तीन फिल्मको घम्साघम्सी, कस्तो छ गदर २, जेलर र ओएमजी २ को कमाइ?

बिजमाण्डू
२०८० साउन २८ गते १३:५९ | Aug 13, 2023
तीन फिल्मको घम्साघम्सी, कस्तो छ गदर २, जेलर र ओएमजी २ को कमाइ?


गत शुक्रबारबाट भारतीय फिल्महरु ‘गदर २’ र ‘ओ माई गड २’ प्रदर्शनमा आए। जसमध्ये सन्नी देवल र अमिशा पटेल अभिनीत ‘गदर २’ ले आक्रामक व्यापार गरिरहेको छ। उक्त फिल्मले घरेलु बक्सअफिसमा दुई दिनमा ८३ करोड भारु कमाउँदा ओमएजीको सिक्वेलले भने २५ करोड भारु कलेक्सन गरेको छ।

Tata
GBIME
NLIC

त्यसैगरि, गत बिहिबार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ यी दुई फिल्मका तुलनामा दमदार कमाइ गरिरहेको छ। जेलरले तीन दिनमा १ अर्ब ९ करोडको व्यापार गरेको छ। पहिलो दिन ४८ करोड भारु कमाएसँगै ‘जेलर २’ सन् २०२३ सर्वाधिक कमाई गर्ने तमिल फिल्म बनेको छ।  

गदर २ र जेलरले आक्रामक व्यापार गर्दा यौन शिक्षामा आधारित ‘ओएमजी २’ को व्यापार भने औसत मान्न सकिन्छ। यस फिल्मले पहिलो दिन १० करोडको ओपनिङ गर्दा दोस्रो दिन भने १५ करोड भारु कमायो।

गदर २ भने सन्नी देवलको लागि करियरकै ठूलो ओपनर फिल्म बन्न सफल भयो। शुक्रवार ४० करोड १ लाख भारु कमाएको गदर २ यो वर्ष सर्वाधिक ओपनिङ गर्ने दोस्रो हिन्दी फिल्म पनि हो। यसअघि शाहरुख खानको पठानले पहिलो दिन ५५ करोड भारु ओपनिङ गरेको थियो। दोस्रो दिन भने भारतीय बक्सअफिसमा गदर २ ले ४३ करोड भारु कमायो।

नेपालमा भने तीन भारतीय फिल्ममध्ये ‘गदर २’ मा दर्शकको उत्साहजनक उपस्थिति छ। चलचित्र बिकास बोर्डले दिएको जानकारीअनुसार ‘गदर २’ राम्रो कमाउँदा जेलर र ओएमजीको कमाई भने औसत छ।

सीडीसी सिनेमाजमा व्यवस्थापक जीवन शाक्यले ‘गदर २’ मा नै बढी दर्शकहरु आइरहेको बताए।

अनिल शर्माको निर्देशन रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ‘गदर: एक प्रेम कथा’को सिक्वेल हो। सिक्वेलमा सन्नी र अमिशा पटेलसँगै नयाँ पुस्ताको प्रेम कथालाई समेटिएको छ। २२ वर्षपछि रिलिज भएको यो फिल्म दर्शकका लागि बहुप्रतिक्षित थियो।

त्यसैगरि, ‘ओएमजी २’ पनि सन् २०१२ मा रिलिज भएको ‘ओ माई गड’ को सिक्वेल हो। धर्ममा आधारित कमेडी जनरामा बनेको ‘ओ माई गड’ बक्सअफिसमा हिट भएको थियो। सिक्वेल भने भारतमा यौन शिक्षाको पृष्ठभूमिमा आधारित छ। अमित राय निर्देशित यस फिल्ममा अक्षय कुमारका साथै पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा छन्।