सुवास कर्माचार्यले छोडे माधव नेपालको साथ, १८ महिनापछि कार्यकर्तासहित फर्किए एमालेमै

बिजमाण्डू
२०८० साउन २० गते १६:१८ | Aug 5, 2023
सुवास कर्माचार्यले छोडे माधव नेपालको साथ, १८ महिनापछि कार्यकर्तासहित फर्किए एमालेमै
एकीकृत समाजवादी छोडेका सुवास कर्माचार्यलाई एमालेमा स्वागत गर्दै स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ


काठमाडौं। एकीकृत समाजवादीका सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्। शनिबार चौतारा पुगेका एमाले महासचिव शंकर पोखरेलले कर्माचार्यलाई पार्टीमा स्वागत गरे। कर्माचार्यलाई एमालेमा फर्काउन जिल्ला इन्चार्ज गोकुल बास्कोटाले भूमिका निर्वाह गरेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए।

Tata
GBIME

२०७८ भदौमा स्थापना भएको एकीकृत समाजवादीमा कर्माचार्य झन्डै ६ महिनापछि मात्र प्रवेश गरेका थिए। त्यतिबेला उनले अध्यक्ष केपी शर्मा ओली नसच्चिएपछि एमाले छाडेको बताएका थिए। शनिबार भने कर्माचार्यले माधव नेपालले पार्टी विद्रोहको औचित्य पुष्टि गर्न नसकेकाले पुरानै पार्टीमा फर्किएको बताए। ‘विद्रोहको औचित्य कमरेड माधव नेपालले पुष्टि गर्न सक्नुभएन। त्यसैले एमालेमै फर्किएको हुँ’, उनले भने।

२०७८ माघ १९ गते पेप्सीकोलामा एक कार्यक्रम गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले कर्माचार्यलाई पार्टी प्रवेश गराएका थिए।

कर्माचार्यसँगै उपेन्द्र तामाङ, शिवराम भट्टराई, ईश्वरी श्रेष्ठलगायत जिल्लास्तरीय नेता एकीकृत समाजवादीमा प्रवेश गरेपछि मंसिरमा भएको निर्वाचनमा सिन्धुपाल्चोक-२ मा एमालेको लज्जास्पद् हार भएको थियो। यसअघि एमालेले जित्दै आएको यो क्षेत्रमा क्षेत्र नम्बर १ चुनाव क्षेत्र रहेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत फराकिलो मतान्तरले निर्वाचित भएका थिए। हाल उनी स्वास्थ्यमन्त्री छन्।

त्यसैगरी आफ्नो आधार क्षेत्र मेलम्ची नगरपालिकाको प्रमुखमा समेत एमालेले हार बेहोरेको थियो। कर्माचार्यसँगै एकीकृत समाजवादीका जिल्लास्तरीय दर्जनौं नेता शनिबार एमालेमा फर्किएको स्थायी कमिटि सदस्य तामाङले बताए।

एमालेमा प्रवेश गर्ने तयारीबारे थाहा पाएपछि एकीकृत समाजवादीले कर्माचार्यलाई शुक्रबार पार्टीबाट निष्कासन गरेको थियो।