भारतमा गोलभेंडा प्रतिकिलो ३०० रुपैयाँ पुग्ने अनुमान, के कारणले भइरहेको छ मूल्यवृद्धि?

बिजमाण्डू
२०८० साउन १९ गते ०९:१९ | Aug 4, 2023
भारतमा गोलभेंडा प्रतिकिलो ३०० रुपैयाँ पुग्ने अनुमान, के कारणले भइरहेको छ मूल्यवृद्धि?
Photo : Reuters

भारतमा गोलभेंडाको मूल्य फेरि दिनहुँ वृद्धि भइरहेको छ। दिल्ली, मुम्बई लगायत क्षेत्रमा २०० देखि २५० भारतीय रुपैयाँसम्म पुगेको गोलभेंडा प्रतिकिलो ३०० भारु पुग्न सक्ने अनुमान गरिएको छ।

Tata
GBIME
NLIC

गत महिना पनि गोलभेंडाको मूल्य ३०० प्रतिशतले बढेको थियो। त्यसपछि सरकारले केही सहुलियत दिएपछि गोलभेंडाको मूल्य घटेको थियो। एक महिनाअघि गोलभेंडाको मूल्य प्रतिकेजी ६५ रुपैयाँ थियो। एक हप्ता अघि भने फेरि मूल्य ह्‍वात्तै वृद्धि भएर किलोकै १२० रुपैयाँ पुगेको थियो। बजारमागका अनुपातमा आपूर्ति कम भएसँगै व्यापारीहरुले धेरै मूल्य लिएर बिक्री गरिरहेका छन्।

बिहीवार दिल्लीमा गोलभेंडा प्रतिकिलो २५० देखि २६० भारतीय रुपैयाँसम्ममा बिक्री भएको थियो। अन्य क्षेत्रमा पनि गोलभेंडाको मूल्य १५० देखि २५० भारतीय रुपैयाँ भन्दा माथि नै छ।

किन बढिरहेको छ गोलभेंडाको मूल्य?

भारतको विभिन्न स्थानमा केही हप्तादेखि भारी वर्षा भइरहेको छ। धेरै गोलभेंडा उत्पादन हुने क्षेत्रमा वर्षाका कारण कृषि उपजमा असर पुगेको छ। जसकारण माग बमोजिम गोलभेंडा बजारसम्म पुग्न सकेको छैन। त्यसकारण पनि भारतीय बजारमा गोलभेडाको मूल्य आकासिएको हो। जसको प्रभाव आम सर्वसाधारणको भान्सासम्म पुगेको छ।

वर्षाका कारण कयौं स्थानमा बाढी पहिरो जाँदा पनि गोलभेडाको आपूर्तिमा समस्या उत्पन्न भएको व्यवसायीहरुले बताएका छन्।

दिल्लीमा धेरै गोलभेंडा आजादपुरबाट आउने गर्छ। तर बाढी पहिरोका कारण पर्याप्त मात्रामा गोलभेंडा आजादपुरबाट दिल्ली ल्याउन सकिएको छैन। थोक बिक्रेता मदर डेरीले मौसम प्रतिकूलताका कारण विगत दुई महिनादेखि गोलभेंडाको ‘सप्लाइ चेन’मा नै समस्या भइरहेको जनाएको छ। गएको दुई दिनमा यो अवस्था झने बिग्रिएको छ।

दिल्ली, मुम्बई लगायतका क्षेत्रमा गोलभेंडाको मूल्य कम हुन(किलोको २० देखि ४० रुपैयाँ पुग्न) मौसम अनुकूल हुनुपर्ने व्यवसायी बताउँछन्। मौसम राम्रो भएर गोलभेडा आपूर्ति सहज हुन अझै १० दिन लाग्ने आजादपुर गोलभेंडा एसोसिएसनका अध्यक्ष अशोक कौशिकले बताएका छन्।