कांग्रेसका भ्रातृ संगठनहरुमा भद्रगोल, नेविसंघमा किन बढ्यो असन्तुष्टि?

नेत्र तामाङ
२०८० साउन २४ गते २१:२२ | Aug 9, 2023
कांग्रेसका भ्रातृ संगठनहरुमा भद्रगोल, नेविसंघमा किन बढ्यो असन्तुष्टि?


काठमाडौं। नेपाली कांग्रेस पछिल्लो केन्द्रीय समितिबाट एकढिक्का जस्तै भए पनि भ्रातृ संगठनहरुमा भने भद्रगोल देखिन थालेको छ। विधान बमोजिम महाधिवेशन हुन नसकेपछि भ्रातृ संगठनहरुमा दिनानुदिन असन्तुष्टि पोखिन थालेको हो।

Tata
GBIME

पार्टी सभापति शेरबहादुर देउवाले तरुण दलदेखि नेविसंघ तदर्थवादमा चलाइरहेका छन्। २०७३ मा सम्पन्न ११औं महाधिवेशनबाट नैनसिंह महर नेविसंघको नेतृत्वमा आए। दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका उनले अर्को महाधिवेशन गर्न सकेनन्। तर लामो समय उनी नै सभापति रहे।

महरले पटकपटक राजनीमा दिएपछि नेतृत्वहीन बनेको नेविसंघको अध्यक्षमा देउवाले २०७६ माघ १६ गते राजीव ढुंगानालाई मनोनीत गरे। ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी ढुंगानाले पूरा गर्न सकेनन्। उनी कार्यसमितिलाई पूर्णता दिन समेत असफल रहे।

त्यतिबेला नेविसंघमा ९ जनासम्म महामन्त्री मनोनीत भए। त्यहीबेला नेविसंघमा ३२ वर्षे उमेर हद लागू भयो। तर नयाँ नेतृत्व चयनमा कसैले ध्यान दिएन। महर र ढुंगाना पार्टीको केन्द्रीय सदस्य बनिसकेका छन्।

देउवाले २०७८ चैत ९ गते नेविसंघमा अध्यक्षको जिम्मेवारी दुजाङ शेर्पालाई दिए। उनै दुजाङ नेतृत्वको नेविसंघमा देउवाले सोमबार ७१० केन्द्रीय सदस्य मनोनीत गरे। त्यसयता नेविसंघ पुन: विवादमा तानिएको छ।

असन्तुष्ट समूहलाई सानेपामा रोक

असन्तुष्ट पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको थियो। तर त्यसलाई रोक्न पार्टी कार्यालयमा प्रहरी खटाइयो। ‘हामी समानान्तर कमिटी घोषणा गर्न पुगेका थियौं। पार्टीले शक्ति परिचालन गरेपछि हामी फर्कियौं,’ जनमैत्री क्याम्पस, कुलेश्वरका इकाइ सभापति निराजन शाहीले भने।

विधानसम्मत १५१ जनाको कमिटी हुनुपर्नेमा देउवाले ७१० जनाको कमिटी बनाएर अवैधानिक कार्य गरेको शाहीको आरोप छ। उनले यति ठूलो कमिटी बनाउँदा समेत कतिपयलाई व्यक्तिगत रिसाईबीका कारण छुटाइएको दाबी गरे। ‘व्यक्तिगत इबीका कारण कति साथीहरु केन्द्रीय समितिमा परेनन्,’ उनले भने।

नेविसंघको अस्तित्व नै सकिने गरी नाटकीय जम्बो कार्यसमिति गठन गरिएको तर्क छ अर्का नेता यज्ञ खड्काको। ‘नेविसंघको अस्तित्व नै सकिने भयो यसरी त। ७१० को नाटक नदेखाइयोस् भन्ने हाम्रो माग हो,’ खड्काले भने, ‘केन्द्रीय सदस्यको भ्यालु अब इकाइ सभापतिको जति पनि नहुने भयो।’

लिटल बुद्ध कलेज नयाँ बानेश्वरका इकाइ सभापति खड्काले नेविसंघलाई विधानसम्मत नचलाइए समानान्तर गतिविधि जारी राख्ने चेतावनी दिए। अध्यक्ष शेर्पा संगठनमा देखिएका समस्या समाधानका लागि आफू तयार रहेको बताउँछन्। समाधान कसरी हुन्छ त? उनीसँग ठोस जवाफ छैन।

किन असन्तुष्ट, को असन्तुष्ट?

महरले नेतृत्व लिएयता नेविसंघ तदर्थमा चल्दै आएको हो। सुशासन र पारदर्शिताको नारा लगाउने पार्टीले आफ्नै भ्रातृ संगठनलाई भने भद्रगोल पारेर राखेपछि नेतृत्वको कार्यशैलीमाथि कांग्रेसमा प्रश्न उठ्दै आएको पहिलेबाटै हो। धेरै समय तदर्थमा चलाउँदा केन्द्रीय समितिमा आउन चाहने धेरै भए।

नेविसंघका एक पूर्वनेताले भने, ‘आकांक्षी व्यवस्थापन गर्न पार्टीमा नै संस्थापन र इतर पक्षबीच ५५१ जनाको जम्बो कार्यसमिति बनाउने सहमति भयो। त्यसविपरीत संस्थापन पक्षले १५९ जना थप्दा ७१० जनाको कमिटी सार्वजनिक हुन पुग्यो।’

जबकि केन्द्रीय समिति १५१ सदस्यीय हुने व्यवस्था विधानमा छ।’

नेविसंघको ठूलो आकार घोषणापछि सभापति देउवासँग डा शेखर कोइराला, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेता रुष्ट बनेका छन्। सिफारिसमा परेका कतिपयको नाम हटाएर देउवा पक्षले एकलौटी गरेको इतर पक्षका विद्यार्थीको आरोप छ।

महिला संघमा उस्तै किचलो

कांग्रेसको महिला भ्रातृ संगठन नेपाल महिला संघमा पनि उस्तै भाँडभैलो चर्किएको छ। तदर्थमै चल्दै आएको महिला संघकी अध्यक्ष उषा राउत मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै इतरपक्षले आपत्ति जनाएको छ।

सोमबार अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गरेर जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको संघकी केन्द्रीय सदस्य रीता शाहीले बताइन्। ‘पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेका बेला यस्तो गतिविधि राम्रो होइन,’ शाहीले भनिन्।

अध्यक्ष मिश्रले सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी बिमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सन्जेल, महोत्तरीकी बीना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई पदबाट हटाएकी थिइन्। हटाइएका जिल्ला अध्यक्ष संस्थापनइतर पक्षका हुन्।

इतर पक्षले विधान विपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनःबहाली गर्न संस्थालाई विधान अनुसार चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधान विपरीत गठन गरिएका समिति र उपसमिति खारेज गर्न तथा विधान अनुसार साधारण सदस्य वितरण गर्न माग गरेको छ।

तरुण दलमा उस्तै असन्तुष्टि

कांग्रेसको युवा संगठन तरुण दलको अवस्था झनै भद्रगोल छ। देउवाले २०७८ चैत ९ गते तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनीत गरेका थिए। त्यसयता उनी एक्लैले तरुण दल हाँक्दै आए। तरुण दललाई गुमनाम पारेको आरोप लागेपछि देउवाले गत असार १४ गते ४०० केन्द्रीय सदस्य मनोनयन गरे। तीमध्ये ४० प्रतिशत शेखर समूहका हुन्।

सभापति देउवा सिंगापुर जानुअघि नै तदर्थ कार्यसमितिलाई पूर्णता दिने तयारी थियो। यद्यपि संस्थापनमा भागबन्डा नमिल्दा केही समय तदर्थ समितिमा ढिलाइ भएको थियो। अहिले तरुण दलमा संस्थापन पक्षका केही नेताले आफ्नो पक्षका केही छुटेको भन्दै थप्नुपर्ने माग गर्न थालेका छन्।