सिद्धबाबा सुरुङ निर्माणमा नयाँ परामर्शदाता छनोट, डिजाइन भने १८ महिनामा पनि लागेन टुंगो

बिजमाण्डू
२०८० साउन ३१ गते १०:२४ | Aug 16, 2023
सिद्धबाबा सुरुङ निर्माणमा नयाँ परामर्शदाता छनोट, डिजाइन भने १८ महिनामा पनि लागेन टुंगो


काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा बन्न लागेको सिद्धबाबा सुरुङमार्ग निर्माणमा नयाँ परामर्शदाताको जिम्मेवारी ईआरएमसी- योङमा डोङसुङ जेभीलाई दिइएको छ।

Tata
GBIME

सकड विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले नयाँ परामर्शदाताको रुपमा ईआरएमसी- योङमा डोङसुङ जेभीलाई छानेको हो। केन्द्रका इन्जिनियर दीप बाराहीका अनुसार परामर्शदाताले ४० करोड ९१ लाख रुपैयाँ पाउनेछ।

यसअघि सुरुङमार्गको डीपीआर बनाउनेदेखि सबै काम स्वीस परामर्शदाताले हेरिरहेको थियो। ‘सुरुङमार्ग निर्माणको काम अब नयाँ परामर्शदाताले हेर्ने छ,’ बाराहीले भने।

निर्माण अवधि र मर्मत गरी कम्पनीले ९ वर्ष आयोजनाको सबै कामको सुपरभिजन गर्नुपर्ने छ। ‘निर्माणको ५ वर्ष र सञ्चालनको ४ वर्ष गरी ९ वर्षसम्म परामर्शदाताले हेर्नुपर्छ,’ उनले भने।

स्वीस कम्पनीको डीपीआर अनुसार सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर गरेर यसअघि नै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई छानिएको थियो। १.१२६ किलोमिटर लम्बाईको सुरुङ मार्ग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा बनाउने सम्झौता २०७८ फागुनमै भएको हो।

वर्षा सकिएपछि सुरुङ खन्ने ठेकेदार कम्पनीको तयारी छ। उसले अहिले पूर्वतयारीका काम गरिरहेको छ। पूर्वतयारीस्वरुप रामापिथेकस पार्कनजिक डाइभर्सन निर्माणको काम भइरहेको छ। यस्तै ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ।

डिजाइन स्वीकृतिमा किन भयो ढिला?

सुरुङ मार्ग बनाउन २०७८ जेठमा ग्लोबल टेन्डर आह्वान गरिएको थियो। ठेक्का सम्झौता गर्न ९ महिना लाग्यो। सम्झौतामा ठेकेदार कम्पनीले २०७९ कात्तिकभित्र डिजाइन पेश गर्ने र पुसदेखि काम सुरु गर्ने उल्लेख थियो।

तर ठेक्का सम्झौताको १८ महिना भइसक्दा पनि डिजाइनकै टुंगो लागेको छैन। अहिले केन्द्रले डिजाइन अध्ययन गरिरहेको छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार समयमै डिजाइन पेस गर्न नसकेकोले रिभ्युमा ढिलाई भएको केन्द्रले जनाएको छ। ‘डिजाइन आवश्यकताअनुसारको छ/छैन भनेर रिभ्यु गर्ने काम भइरहेको छ। केही समस्या नदेखिए दुई महिनाभित्र हामी हाम्रो काम सक्छौं’, उनले भने।

सम्झौता अनुसार सुरुङ निर्माणको काम २०८३ भित्र सक्नुपर्छ। तर डिजाइनलाई अन्तिम रुपमा दिन भएको ढिलाइले सुरुङ निर्माणको काम नै सुरु हुन नसकेका कारण आयोजनाको अवधि धकेलिने देखिएको छ।