम्बन्धी कार्य एफओओद्वारा मात्रै हुनुपर्ने क्यानले बताएको छ।
क्यानले यसअघि दुर्गमका २९ वटा विमानस्थलमा खराब मौसमका कारण दुर्घटना हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न साउन १८ गतेदेखि दिउँसो साढे १२ बजेपछि अतिरिक्त समयमा उडान नगराउने निर्णय गरेको थियो ।
जुलाईदेखि सेप्टेम्बरसम्म मनसुनको प्रभाव पर्ने भएकाले यो नियम लागू गरिएको थियो। यो निर्णयले सडकमार्गको सहज पहुँच नभएका जिल्लामा असर परेको भन्दै विरोध भइरहेका बेला क्यानले अतिरिक्त समयमा हुने उडानलाई थप कडाइ गरेको हो ।
क्यानले दुर्गम तथा हिमाली भेगका विमानस्थलको सञ्चालन समय पुनरावलोकन गर्न तथा हवाई रुटको मौसमको उपलब्धताबारे अध्ययन गर्न उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ।