सुर्के दूधकोसी जलविद्युत आयोजनामा साढे ३१ अर्ब लगानी गर्दै समिट पावर, ५ वर्षमा बनाउने

बिजमाण्डू
२०८० साउन २३ गते १५:१९ | Aug 8, 2023
सुर्के दूधकोसी जलविद्युत आयोजनामा साढे ३१ अर्ब लगानी गर्दै समिट पावर, ५ वर्षमा बनाउने

काठमाडौं। १८८ मेगावाटको सुर्के दूधकोसी जलविद्युत आयोजना समिट पावर कम्पनीले ३१ अर्ब ४६ करोड रुपैयाँ खर्चेर निर्माण गर्ने भएको छ। कम्पनीले आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकेर वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पनि तयार पारेको छ।

Tata
GBIME
NLIC

ईआईए प्रतिवेदन अहिले वन तथा वातावरण मन्त्रालयमा छ। मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ।

रन अफ रिभर प्रकृतिको आयोजना सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दूधकोसी गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिका निर्माण हुनेछ।  

आयोजनाको बाँध क्षेत्र लुजाखोला र दूधकोशी नदीको दोभानबाट करिब ८० मिटर तल प्रस्ताव गरिएको छ। इन्टेक क्षेत्र, कनेक्टिङ टनेल, ग्राभेल ट्रयाप, बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ, सर्ज साफ्ट, भर्टिकल साफ्ट, भूमिगत विद्युतगृह, टेलरेस टनेल लगायत सम्पूर्ण संरचना दूधकोशी नदीको बायाँ किनारमा प्रस्ताव गरिएका छन्।

प्रस्तावित आयोजनामा १०.५ मिटर अग्लो र ४८.४ मिटर लम्बाइको बाँध निर्माण गरी ४०.२४ घनमिटर प्रतिसेकेण्ड पानीको बहावलाई इन्टेक गेट, ग्राभेल ट्र्याप हुँदै बालुवा थिग्राउने पोखरीसम्म पुर्‍याइनेछ। त्यसपछि पानीलाई १०.९६ किलोमिटर लम्बाइको सुरुङमार्फत सर्ज साफ्टमा पठाइनेछ।

सर्ज साफ्टबाट पानी भूमिगत विद्युतगृहमा खसाली पेल्टन टर्बाइनको सहायताले १८८ मेगावाट विद्युत उत्पादन गरिने छ। विद्युत उत्पादनपश्चात निस्केको पानी टेलरेस टनेलद्वारा पुनः दूधकोशीमा नै मिसाइने छ। विद्युत २२० किलोभोल्ट डबल सर्किटको करिब ६५ किलोमिटर लामो प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा समाहित गरिने छ।

इआइए प्रतिवेदन अनुसार आयोजनामा ग्रस हेड ५५.५० मिटर र रेटेड हेड ५४५.५० मिटर छ। डिजाइन डिस्चार्ज ४०.२४ घनमिटर प्रतिसेकेण्ड छ। आयोजनाबाट वार्षिक ११४०.०७४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। सुक्खा महिनामा ३४२.४८२ गिगावाट घण्टा र वर्षायाममा ७९७.५९२ गिगावाट घण्टा हुनेछ।

त्यसैगरि प्रतिफलको आन्तरिक दर १७.२४ प्रतिशत, लाभ/लागत अनुपात १.३०५ र भुक्तानी अवधि ७ वर्ष छ। निर्माण थालेको‍ ५ वर्षमा व्यावसायिक उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।

आयोजना निर्माणका लागि ३४.६५ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ। जसमध्ये १८.८५ हेक्टर वन क्षेत्रको हो। प्रस्तावित आयोजनाका कारण ९० घरधुरी प्रभावित हुने देखिन्छ।