ल्हारक्यालको राजीनामा आउने कांग्रेसको विश्वास, प्रधानमन्त्रीसँग असन्तुष्टि जनाइसकेको ‘ब्रिफिङ’

नेत्र तामाङ
२०८० साउन २९ गते १७:४९ | Aug 14, 2023
ल्हारक्यालको राजीनामा आउने कांग्रेसको विश्वास, प्रधानमन्त्रीसँग असन्तुष्टि जनाइसकेको ‘ब्रिफिङ’


काठमाडौं। लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्तिलाई लिएर सत्तारुढ नेपाली कांग्रेस असन्तुष्ट बनेको छ। पार्टीको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले ल्हारक्यालको नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका हुन्।

Tata
GBIME

शान्तिका दूत गौतम बुद्धसँग जोडिएको लुम्बिनीको नेतृत्व विवादित व्यक्तिलाई दिएको विषयमा आफूहरुको आपत्ति रहेको सांसद प्रतिमा गौतमले बताइन्। ‘ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषमा दिइएको नियुक्तिले कांग्रेसको पनि शिर निहुरिएको छ। यस विषयमा संसदीय दलको बैठकमा धेरैजनाले कुरा उठाउनुभयो,’ सांसद गौतमले भनिन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, डा शेखर कोइराला, रामहरि खतिवडालगायतले ल्हारक्यालको नियुक्तिको विषयमा कांग्रेस जानकार हुनुपर्ने माग राखेका थिए। गौतम बुद्धसँग जोडिएको संस्थामा विवादित मान्छे नियुक्ति गर्नु ठीक नभएको भनाई आफूले बैठकमा राखेको खतिवडाले बताए। ‘लुम्बिनी नेपाललाई संसारभर चिनाउने थलो हो। त्यस्तो ठाउँमा लकरमा गोली राखेको लगायत विवादमा मुछिएका व्यक्तिको नियुक्तिलाई कसरी सहन गर्न सकिन्छ?’, खतिवडाले प्रश्न गरे, ‘अझ कोषलाई ७ करोड दिने घोषणा गरेका छन्। त्यत्रो रकम उनले कहाँबाट ल्याए? त्यो कस्तो पैसा हो?’

यस विषयमा खतिवडाले सोमबार सदनमा पनि प्रश्न उठाउने तयारी गरेका थिए। तर उनलाई सभामुखले समय दिएनन्। ‘मैले संसदमा समय मागेको थिएँ। पार्टीले एक नम्बरमा राखेको थियो। तर सभामुखले मलाई समय दिनुभएन। सुनिल शर्मालाई बोल्न दिनुभयो,’ खतिवडाले भने।

ल्हारक्यालको राजीनामा आउने कांग्रेसको विश्वास

संसदीय दलमा प्रश्न उठेपछि ल्हारक्यालको नियुक्तिबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जवाफ दिए। उनले ल्हारक्याललाई मन्त्रिपरिषदमा छलफल नै नगरी प्रधानमन्त्रीको ठाडो आदेशमा नियुक्त गरिएको संकेत गर्दै यसबारे असन्तुष्टि जनाइसकेको बताए।

‘मन्त्री भइसक्नुभएका कतिपय माननीयलाई थाहै छ। कति निर्णय प्रधानमन्त्री र मुख्यसचिव बसेर लेखाउँछन्, हामीलाई थाहै हुँदैन,’ उपप्रधानमन्त्री खड्काको भनाइ उद्धृत एक सांसद्‍ले भने, ‘ल्हारक्यालको नियुक्ति गलत भयो भनेर प्रधानमन्त्रीलाई गम्भीररुपमा भनिसकेका छौं।’

धेरै सांसदले प्रश्न उठाएपनि संसदीय दलको निर्णयमा भने यो विषय परेको छैन। अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, हतियारसम्बन्धी विषयमा विवादित ल्हारक्याललाई सरकारले साउन २१ गते लुम्बिनी विकास कोषको अध्यक्ष नियुक्त गरेको थियो।

त्यसो त उनलाई २०५८ मा कांग्रेस नेतृत्वको सरकारले गुम्बा विकास समितिको अध्यक्ष बनाएको थियो। उनै ल्हारक्याल एमाले हुँदै अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य छन्। एमालेमा हुँदा तत्कालीन अध्यक्ष झलनाथ खनालले २०६७ मा अर्थराज्यमन्त्री बनाएका थिए। तर चौतर्फी आलोचनापछि ल्हारक्यालले केही दिनमै राजीनामा दिएका थिए। सांसद खतिवडाले भने, ‘अहिलेको नियुक्तिलाई लिएर सरकारको सबैभन्दा ठूलो दलभित्र चर्को विरोध रहेकाले ल्हारक्यालले केही दिनमै राजीनामा दिने विश्वास छ।’