नेपालको सैन्य क्षेत्रमा अमेरिकाले ह्वात्तै बढायो लगानी, सहयोगको २५ प्रतिशत सुरक्षामा

विधुर ढकाल
२०८० साउन ३२ गते १४:५३ | Aug 17, 2023
नेपालको सैन्य क्षेत्रमा अमेरिकाले ह्वात्तै बढायो लगानी, सहयोगको २५ प्रतिशत सुरक्षामा
फोटो : नेपालस्थित अमेरिकी दूतावास

सांघाई। नेपालमा अमेरिकाको सुरक्षा चासो बढ्दै गएको छ। सन् २०२२ मा अमेरिकाले नेपाललाई क्षेत्रगत रुपमा सबैभन्दा धेरै सहायता सुरक्षामा प्रदान गरेको तथ्यांकले देखाएको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी रक्षा मन्त्रालयमार्फत् सन् २०२२ मा ४ करोड २० लाख अमेरिकी डलर (५ अर्ब ६१ करोड रुपैयाँ) सहयोग प्राप्त भएको छ।

अमेरिकी फरेन असिस्टेन्ट डेटाबेसको पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालले अमेरिकाबाट दायित्वस्वरुप १७ करोड डलर सहायता प्राप्त गरेको छ। जसमध्ये २५ प्रतिशत सैन्य सहायता हो। अमेरिकाले सहायताको पहिलो प्राथमिकतामा द्वन्द्व, शान्ति र सुरक्षालाई राखेको छ। यस क्षेत्रमा अमेरिकाबाट ४ करोड २८ लाख डलर सहायता प्राप्त भएको थियो। 

प्राथमिकतामा परेको प्रमुख कार्यक्रम फरेन मिलिटरी फाइनान्सिङ प्रोग्राम हो। यस कार्यक्रमका लागि अमेरिकाले ४ करोड २० लाख डलर सहयोग गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय सैन्य शिक्षा तथा तालीमका लागि ९ लाख ५० हजार डलर बराबरको सहायता प्राप्त भएको छ। यस कार्यक्रमको फन्डिङ एजेन्सी विदेश मन्त्रालय र कार्यान्वयन साझेदार रक्षा मन्त्रालय हो।

त्यस्तै रक्षा मन्त्रालयलाई नै कार्यान्वयन साझेदारको रूपमा राखेर न्यु युनाइटेड स्टेट ट्रान्सपोर्टेसन कमान्ड इन्टर एजेन्सी एग्रिमेन्टअन्तर्गत युएसएआईडीबाट आधारभूत स्वास्थ्य क्षेत्रका लागि ५४ हजार ४६९ डलर नेपालले दायित्व बहन गरेको छ।

अमेरिकाले २०२१ मा १८ करोड १८ लाख डलर सहायता प्रदान गरेको थियो। जसमध्ये सैन्य क्षेत्रमा गरेको सहयोगको हिस्सा १० प्रतिशत थियो। त्यो वर्ष फरेन मिलिटरी फाइनान्सिङ प्रोग्रामअन्तर्गत १ करोड ६० लाख डलर सहायता प्राप्त भएको थियो।

त्यस्तै इन्टर-एजेन्सी अग्रिमेन्ट विथ डिफेन्स लजिस्टिक एजेन्सीको नाममा आधारभूत स्वास्थ्य क्षेत्रका लागि ५६ लाख २ हजार ५४२, अन्तर्राष्ट्रिय सैन्य शिक्षा र तालीमका लागि ९ लाख ३० हजार ६१५ र आणविक सुरक्षा कार्यक्रमका लागि २ हजार १४६ डलर प्राप्त भएको तथ्यांकमा उल्लेख छ।

२०२० मा त सैन्य क्षेत्रमा अमेरिकी सहयोग झनै कम थियो। त्यो वर्ष नेपालमा १२ करोड ४० लाख डलरको सहायता प्राप्त भएकामा सैन्य क्षेत्रमा सहयोगको हिस्सा १ प्रतिशत मात्र थियो। त्यस वर्ष किसान-२ परियोजनामा सबैभन्दा बढी सहयोग प्राप्त भएको थियो।

२०१९ मा पनि सैन्य क्षेत्रमा अमेरिकाको खासै सहयोग थिएन। त्यो वर्ष प्राप्त १७ करोड ४२ लाख डलरमध्ये ०.५ प्रतिशतभन्दा कम सुरक्षा क्षेत्रका लागि प्राप्त भएको थियो। त्यतिबेला १० लाख डलर सैन्य शिक्षा तथा तालीमका लागि आएको थियो।

अमेरिकाले २०२२ मा सहायताको दोस्रो प्राथमिकतामा सरकार र नागरिक समाजलाई राख्यो। उसले यस क्षेत्रमा नेपाललाई १ करोड ९४ लाख डलर सहायता प्रदान गर्‍यो।

त्यो वर्ष अमेरिकाले धेरै सहयोग गरेको किसान परियोजनामा पनि हो। कृषि क्षेत्रका लागि युएसएआईडीको आर्थिक सहायता कोष र अन्यबाट गरी १ करोड ३० लाख डलर दिएको थियो।

युएसएआईडीमार्फत् नै नेपाली इन्टरप्राइज कम्पिटिटिभनेस कार्यक्रमका लागि ४७ लाख, इन्टरनेसनल इमरजेन्सी फुडका लागि ४६ लाख, किशोर किशोरी तथा प्रजनन् स्वास्थ्यका लागि ४५ लाख, महामारी नियन्त्रणका लागि ४३ लाख, असल शासन कार्यक्रमका लागि ४० लाखभन्दा बढी र खाद्य सहायताको रूपमा आधारभूत शिक्षा क्षेत्रका लागि ३४ लाख डलर अमेरिकाले नेपाललाई दिएको छ।

दक्षिण तथा मध्य एसिया क्षेत्रका १३ देशमध्ये धेरै अमेरिकी सहायता प्राप्त गर्नेमा नेपाल पहिलो स्थानमा छ। भुटानले सबैभन्दा कम अमेरिकी सहायता पाएको छ। उसले ३१ हजार डलर मात्र सहायता पाएको हो।

तथ्यांकमा उल्लेख भए अनुसार उत्तर कोरियाले सबैभन्दा कम २६० डलर सबैभन्दा बढी युक्रेनले १२ अर्ब अमेरिकी डलर सहायता पाएका छन्। अमेरिकाले कुल सहायताको १३ प्रतिशत सैन्य क्षेत्रमा उपलब्ध गराएको हो।