हार्लेका बाइकको क्रेजः एक्स ४४० भारतमा २५ हजार बुकिङ, धेरै माग टप भेरियन्टमा



बिजमाण्डू
२०८० साउन २३ गते १३:२१ | Aug 8, 2023
हार्लेका बाइकको क्रेजः एक्स ४४० भारतमा २५ हजार बुकिङ, धेरै माग टप भेरियन्टमा

काठमाडौं। दक्षिण एसियाली बजारलाई लक्ष्य गर्दै अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा उत्पादन गर्न लागेको बाइकको बुकिङ उत्साहजनक छ। ज्वाइन्ट भेन्चरमा उत्पादन थाल्ने टुंगो भएको एक्स ४४० बाइक एक महिनामा २५ हजारवटा बुकिङ भएको हो।

Tata
GBIME
Zonsen

उक्त मोडल हार्लेले ल्याएका बाइकमध्ये सबैभन्दा सस्तो हुने दाबी गरिएको छ। हिरो मोटोकर्पका अनुसार ४ जुलाईबाट खुला गरिएको बुकिङमा २५ हजार ५ सय ९७ युनिट खरिदका लागि ग्राहक तयार भइसकेका छन्। कम्पनीले अहिले अग्रिम बुकिङ लिन बन्द गरेको छ।

टप भेरियन्टका लागि सबैभन्दा बढी बुकिङ भएको छ। हिरो मोटोकर्पले सेप्टेम्बर २०२३ मा हार्ले-डेभिडसनको एक्स ४४० मोडलको उत्पादन सुरु गर्ने योजना छ र अक्टोबरबाट ग्राहकहरुलाई डेलिभरी सुरु गर्नेछ।

टप भेरियन्टको मूल्य भारु २ लाख ६९ हजार रुपैयाँ छ। टप भेरियन्ट छनोट गर्नेको संख्या लगभग ६५ प्रतिशत छ। साथै कम्पनीले सुरुवाती मूल्य परिमार्जन गरेर बढाएको छ। अब परिमार्जन गरिएको नयाँ मूल्य अनुसार डेनिमको २ लाख ३९ हजार ५००, भिभिडको २ लाख ५९ हजार ५०० र एस भेरियन्टको २ लाख ७९ हजार ५०० भारु भएको छ।

बाइकमा ३९८ सीसी सिंगल सिलिन्डर एयर इन्जिन र आयल कुल्ड मोटर छ। यो पावरट्रेनले २७ बीएचपी पावर र ३८ एनएम पीक टर्क उत्पादन गर्छ। साथै यसमा ६ स्पीड गियरबक्ससँग जोडिएको छ।

यसको लुक्स र पावरका कारण हार्ले-डेभिडसन एक्स ४४० ले भारतीय बजारमा होन्डा हाइनेस सीबी३५०, बेनेली इम्पेरियाले४००, रोयल इन्फिल्ड र ट्राइम्फ स्पिड४०० जस्ता बाइकहरूसँग प्रतिस्पर्धा गर्नेछ।

हिरो-हार्लेले यस बाइकको बेस भेरियन्टमा वायर-स्पोक रिमहरू प्रदान गरेको छ। यो कम ब्याजिङको साथ आउँछ। साथै, यसको भिभिड भेरियन्टले एलोय ह्वील र डुअल टोन पेन्ट विकल्प पाउनेछ।

एक्स४४० को टप-स्पेक भेरियन्टको बारेमा कुरा गर्दा यो डायमण्ड-कट एलोय ह्वील, मेसिन इन्जिन कुलिङ फिन, थ्रीडी ब्याजिङ र ब्लुटुथ कनेक्टिभिटीको साथ कलर टीएफटी ड्यास जस्ता सुविधाहरूले सुसज्जित छ।