
काठमाडौं। सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेको कारण देखाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। एमालेको अवरोधपछि बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
बिहिबार बैठक सुरु हुनासाथ एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोले। उनले सुन प्रकणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागलाई सरकारले बेवास्ता गरेकाले बैठक चल्न नदिने बताए।
एमालेले छानबिन समिति गठनको माग गरी प्रतिनिधिसभाको बैठक पनि साउन १० यता चल्न दिएको छैन। सांसद श्रेष्ठले १३ मिनेट बोलिसकेपछि एमाले सांसदहरु उठे। उनीहरुलाई राष्ट्रिय सभाकाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गरे पनि मानेनन्।
१३ मिनेटसम्म उभिरहेपछि अध्यक्ष तिमिल्सिनाले संसद् अवरुद्ध हुँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले सरकारलाई संसद चल्ने स्थितिमा लागि पहल लिन पनि भनेका छन्। एमाले सांसदले अवरोध हटाउन नमानेपछि तिमिल्सिनाले बैठक स्थगित गरे।
साउन ३ गते त्रिभुवन विमानस्थलको भन्सार जाँचपास भएर भित्रिएको १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
विभागको टोलीले भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर उसले अहिलेसम्म सुन भित्र्याउने मुख्य गिरोहको पहिचान नै गर्न सकेको छैन।