
काठमाडौं। अविरल वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं उपत्यका आउजाउमै समस्या भएको छ। सोमबार रातिदेखिको वर्षाले उपत्यका भित्रिने र बाहिरिने चारवटै मुख्य सडक प्रभावित भएका छन्।
पहिरोका कारण सवारीसाधन र यात्रु बीच सडकमै अलपत्र परेका छन्। कतिपय राजमार्गमा वैकल्पिक रुटसमेत नहुँदा सवारीसाधनको लामो लाइन लागेको छ। वैकल्पिक बाटो भएका राजमार्गमा पनि पहिरोले धेरै ठाउँ आवागमन रोकेको छ।
काठमाडौं उत्यकामा पृथ्वी राजमार्ग हुँदै धेरै सवारीसाधन भित्रिने र बाहिरिने गर्छन्। नारायणगढ-मुग्लिन सडकमा पटक पटक पहिरो खसेकाले यो राजमार्ग दुईतर्फी रुपमा सञ्चालन गर्न कठिनाइ भएको ट्राफिक प्रहरीले बताएको छ।
राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले तरकारीदेखि पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको छ। धेरै सवारीसाधन सडकमा अलपत्र परेको व्यवसायीहरुले बताएका छन्।

तरकारी आपूर्तिमा समस्या
विभिन्न राजमार्गमा पहिरोले सवारी आगामगन प्रभावित भएपछि त्यसको असर खासगरी तरकारीको आपूर्तिमा पर्ने देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले अहिलेको वर्षाको असर बुधबारबारदेखि बजारमा देखिने बताए।
‘रातिबाट पानी परेकाले सडकहरु अवरुद्ध हुँदा आज बेलुकासम्म कति ट्रक काठमाडौं आइपुग्छन् भन्ने यकिन भइसकेको छैन। तरकारी बोकेका ट्रक अहिले बाटोमै छन्’, उनले भने, ‘ढुवानीका साधन रोकिएको असर भोलिबाट बजारमा देखिन थाल्छ।’
समितिका अनुसार अहिले उपत्यकामा दैनिक ६०० देखि ७०० टन तरकारी खपत हुन्छ। उपत्यकामा धेरै तरकारी नागढुंगा नाका हुँदै भित्रिन्छ। वीपी राजमार्ग भएर पनि तरकारी आपूर्ति हुने गरेको छ। पहिरो पन्छाएर राजमार्गलाई दुईतर्फीरुपमा सञ्चालनमा नल्याए एकातिर तरकारी बाटोमै खेर जानेछ भने अर्कातिर उपत्यकामा अभाव हुनेछ। समितिका प्रवक्ता श्रेष्ठले माग अनुसार आपूर्ति नहुने देखिएको भन्दै मूल्य बढ्न सक्ने बताए।

एक सातालाई पुग्ने इन्धन स्टक
पेट्रोलियम पदार्थ काठमाडौं उपत्यका ल्याउने एक मात्र बाटो पृथ्वी राजमार्ग हो। नेपाल आयल निगमका उपनिर्देशक मनोज ठाकुरले पहिरोका कारण राजमार्गहरु ठाउँ ठाउँमा अवरुद्ध भएकाले पेट्रोलियम पदार्थ डिपोहरुमा पुर्याउन समस्या हुनसक्ने बताए।
उनका अनुसार पाइपलाइनमार्फत डिजल अमलेखगंजमा नियमित आपूर्ति भइरहेको छ। ‘अमलेखगंजसम्म आएको डिजल विभिन्न डिपो र लोकल पम्पमा पुर्याउन भने समस्या हुन सक्ने देखियो’, उनले भने।
काठमाडौं उपत्यकामा दैनिक पेट्रोल ८०० देखि ९०० र डिजल ६०० देखि ७०० किलोलिटर खपत हुन्छ। दैनिक १ हजार किलोलिटरसम्म खपत भएको रेकर्ड भएपनि अहिले उपत्यकामा डिजलको खपत घटेको छ। निगमसँग अहिले ५/६ दिनलाई पुग्ने पेट्रोल र ७/८ दिनलाई पुग्ने डिजल स्टकमा छ।
‘नारायणगढ- मुग्लिन खण्डको पहिरोले सडक सञ्चालनमा समस्या भइरह्यो भने इन्धन आपूर्तिमा गड्बडी हुन सक्छ’, ठाकुर भन्छन्।

सडक कुन ठाउँमा कस्तो छ?
सडक विभागका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा ३ वटा राजमार्ग ठप्प छन्। जसमा तमोर करिडोरको चतरा-मुलघाट-माझीटार- अमरापुरडाँडा-गणेशचोक, तानसेन-रिडी-कोरला र धनगढी- सहजपुर- वुडर-स्याउले सडक बन्द रहेको विभागले जनाएको छ।
विभिन्न सडकमा डेढ सयभन्दा धेरै ठाउँमा पहिरो गएकामा ३४ वटा सडक एकतर्फीरुपमा मात्र सञ्चालनमा छन्। जसका कारण ती सडकमा सवारीसाधन पालो पर्खेर बसेका छन्।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ।
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेटनजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध बनेको थियो। केही समय प्रश्चात एकतर्फी खुलेको विभागले जनाएको छ।
मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङतानको मृत्यु भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा खसेको पहिरोले अवरुद्ध भएको थियो। यो सडक पहिरो पन्छाउँदै एकतर्फीरुपमा संचालन गर्ने गरिएको नारायणगढ- मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले बताए। उनका अनुसार यो सडक खण्डका अन्य ठाउँमा पनि पहिरोले अप्ठेरो पारिरहेको छ। विभिन्न ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन।
हेटौँडालाई काठमाडौंसँग जोड्ने दुई राजमार्ग प्रभावित भएका छन्। कान्ति लोकपथ र मदन भण्डारीमार्ग पहिरो पन्छाएर एकतर्फीरुपमा सञ्चालनमा ल्याइएका छन्।

बेनी-जोमसोम सडकको राहुघाट-तातोपानी खण्डमा रातीको समयमा सवारी आवागमन बन्द गरिएको छ। यस खण्डको बैसरी लगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको विभागले जनाएको छ।
यसैगरी मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्ड अवरुद्ध छन्। लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका-६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका-गलुवामा पहिरो झरेपछि सडक अवरुद्ध भएका हुन्।
अरनिको र विपी राजमार्गमा पनि ठाउँ ठाउँमा खसेको पहिरोले सवारीसाधन निर्वाधरुपमा चलाउन समस्या देखिएको विभागले जनाएको छ