निर्माण सामग्रीको मूल्यमा मन्दी, खरिदकर्तालाई फाइदा हुँदा उत्पादक नोक्सानीमा

अनन्तराज न्यौपाने
२०८० साउन २३ गते १२:५२ | Aug 8, 2023
निर्माण सामग्रीको मूल्यमा मन्दी, खरिदकर्तालाई फाइदा हुँदा उत्पादक नोक्सानीमा


विराटनगर। निर्माणसामग्रीअन्तर्गत फलामे सामानको मूल्यमा एकाएक मन्दी आएपछि सर्वसाधारण उपभोक्ता फाइदा र उत्पादक कम्पनीहरू घाटामा देखिएका छन्।

Tata
GBIME

फलामे सामानका कच्चा र तयारी पदार्थ दुवैमा डेढ महिनादेखि अन्तर्राष्ट्रिय रूपमै क्रमशः मन्दी आएपछि नेपालमा पनि तिनको मूल्यमा ह्रास आएको हो। उद्योगीहरूले टीएमटी, एंगल, च्यानल, एमएस पाइप लगायतका फलामे वस्तुको मूल्यमा भारत र अन्य देशका तुलनामा नेपालमा धेरै गिरावट आएको बताएका छन्।

उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले फलामे वस्तुको मुख्य कच्चा पदार्थ स्पन्ज आइरनको मूल्य किलोको ८ रुपैयाँले घट्ता तयारी वस्तु भने १२ देखि १४ रुपैयाँले घटेको जानकारी दिए।

उद्योगी शारडाले नेपालमा मात्र कच्चा पदार्थको भन्दा तयारी वस्तुको मूल्य धेरै घटेको दाबी गरे। शारडाले भने, ‘असार मसान्तमा बैंक र राजस्वको दबाब थेग्न नसकेपछि हामीले उत्पादनहरू मूल्य घटाएर बेच्नुपर्‍यो। तर पनि भने जति माल बिक्री भएन। त्यसपछि बजारमा सापटी खोजेर असार मसान्त फर्छ्यौट गर्नुपर्‍यो। त्यो सापटी तिर्न अहिले पनि हामीले सस्तैमा माल बेच्नुपर्ने बाध्यता छ। सबैजसो फलामे निर्माणसामग्रीका उद्योगको वर्तमान अवस्था यही भएको छ।’

दुई महिनाअघि टीएमटीको कारखाना मूल्य प्रतिकिलो (भ्याटबाहेक) ९४ थियो, अहिले ७९ रुपैयाँ भएको छ। एंगल किलोको ९८ बाट ८५ रुपैयाँमा झरिसकेको छ। च्यानल किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ।

उनका अनुसार दुई महिनापहिले टीएमटीको कारखाना मूल्य प्रतिकिलो भ्याटबाहेक ९४ रुपैयाँ थियो। अहिले ७९ रुपैयाँ भएको छ। यसमा अन्तःशुल्क प्रति किलो १ रुपैयाँ र मूअकर पनि जोडिन्छ। त्यस्तै दुई महिनाअघि एंगलको मूल्य भ्याटबाहेक किलोको ९८ बाट अहिले ८५ रुपैयाँमा झरिसकेको छ। च्यानलको मूल्य भ्याटबाहेक किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ।

गोयल हार्डवेयरका सञ्चालक राजकुमार गोयलले एमएस पाइपको खुद्रा मूल्यमा किलोको १२ देखि १४ रुपैयाँले गिरावट आएको जानकारी दिए। उनका अनुसार दुई महिनाअघि एमएस पाइपको खुद्रा बिक्री मूल्य किलोको भ्याटबाहेक १२२ रुपैयाँ थियो, अहिले ११० भएको छ।

कर्कटपाताको मूल्य भने खासै खस्किएको छैन। गोयलले अहिले निर्माणसामग्रीको बिक्री कम हुने सिजन भएकाले उद्योगले नै कर्कटपाताको मूल्य बन्डलमा एक सयदेखि एक सय ५० रुपैयाँसम्म घटाएर दिइरहेको बताए। ‘यसलाई खासै ह्रास मानिदैन,’ उनले भने, ‘टीएमटी, एंगल, च्यानल, एमएस पाइपका तुलनामा कर्कटपाताको मूल्य लगभग स्थिर नै देखिन्छ ।’

आफ्नो पसलमा सादा कर्कट पाताको खुद्रा मूल्य एक बन्डलको भ्याटबाहेक १० हजार ८ सय र रंगीन कर्कट पाताको खुद्रा मूल्य एक बन्डलको भ्याटबाहेक १२ हजार २०० भएको उनले बताए।

कर्कटपाता उत्पादक आरती स्ट्रिप्सका सञ्चालक विशाल गुप्ताले पनि यसको मूल्य विगत ३ महिनादेखि हालसम्म स्थिर भएको स्पष्ट पारे । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवम् निर्माणसामग्रीका उद्योगी अनुपम राठीले २ महिनाअघि फलामको मुख्य कच्चा पदार्थ स्पन्ज आइरन टनको आयात प्रति टन ४३० डलरमा हुने गरेको जानकारी दिए। उपाध्यक्ष राठीले हिजोआज प्रतिटन ३७० डलरमा आयात भइरहेको बताए। यसप्रकार एक डलरको नेरु १३२ का हिसाबले स्पन्ज आइरनको मूल्य प्रतिकिलो ८ रुपैयाँले घटेको देखिन्छ। राठी भन्छन्, ‘कच्चा पदार्थका तुलनामा तयारी वस्तुको मूल्य धेरै घट्नुमा असार मसान्तको दबाब नै मुख्य रह्यो। अनि सरकार र सर्वसाधारण दुवै पक्षबाट निर्माणकार्य असाधारण तरिकाले घटेको छ।’

काठमाडौं उपत्यकामा विभिन्न ब्राण्डका डन्डीहरु प्रतिकिलो ९९ रुपैयाँ हाराहारी बिक्री भइरहेको छ।

‘हामीले प्रतिकिलो ९८.८ रुपैयाँमा हिजो सोमबार मात्रै डन्डी काठमाडौंमा बिक्री गरेका थियौं। विभिन्न ब्राण्डअनुसार यो मूल्यमा २-४ रुपैयाँ तल माथि राखेर डन्डी बिक्री भइरहेको छ,’ अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले बिजमाण्डूसँग भने।

राष्ट्र बैंकको मौद्रिक नीतिले पनि निर्माणसामग्रीका उद्योगका बारेमा ठोस सम्बोधन नगरेको गुनासो उनले गरे। ‘मौद्रिक नीतिमा स्टिल, सिमेन्ट र निर्माणसँग सम्बन्धित प्लास्टिक उद्योगका ऋणलाई सहज गरिदिने र पुनर्तालिकीकरण गरिदिने बुँदा त उल्लेख छ,’ राठी भन्छन्, ‘तर यो बुँदा ‘एब्स्ट्रयाक्ट’ प्रकारको छ। मौद्रिक नीतिले निर्माणसामग्रीका उद्योगका बारेमा मूर्त र ठोस बुँदा दिन सकेको छैन। त्यस्तै यस्ता उद्योगको चालु पुँजी कर्जाका सम्बन्धमा पनि मौद्रिक नीति मौन देखिन्छ। त्यसैले यस्ता उद्योगको कारोबार बढ्ला भन्ने आशा गर्नसकिने ठाउँ छैन।’

मौद्रिक नीतिले घरकर्जालाई डेढ करोडबाट २ करोड बनाउँदैमा खासै असर नदेखिने प्रतिक्रिया उनको छ।

जुन प्रकारले अन्य सामग्रीमा महँगी, रोजगारीको ज्याला र निर्माण ठेकेदारलाई दिनुपर्ने रकम बढेको छ त्यस हिसाबमा डेढ करोडलाई र २ करोडमा बनाउनुमा खासै ठूलो अन्तर नहुने जिकिर उनी गर्छन्।

‘हामी त सबैभन्दा पहिले बढीभन्दा बढी पुँजीगत खर्च नै चाहन्छौँ’, राठी भन्छन्, ‘अनि निर्माणव्यवसायीको भुक्तानी छिटो होस् भन्ने पनि चाहन्छौँ। तब मात्र निर्माणसामग्रीका उद्योगले लय पक्रन सक्छन्। सर्वसाधारणले बनाएका एक–दुई तले घरबाट केही हुँदैन। तर दुःखको कुरा, सर्वसाधारणले गर्ने निर्माणकार्यमा पनि ६० प्रतिशतले ह्रास आएको छ।’