
काठमाडौं। नेकपा एमालेले श्रमिकहरुको न्यूनतम ज्याला बढाउन सरकारसँग माग गरेको छ। तीन वर्षदेखि श्रमिकको न्यूनतम ज्याला उही रहेको भन्दै एमालेले अहिलेको महँगीलाई धान्ने गरी बढाउन माग गरेको हो।
एमाले महासचिव शंकर पोखरेलले नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को शनिबार भक्तपुरमा उद्घाटनका क्रममा ज्याला बढाउन माग गरेका हुन्।
‘हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन सकेको छैन’, उनले भने, ‘साउन १ गतेदेखि बढ्नुपर्ने ज्याला मसान्त वित्न लाग्दा पनि नबढाइनु दु:खको कुरा हो।’
श्रमिकहरुको न्यूनत ज्याला अहिले १५ हजार रुपैयाँ छ। यो २०७८ साउन १ गतेदेखि लागू भएको ज्याला हो। एमाले नेतृत्वको तत्कालीन सरकारले २०७८ वैशाखमा तीन वर्षको अन्तरालमा श्रमिकको ज्याला मासिक १५ सय ५० रुपैयाँ बढाएको थियो।
महासचिव पोखरेलले श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे ७ लाख युवा रोजगारीका लागि विदेश जान वाध्य भइरहेको बताए।