एन्फामा क्लबहरुको बक्यौता ५ करोड ३१ लाख, निकासा माग्दै २६ क्लबले बढाए दबाब



मुकुन्द घिमिरे
२०८० साउन २४ गते ०९:३३ | Aug 9, 2023
एन्फामा क्लबहरुको बक्यौता ५ करोड ३१ लाख, निकासा माग्दै २६ क्लबले बढाए दबाब

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) माथि क्लबहरुले बक्यौता भुक्तानीको दबाब बढाएका छन्। शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लब पदाधिकारीहरु गत बिहीबार ताकेता गर्न सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेका थिए।

Tata
GBIME
Zonsen

एन्फासँग लिगको बक्यौता भुक्तानी दिनुपर्ने माग उनीहरुले दोहोर्‍याएका थिए। एन्फाले क्लबहरुलाई ५ करोड ३१ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ। उक्त रकम गत आर्थिक वर्ष २०७९/८० को मात्रै नभइ त्यसअघिका वर्षको धेरै छ। यसले लिगमा सहभागिताको तयारी अनिश्चित बनेको मात्रै नभइ क्लबहरुमा निराशा बढाएको छ। यसले नेपाली फुटबल क्षेत्रमै दूरगामी असर पर्ने देखिएको छ।

गत बिहीबार क्लबहरुका तर्फबाट संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। जसमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका २६ क्लबका प्रतिनिधिहरुको हस्ताक्षर छ। महासचिव राईले बुझेको उक्त पत्रलाई एन्फाले सम्बोधन गर्न तदारुकता भने देखाएको छैन।

एन्फाले खर्च उपलब्ध नगराउँदा ‘बी’ डिभिजनको तयारीमा जुटेका क्लबहरुलाई बढी मर्का परेको छ। बक्यौतामा एन्फाले अल्झाइरहँदा ‘सी’ डिभिजनमा पनि गाह्रो हुने संकेत क्लबहरुले गरेका छन्।

एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र दिँदै संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर। तस्बिर: कर्मा छिरिङ शेर्पाको फेसबुक

‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले मात्र २०७७/७८ को रकम ७ लाख ७५ हजार रुपैयाँ पाएको छ, अरुलाई एन्फाले निकासा दिएको छैन। ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बाँकी क्लबलाई बिल प्राप्त गरेको ४५ दिनमा पटक-पटक रकम दिन्छु भनि आश्वासन दिए पनि हालसम्म भुक्तानी नभएको हुँदा अबिलम्ब उपलब्ध गराउन माग गर्दछौं।’

लिगको तयारीका लागि एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरुलाई निश्चित रकम खर्च दिने गरेको छ। उक्त बजेट एन्फाले पनि फीफा र एएफसीबाट पाउँछ। तर, पटक पटक आर्थिक अनियमितता गरेको उजुरी परेपछि केही वर्षयता दुवै संगठनले एन्फालाई दिने बजेट निकासामा निकै कडाइ गरेका छन्।

तर, राजनीतिक दलको भागबन्डामा नियुक्त/निर्वाचित हुने गरेका एन्फा पदाधिकारीको प्रवृत्ति भने अझै सुध्रिएको छैन। लिग तयारीका लागि आफैं खर्च थेग्न नसक्ने क्लबलाई बजेट उपलब्ध गराउने दायित्वमा उदासीनता देखाउँदै एन्फाले बक्यौता राखेको हो। दायित्व पुरा गर्न आलटाल गरिरहेको एन्फालाई क्लबहरुले ध्यानाकर्षण गराएका हुन्।

एन्फाले दिनुपर्ने खर्च उपलब्ध नगराउँदा ‘बी’ डिभिजनको तयारीमा जुटेका क्लबहरुलाई बढी मर्का परेको छ। बक्यौतामा एन्फाले अल्झाइरहँदा ‘सी’ डिभिजनमा पनि गाह्रो हुने संकेत क्लबहरुले गरेका छन्। ‘ए’ डिभिजन क्लबहरुले लिग चलिरहँदा नै पत्रकार सम्मेलन गर्दै बक्यौता निकासा गरिदिन एन्फालाई आग्रह गरेका थिए।

उधारोमै लिग सकेका क्लबहरु आर्थिक भारमा छन। त्यसमाथि अघिल्लो संस्करणको पनि भुक्तानी बाँकी रहँदा खर्च धान्न गाह्रो भइसकेको क्लब पदाधिकारीले बताएका छन्।

मनाङ मर्स्याङ्दीबाहेक अरुले पाएनन्
क्लबहरुका अनुसार एन्फाले ५ करोड ३१ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी छ। जसमा ‘ए’ डिभिजनको ३ करोड ४२ लाख ५० हजार, ‘बी’ डिभिजनको १ करोड २६ लाख र ‘सी’ डिभिजनको ६३ लाख रुपैयाँ एन्फाले क्लबहरुलाई तिर्न बाँकी छ।

‘ए’ डिभिजन लिगतर्फ एन्फाले २०७७/७८ को मनाङ मर्स्याङदीबाहेक १३ क्लबको ९७ लाख ५० हजार निकासा दिन बाँकी छ। त्यस्तै २०७९/८० को २ करोड ४५ लाख रुपैयाँ दिन बाँकी छ।

एन्फा कार्यसमितिको गत शुक्रबार बैठक बसेको थियो। बैठकको निर्णयमा शहीद स्मारक लिग खेल्ने क्लबहरुको बक्यौता फर्छ्यौट गर्नेबारे केही पनि उल्लेख छैन।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको सेलिब्रेसन

यो सिजन ‘बी’ डिभिजन लिग हुन सकेको छैन। तर, अघिल्लो सिजनको ९१ लाख रुपैयाँ तथा उक्त सिजन ‘ए’ डिभिजन लिगमा प्रमोट भएका चर्च ब्वाइज र खुमलटारको पनि रकम जोड्दा १ करोड २६ लाख रुपैयाँ हुन आउँछ।

‘सी’ डिभिजन लिग ‘बी’ डिभिजनपछि हुने हो। तर, यसपाला ‘बी’ डिभिजन लिग नै हुन सकेको छैन। क्लबहरुका अनुसार २०७७/७८ को ‘सी’ डिभिजनको ६३ लाख रुपैयाँ हुन आउँछ। यी तीन टायरका लिगको बक्यौता जोड्दा ५ करोड ३१ लाख ५० हजार हुन आउँछ।

बक्यौता रहेका २६ क्लबले पैसा नदिए ‘थप कार्यक्रमको घोषणा गर्न बाध्य हुने’ चेतावनी एन्फालाई दिएका छन्।

के भन्छ एन्फा?

एन्फा कार्यसमितिको गत शुक्रबार बैठक बसेको थियो। बैठकको निर्णयमा शहीद स्मारक लिग खेल्ने क्लबहरुको बक्यौता फर्छ्यौट गर्नेबारे केही पनि उल्लेख छैन।

यद्यपि उधारो रहेको पुरस्कार रकम भने ‘क्लियर’ गर्दै लैजाने निर्णय बैठकले गरेको छ। एन्फामा बक्यौता पुरस्कारको अर्को चाङ पनि छ। ‘यो आन्तरिक बजेटबाट मिलाउनु पर्ने भएकाले केही समयमा हुन्छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने।

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अघिल्लो सिजनको रकम निकासा गर्न सबै प्रक्रिया त्यतिबेलै तयार भएको भए पनि आफूहरुलाई चुनावको मुखमा भएकाले रोकेको दाबी गरे।

साउन १९ गते बसेको एन्फा बोर्ड बैठकमा बोल्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ। तस्बिर: एन्फा

क्लबहरुको सन्दर्भमा भने उनको दाबी फरक छ। लिगमा बक्यौता रकमलाई यो सिजन र अघिल्लो सिजनलाई फरक दृष्टिबाट हेर्नुपर्ने शाह बताउँछन्। यद्यपि सबै क्लबलाई यो सिजन दिनुपर्ने रकम बाँकी भएको उनले स्वीकारे। ‘यो सिजनको ए डिभिजन लिगको हरेक क्लबलाई १७ लाख ५० हजार दिन बाँकी छ,’ उनले भने।

पुरानो बक्यौताका बारेमा भने केही समस्या रहेको उनले बताए। ‘केही बिलहरु र प्रक्रिया नमिलेको छ। एकमुस्ट फेरि पठाउ भनेको छ। हामीले पठाएका छौं,’ शाहले भने।

उनले फिफामा पुरानो र नयाँलाई हेर्ने मेकानिज्म फरक भएको दाबी गरे। चाँडो गर्न एन्फाले ताकेता गरिरहेको पनि उनले बताए।

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अघिल्लो सिजनको रकम निकासा गर्न सबै प्रक्रिया त्यतिबेलै तयार भएको भए पनि आफूहरुलाई चुनावको मुखमा भएकाले रोकेको दाबी गरे।