
काठमाडौं। नेपाली कांग्रेस वाग्मती प्रदेशले संगठन सुदृढीकरण अन्तर्गत जिल्ला प्रतिनिधि खटाएको छ। कांग्रेस केन्द्रले मंगलबार जिल्ला जाने नेताहरुको टुंगो लगाएको थियो। लगत्तै प्रदेशले पनि प्रतिनिधि टुंगो लगाएको हो।
केन्द्रीय समितिले तय गरेको विशेष आन्तरिक अभियानका लागि प्रदेशले नामलाई अन्तिम रुप दिएको सभापति इन्द्रबाहादुर बानियाँले बताए।
समग्र जिल्ला हेर्नेगरी काठमाडौंमा प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा प्रदेश कार्यसमिति सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे र रसुवामा प्रदेश कार्यसमिति सदस्य निमा लामा जिल्ला प्रतिनिधि तोकिएका छन्।
त्यसैगरी धादिङमा सन्तबहादुर प्रजा, नुवाकोटमा तिलकप्रसाद रुवाली, चितवनमा रामचन्द्र अर्याल, मकवानपुरमा कैलाश कोइराला जिल्ला प्रतिनिधि तोकिएका छन्।
जिल्ला प्रतिनिधि तोकिएका सबै जना प्रदेश कार्यसमिति सदस्य हुन्।
यता सिन्धुलीमा उपेन्द्र लम्साल, काभ्रेमा सहमहामन्त्री जीवन डंगोल, सिन्धुपाल्चोकमा दिपेन्द्र आचार्य दोलखामा भगवान खड्का र रामेछापमा सानुकान्छा श्रेष्ठ प्रदेश प्रतिनिधि तोकिएका छन्।
त्यसैगरी वाग्मती कांग्रेसले प्रदेशगत हेर्नेगरी २६ जना प्रतिनिधि समेत तोकेको छ।
उनीहरुले साउन २० देखि ३० गतेभित्र जिल्ला पुगेर तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने छ।