
काठमाडौं। प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका-११ बस्ने प्रवीण महत र सोही उपमहानगरपालिका-९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सैनामैना नगरपालिका-१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठोक्किएको थियो। सोही दुर्घटनाका विषयमा अनुसन्धान गर्दा नक्कली नोट फेला परेको थियो।
मोटरसाइकल र स्कुटरमा सवार ४ जनाहरुबीच इलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको भएको थियो। त्यसक्रममा मोटरसाइकलमा रहेका प्रवीण र साहिलमाथि शंका लागेर खोजबिन गर्दा उनीहरूको साथबाट प्रहरीले नक्कली नोट भेटिएको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।